नेपाल प्रहरी: आफैँले हत्या गरी जाहेरी दिनेलाई नै 'फेला नपरेको'भन्दै २० वर्षमा कर्तव्य ज्यान मुद्दा !
सन्दर्भ : पीडितलाई न्याय खोई ?
चैत्र २९, २०७८

काठमाडौँ ।  हरेक वर्ष २७ चैत आउँछ । जीतबहादुर लामा र दुर्गामायाँ तामाङ कामना गर्छन्– यो दिन कहिल्यै नआओस् । तर, आउँछ र जान्छ–पीडादायी घटनाको याद दिलाएर ।

जिउँदै आएको जिन्दगीमा उनीहरूले सहनु परेको ठूलो घटना २७ चैतमा घट्यो । अर्थात् आजभन्दा २० वर्षअघि २७ चैत २०५८ मा उनीहरूको माइली छोरी आयुष्माको हत्या भयो ।

उमेरले ११ वर्षकी थिइन् आयुष्मा । बसाइ काठमाडौं थियो । ९ वर्षकी छँदा उनलाई कर्मा लामाले चितवन घर पुगेर काठमाडौं ल्याएकी हुन् । आमा दुर्गा माया सम्झिँदै भन्छिन्, ‘मेरो घरमा कोही छैन । साथी लान्छु र पाल्छु भनेर ल्याएकी हुन् ।’

एक दिनपछि २८ चैतमा उनै कर्मा आएर भनिन्,– ‘आयुष्मा गम्भीर विरामी छे । पाटन अस्पतालमा भर्ना गरेकी छु ।’ 

आयुष्मा काठमाडौं आएदेखि घर फर्केकी थिइनन् । कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो । दुर्गा मायाकी अनुसार आयुष्माले  ‘सञ्चै छु आमा’ भन्थिन् । यति भनेपछि ढुक्क उनीहरू भेट्न पनि आएका थिइनन् ।

तर, कर्माले नै एक्कासी गम्भीर विरामी भएको खबर सुनाइन् । त्यसपछि कर्मासँगै काठमाडौं आए दुवै जना बाबु आमा । सिधै गए, पाटन अस्पताल । जहाँ उनीहरूले आयुष्मालाई त शव गृहमा पो देखे । 

र, सुरू गरे–आँशुको माध्यम बनाएर दुःख पोख्ने प्रयास । तर, कहाँ सकिनु र पोखेर दुःख ? व्यक्त गरेर पीडा ? तैपनि चित्त बुझाउने प्रयास गर्नुको विकल्प थिएन, उनीहरूसँग । त्यही भएर बुझे आयुष्माको शव । 

उनीहरूलाई त्यसबेलासम्म आयुष्मा  कर्मासँगै भएको लागेको थियो । तर, कर्मासँग त होइन, ललितपुरको सानेपा–२ कि निलम सुब्बासँग भएको खुल्यो । खुल्नाको कारण हो, निमलले २७ चैतमै प्रहरीमा दिएको घटनासम्बन्धी जाहेरी । 

प्रहरीले घटनाको अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय ललितपुरलाई बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार कार्यालयले  २०७८ चैत्र २८ गते सोमबार जिल्ला अदालतमा ललितपुरमा  कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकर तामाङले घटना २७ चैत २०५८ को भएकोले मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १३ अनुसार दुवै विरुद्ध सर्वस्वसहित जन्मकैदको मागदाबी गरेकी छिन् । 

जहाँ लेखिएको थियो, ‘२ वर्षअघि आएको चितवनदेखि । २०५८ चैत २७ गते म आफ्नो काम विशेषले घर बाहिर गएकी थिएँ । घरमा काम गर्ने काभ्रेपलान्चोककी महिमा लामा र आयुष्मा दुई जना मात्र थिए । बेलुकी ७ बजेको समयमा घरमा आउँदा मेरो घरको दोस्रो तलामा आयुष्मा लामा भुइँमा निदाए जस्तै पल्टिरहेको देखि निजलाई बोलाउँदा नबोलेपछि हेर्दा निज मृतक अवस्थामा लडिरहेको देखें...।’

कर्माले पाल्छु भनेर ल्याएकी छोरी आयुष्मा कसरी निलमको घरमा ?  जीतबहादुरको प्रश्न छ- यही प्रश्नसहित २९ चैत २०५८ मा उनले प्रहरीमा जाहेरी दिए ।

जहाँ लेखिएको छ, ‘...तर, निलम सुब्बाको घरमा के कसरी बसेको थाहा भएन । जानकारी पनि छैन । त्यसबेला छोरीको के कारणले मृत्यु भएको हो ? अनुसन्धान गरी पाउँ ।’ 

जाहरेपछि प्रहरी घटनाको अनुसन्धानमै थिए । फेरि, थप जाहेरी जीतबहादुरले दिए । जुन किटानी जाहेरी हो । जीतबहादुरले घटना सम्बन्धमा बुझ्दै जाँदा निलम सुब्बा र निजकै घरमा काम गरिबस्ने महिमा लामाले चैत २७ गते बेलुकी अन्दाजी ७ बजे ५५ वर्षीया सुब्बाकै घरमा छोरी आयुष्माको घाँटी थिची मारेको विवरण उल्लेख गरे । उनीहरू दुवै जना जाहेरीमा विपक्षी बनाइयो । 

फेरि, पाटन अस्पतालको शव परीक्षण प्रतिवेदनले पनि आयुष्माको मृत्यु स्वाभाविक नभएको प्रस्ट्याएको थियो । प्रतिवेदनमा भनिएको थियो, ‘द कज अफ डेथ इज ड्यु टु थ्रोएटिङ’, अर्थात् मृत्युको कारण घाँटी थिचेर हो !

यस आधारमा परेको जाहेरीअनुसार महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरले आरोपी दुवैलाई खोजी गर्‍यो । तर, फेला नपरेको जानकारी १४ असोज २०७८ मा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरलाई दियो ।

महानगरीय प्रहरी वृत्त बौद्धले पनि चितवनदेखि काठमाडौं ल्याउने कर्मा पनि फेला नपरेको जानकारी २१ पुस २०७८ मा दिएको छ । 

यद्यपि, प्रहरीले घटनाको अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय ललितपुरलाई बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार कार्यालयले  २०७८ चैत्र २८ गते सोमबार जिल्ला अदालतमा ललितपुरमा  कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकर तामाङले घटना २७ चैत २०५८ को भएकोले मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १३ अनुसार दुवै विरुद्ध सर्वस्वसहित जन्मकैदको मागदाबी गरेकी छिन् । 

 यसरी  कर्मा लामाले आयुष्मालाई पाल्छु  भनेर ल्याइन र  अर्कैकाे घरमा घरेलु  कामदारका रुपमा  जिम्मा लगाइन र  हत्या गरी अफैंले जाहरी दिन   अपराधी समेत पहुँचका आधारमा २० वर्षसम्म पनि 'फेला नपरेको' प्रतिवेदन तयार गरी २८ चैत २०७८ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेर नेपाल प्रहरीले आफ्नो नालायक पनको ढाकछोप  गर्न पुगेकाे छ ।

 


योञ्जन राजनीति र अपराध रिपोर्टिङ गर्नुहुन्छ ।