आम्दानी हुन छाडेपछि बिस्तारै लोप हुने अवस्थामा  आरन व्यवसाय

आम्दानी हुन छाडेपछि बिस्तारै लोप हुने अवस्थामा  आरन व्यवसाय

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख १, २०७९

लमजुङ ।  गाउँ घरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । धेरै मेहनतमा कम गर्दा पनि आम्दानी हुन छाडेपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको हो ।  पुस्तौँदेखि चल्दै आएको व्यवसाय बजारमै तयारी भएका साधन आएपछि ओझेलमा पर्दै गएको हो ।

गाउँ घरमा चलाउँदै आएका हँसिया, बन्चरो जस्ता हतियार बिस्तारै लोप हुँदै गएको मर्स्याङ्दी गाउँपालिका-५ छिचुका ६१ वर्षीय सन्ते कामी बताउँछन् ।

‘पहिला–पहिला  बजारमा पनि त्यस्ता साधनहरू पाइ दिन्थ्यो केही खर्च दिएर हसिया बन्चरो जस्ता घरायसी चाहिने हतियारहरू बनाउन स्थानीयको चाप हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन बनाउन आउँछन् । बजारमा उत्पादित समानले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’ 

समय परिवर्तनसँगै बिस्तारै गाउँघरमा परम्परागत रूपमा चलिआएको पेसा पनि लोप हुने स्थितिमा रहेको मर्स्याङ्दी गाउँपालिका-५ छिचुका ७८ वर्षीय हर्कबहादुर विक बताउँछन् । यस्ता पुराना पेसाहरूलाई संरक्षण गरेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने मर्स्याङ्दी गाउँपालिका ५ का वडाध्यक्ष लेख मान गुरुङ बताउँछन् । गाउँ घरमा भएका साधन, स्रोत र सिपलाई प्रयोगमा ल्याउँदा दिगो र टिकाउ हुने गुरुङको भनाई छ । 

पुर्ख्यौंली  सिप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केही नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको मर्स्याङ्दी गाउँपालिका ५ निउरीका मनबहादुर कामीको भनाई छ ।  ‘मैले बुबासँग हँसिया, बन्चरो बनाउने सिप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सिप काम लागेको छ’ उनले भने, ‘त्यसैले पुर्ख्यौली पेसा र सीपलाई बचाइ आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटीको रूपमा लिँदै आएको छु ।’

पहिले पहिले यसै पेसाले घरपरिवारको एक गाँस खुवाउन केही सहयोग पुगेको थियो भने जनसंख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा  गाउँघरका अन्य समुदायको हसिया, बन्चरो बनाउँदा वर्षेनी एक घरले एक दुई पाथी मकै वा गहुँ दिने गरेकाले यस व्यवसायबाट घरपरिवार पाल्न समस्या भएको सोमबहादुर कामीले बताए । 

एउटा आसीको पचास रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँदै कामीले एउटा आँसी बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यस्ता पेस छोड्दै कामका लागि खाडी मुलुक जानु पर्ने अवस्था आउँदा पेसा नै पलायन हुन लागेको बताए ।