‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्यु चोली प्रयोगको अवस्था’ विषयमा गोष्ठी

‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्यु चोली प्रयोगको अवस्था’ विषयमा गोष्ठी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७९

काठमाडौँ ।  नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र नेपाल संस्कृति संरक्षण समाजको सहकार्यमा नयाँ वर्ष वैशाख १ गते विहीबारको दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय भवनको सिद्धिचरण सभा कक्षमा ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्यु चोली प्रयोगको अवस्था’ विषयक विचार–गोष्ठी सम्पन्न भएको छ  । 

गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले संस्कृतिका क्षेत्रमा नेपाल विश्वकै धनी देश भएको उल्लेख गर्नुभयो । उहाँले विविध जातजाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक नेपालका मौलिक संस्कृतिहरूको संरक्षण र सम्वद्र्धन गर्नु अपरिहार्य भएको बताउनुभयो । कुलपति उप्रेतीले बोलीचाली, खानपान, भेषभुषा, रहनसहन र विविध जातीय संस्कार जस्ता कुराहरू नै संस्कृति भएको विचार व्यक्त गर्दै तिनको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण समाजले गरि आएका कार्यहरूको उच्च प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो–'नेपालका नारीहरूले लगाउने मौलिक पहिरन गुन्यु चोलीमा केन्द्रित रहेर आयोजना गरिएको आजको गोष्ठी प्रशंसनीय छ । यसले सांस्कृतिक पहिचानको संरक्षण गर्न थप ऊर्जा सञ्चार गरेको छ ।'

प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागका प्रमुख उपकुलपति डा.जगमान गुरुङले सभाध्यक्षको आसनबाट बोल्दै नेपालको राष्ट्रिय समपरिधान गुन्यु चोलीसम्बन्धी आयोजना गरिएको कार्यक्रमले गुन्यु चोलीको महत्त्व र गरिमामाथि थप प्रस्ट पार्न सहयोग पुर्‍याएको बताउनुभयो । उहाँले नेपाली महिलाहरूको मौलिक र परम्परागत पोसाक गुन्यु चोलीको महत्त्व र प्रयोगका बारेमा महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएको थियो । 

गोष्ठीमा बोल्दै सदस्य सचिव प्रा. जगतप्रसाद साद उपाध्यायले कुनै पनि देश संस्कृति विहीन छ भने त्यस देशको सही समृद्धि हुन नसक्ने बताउनुभयो । उहाँले नेपाली समाजमा छोरीलाई गुन्यु चोली दिने संस्कृति साडी चोलो लगाउने संस्कृतिको पूर्वाभ्यास भएको विचार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपाली मौलिक पोसाक दौरासुरुवालका विषयमा पनि विचार–गोष्ठीको आयोजना गरिने जानकारी गराउनुभयो ।  

नेपाल संस्कृति संरक्षण समाजकी अध्यक्ष लक्ष्मी ओझा भद्राले कार्यक्रममा स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहप्राध्यापक डा.लोकनाथ दुलालले ‘समपरिधानको महत्त्व र नेपाली पोसाक गुन्यु चोली प्रयोगको अवस्था’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । दुलालको गोष्ठी पत्रमाथि प्रा.डा. मदनकुमार रिमाल र प्रा.डा. सावित्री मल्ल कक्षपतिले टिप्पणी गर्नुभएको थियो । समाजकी सदस्य प्रियङ्का भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा   गायक सञ्जु अमात्यले गीत गाउनुभएको थियो भने ट्युलिप श्रेष्ठ र तेजस्वी श्रेष्ठले नृत्य प्रस्तुत गर्नुभएको थियो । 

उक्त कार्यक्रममा कुलपतिको निजी सचिवालयमा कार्यरत साहित्यकार राधा कार्की दुलालद्वारा रचित र मकालु प्रकाशन गृहद्वारा प्रकाशित ‘शाश्वत आकृति’ नामक गद्यकविता सङ्ग्रह र समाजद्वारा प्रकाशित ‘गुन्यु चोली नेपाली राष्ट्रिय समपरिधान’ नामक पुस्तकसमेत लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्राज्ञहरू प्रा.दिनेशराज पन्त,  प्रा.डा.हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा.गोपीन्द्र पौडेल, डा.देवी नेपाल, शशी लुमुम्बूका साथै दीर्घराज प्रसाईं, आशिष भद्रा, प्रा.डा.गोविन्दमानसिंह  कार्की लगायतको उपस्थिति रहेको थियो ।