प्रज्ञामा पुस्तक प्रदर्शनी: नयाँ वर्षमा नयाँ पुस्तक, ४० प्रतिशतसम्म छुटमा

प्रज्ञामा पुस्तक प्रदर्शनी: नयाँ वर्षमा नयाँ पुस्तक, ४० प्रतिशतसम्म छुटमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३०, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ ।

आज बिहीवार माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीको आरम्भ गर्नुभयो । पुस्तक प्रदर्शनीको आरम्भ गर्दै कुलपति उप्रेतीले पठन संस्कृतिको विकास गर्न र नयाँ वर्षमा पाठकहरूलाई नयाँ पुस्तक पढाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– 'यस प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना सम्पूर्ण पुस्तक तथा पत्रिकाहरू एकै ठाउँमा उपलब्ध हुनेछन् । यस कारण पनि प्रज्ञाको पुस्तक प्रदर्शनीको विशेष महत्त्व छ ।' 

पुस्तक प्रदर्शनी आरम्भ कार्यक्रममा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्र प्रसाद यादव,  प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. गोपीन्द्र पौडेल, माया ठकुरी र  डा. देवी नेपालको उपस्थिति रहेको थियो ।       

दुई हप्तासम्म सञ्चालन हुने पुस्तक प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानका नयाँ तथा पुराना सम्पूर्ण प्रकाशनका अतिरिक्त साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूसमेत उपलब्ध हुनेछन् । सार्वजनिक विदाका दिनमा समेत पुस्तक प्रदर्शनी सञ्चालन हुनेछ । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।