डा. शैलेन्दु प्रकाश नेपाल: भाग्यले बचाएका र भोगमा विश्वास गर्ने नेपाली वाङ्मयका साधक

डा. शैलेन्दु प्रकाश नेपाल: भाग्यले बचाएका र भोगमा विश्वास गर्ने नेपाली वाङ्मयका साधक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  बैशाख ३, २०७९

एक पटक उहाँको (शैलेन्दु प्रकाश नेपालको) फुपू कहाँ स्वस्थानीको साङ्गेको पूजामा उहाँको पिताजीलाई निम्ता गर्न आएकोमा पिताजीले फुर्सद नभएका कारण उहाँलाई लिएर जान भन्नुभयो । उहाँको उमेर त्यसबेला साढे तीन वर्षको थियो । 

उहाँ त्यसबेला गाईका बाच्छा फुकाएर खेदाउने काम गर्नुहुन्थ्यो रे ! अनि अरु पूजाआजा तर्फ लाग्दा उहाँ कसरी कसरी ती गाईबाच्छाको पछि लागेर जंगल पुग्नु भएछ । 

यता पूजा सकिएर भदाहा खोज्दा भने छैन । सबैतिर मान्छे खोज्न गए । तर, फेला परेन बच्चो । उहाँको पिताजीलाई भने खबर गरिएको रहेनछ । तर, पिताजीको साथीले उता छोरा हराइसक्यो तपाईँ भने मस्त सुतेर बस्ने भनेपछि पिताजी पनि एउटा टोली लिएर खोज्न निस्कनु भयो । 

मोहरिया टप्पुको जंगलमा माझीहरू राति शिकार गर्न भनेर निस्केका रहेछन् । उनीहरुले जंगलमा बच्चो कराएको सुने । एउटाले भूत भन्यो । अर्को पाको माझीले यो त मान्छेको बच्चो जस्तो भनेपछि नजिकै टर्च बालेर हेरेपछि बच्चो रुखको फेदमा रोइरहेको अवस्थामा भेटे छन् । 

ती पाको माझीको छोराछोरी रहेनछन् अनि उनले भगवानले मलाई बच्चो दिए भनेर लिएर आएछन् । घरमा एक दिन राखेपछि अरु गाउँ समाजले यसरी घरमा राख्दा चोर दोष लाग्न सक्छ भनेपछि ती अंकुर नाम गरेका माझीले पञ्चायतमा बुझाए छन् । 

पञ्चायतमा बुझाइ सकेपछि त्यसै नदिने प्रमाणसहित आउनु भनेपछि पिताजीको टोली लिन पुग्दा उहाँले पिताजी भनेर गएपछि त्यो भन्दा अरु ठूलो प्रमाण के चाहियो र ! 

०००
उहाँका यस्ता अविस्मरणीय प्रसंग अरु पनि धेरै छन् । एकपटक उहाँ र एकजना तामाङ मामा सुघाटको हटियामा मेलामा आउनु भयो । पहिले बक्रा खोला तरेर जाँदा पानी खासै ठूलो थिएन । तर, पानी परेर खोला बढ्यो । बाढी आयो । रात पर्न आँटिसक्यो । 

एक ठाउँमा मानिसहरु हात समाएर तर्ने तयारीमा रहेछन् । उहाँले मामालाई अरु यसरी तर्दै रहेछन् । तपाईँ कपडा लिएर जानुस् म तरेर आउँला भन्नुभयो । 

मामाले मानिरहनु भएको थिएन । तर, उहाँले जिद्दी गरेपछि मामा राजी हुनुभयो । मामा बल्लतल्ल तरेर पारी पुग्नु भयो । तर, पौडिँदै गरेको उहाँलाई भने बगायो । मामा किनारै किनार उहाँसँगै दौडनु भयो अर्को उपाय थिएन । 

एक ठाउँमा नदीको भँगालोले उहाँलाई किनारमा फालिदियो । यसरी उहाँ बल्लतल्ल जोगिनु भयो । 

००० 
अर्को प्रसंग भने उहाँ सपरिवार कन्याकुमारी घुम्न जाँदा महासागरमा पनि यसै हेर्न भनेर जाँदा पनि उहाँलाई छालले एउटा खोचमा हालेर धन्न ज्यान जोगिएको हो । यो घटनाको प्रत्यक्षदर्शी सँगै जाने टोलीका दाइ भाउजु पनि हुनुहुन्छ । यसरी उहाँ थुप्रै पटकका घटनाबाट जोगिनु भएको छ । यसकारण पनि उहाँ भन्नुहुन्छ, ‘भोग्नु पर्ने कुरा नभोगी सुख पाइँदैन ।’ 

०००
ज्योतिषीका नाति, पण्डित, शिक्षक, साहित्यकार तथा समाज सुधारक पूर्ण प्रकाश यात्री नेपालका छोरा शैलेन्दु प्रकाश नेपाल बाबु बाजेको बिँडो समात्दै उस्तै उस्तै बाटोमा हिँड्नु भयो । उहाँ ज्योतिषी हुनु भएन तर, पिताजी जस्तै नाम चलेको साहित्यकार हुनुभयो त्यो पनि पिताजी भन्दा पहिले नै महाकाव्य नै प्रकाशित गरेर । उहाँ पिताजी भन्दा अब्बल मानेमा नभइ महाकाव्य पहिले प्रकाशित हुनुमा भने केवल संयोग मात्र मान्नुहुन्छ । 

०००
आजभन्दा साठी वर्ष पहिले भोजपुरको कटुञ्जेमा जन्मेका नेपाललाई लागेको थिएन पढाइ र साहित्यको यो संयोगमा पुगेर यो दर्जाको मान, सम्मान र सहज जीवन हुनेछ । तर, लेखिएको यस्तै रहेछ । प्रारम्भिक तथा माध्यमिक शिक्षा उल्लेख गर्न लायक हद सम्मको रहेन नेपालको । तर, समय क्रमले यसमा निखार ल्याउँदै गयो । र आजको यस उचाइमा पुग्यो । 

बनारसबाट शिक्षित उहाँको पिताजी आफैंले स्कूल स्थापना गर्नुभयो र प्रधानाध्यापक समेत हुनुभयो । पछि उहाँ समाज सुधारका क्रममा देशका विभिन्न भागमा यात्रा रत पनि रहनु भयो । तर, उहाँले भने पिताजी स्कूल स्थापना गरेर प्रधानाध्यापक नभए पनि शिक्षकको बिँडो भने टपक्क समाउनु भयो । र, यसो पढाइ हेरौं न भनेर लागेको जीवनका ३२ वसन्त यसैमा गुजार्नु भयो । उहाँ अहिले पनि यस पेसाभन्दा अलग रहन सक्नु भएको छैन । 

०००

बाहुनले सुरो समातेर चरु मात्रै होम्नुपर्छ भन्ने जमानाका पण्डित उहाँको पिताजी पर्दा हलो पनि जोत्ने अनि पढ्दा व्यासासनमा बसेर पुराण पनि वाचन गर्ने अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई अहिले पनि लाग्छ पिताजीको त्यो प्रगतिशील भावनालाई कुनै शास्त्रले पनि छेक्न सकेन र अहिले आफूलाई प्रगतिशील ठान्ने नेतृत्वको वाद भन्दा पनि पर थियो त्यो प्रगतिशीलता । 

उहाँमा पनि त्यो गुण सर्‍यो । पिताजी दश वर्षको स्वदेश दर्शन कार्यक्रम अर्थात सिंगो देशको पैदल यात्रा तथा भाषा, साहित्य र संस्कृतिको अनुसन्धानमा निस्केका बेला  घरमा काम गर्ने हलीले छोडेपछि केवल १५ वर्षको उमेरमा उहाँ एक्लैले दुई विगाहा खेत जोत्नु भएको छ ।

०००

पिताजी महेन्द्रनगर गाउँ पञ्चायतको सचिव समेत हुनुभयो चार वर्ष । उहाँको बाल्यकाल त्यस्तो गरिबीका पनि बितेन अनि अमीरी पनि भोग्नु परेन । मध्यम रह्यो । 

बाल्यकालमा हुने सामान्य पौडी खेल्ने, गोठालो जाने, लुकी खेल्ने, डण्डी बियो खेलेर बितेको हो उहाँको बालापन । उहाँ पौडी भने चतरामा खेल्नु भयो । इमली अर्थात तित्रीका रुखमा चढेर हाँगा हाँगामा छोइ खेल्ने पनि गर्नुभयो । 

०००

ढिक झोडाको वसन्त ऋतु प्राथमिक विद्यालयबाट प्रारम्भ भएको उहाँको पढाइ विद्यावारिधिसम्म नपुगि रोकिएन । शिशु कक्षामा प्रथम भए वापत प्राप्त भएको आधा निलो र आधा रातो भएको सिसा कलम अनि बाक्लो जिल्द भएको बुक कापी उहाँको स्मरणबाट अझै ओझेल परेको छैन । पुरस्कारको यो सिलसिला अहिले साहित्यमा आएर जोडिएको छ । 

स्कूलमा बस्नका लागि घरबाटै चकटी लिएर जानुपर्थ्यो । प्रत्येक शुक्रबार स्कूलको सरसफाइ तथा लिपपोत पनि विद्यार्थीकै जिम्मामा थियो ।  शिशु कक्षामा प्रथम भएको केटो घरमा पिताजी नहुँदा माता जीलाई नटेर्ने आम प्रचलनले एक कक्षाको पढाइ कता गयो के भयो । फेरि दुई कक्षामा ल्याएर भर्ना त गरिदिए तर, नियमित एक कक्षा पढेर आएका साथीसँग प्रतिस्पर्धी हुन नसक्दा प्रथम भएको केटोको तीन/चार कक्षामा आउँदा रोल पनि कक्षा अनुसार बढ्दै गयो । 

एकदिन मामा पर्ने शिक्षकलाई उहाँले नेपालीमा कति दिनुभयो मामा भन्दा पचास भन्नुभयो । तर, उहाँले पचास दिएको भए त तेस्रो हुन्थे नि भनेर फ्याट्ट भनेको उहाँलाई अहिले पनि सम्झना छ । पढाइ प्रतिको उहाँको चासो भने त्यस अर्थमा पनि राम्रै रहेको उहाँको आजसम्मको ठम्याइ हो यो । अन्यथा बीचमा पढाइ एक हदसम्म खस्कँदा पनि उहाँको यो मान्यताले काम गरेका कारण राम्रै अघि बढेको उहाँको बुझाइ हो । 

०००

उहाँको एकजना ठूलो बा दार्जिलिङतिर भएका कारण उहाँ एकपटक कक्षा पाँचमा टिस्टा ब्रिज हाइस्कुलमा पनि भर्ना हुनुभयो । तर, घरको नियाँस्रोले माघमा गएको उहाँको तीन महिनामा नै पढाइ टुंगियो एवं रीतले अनियमितता नै नियमित बन्दै उहाँको पढाइ नौ कक्षामा पुग्यो पोखराको संस्कृत माध्यमिक विद्यालयमा । 

तीन सय पूर्णाङ्कको संस्कृत अनि अनियमित पढाइले नियमति पढेर आउनेको साथीहरुको अगाडि उहाँको पढाइले यहाँ पनि घुँडा टेक्ने स्थिति आयो । भनेको प्रथम नभएर तेस्रो हुनुभयो । 

तर, संयोग यहाँ पुग्दा उहाँको व्यक्तित्व तथा नेतृत्वको विकास भने राम्रै भयो । त्यो भनेको पिताजीले कताबाट ल्याएको एउटा सामान्य ज्ञानको किताबले उहाँको सामान्य ज्ञान मात्र नभएर व्यक्तित्व तथा स्कूलको पनि प्रतिष्ठा वृद्धि गर्न मद्दत पुर्‍यायो । त्यो भनेको जिल्ला स्तरीय हाजिरी जवाफमा केवल उहाँका कारण विद्यालय तेस्रो भयो । 

प्रार्थना गर्न सबै विद्यार्थी लाइन लागेर बसेका बखत एक पटक सँधै प्रार्थना गराउने प्राविका शिक्षक नआउँदा नेपाली पढाउने शारदा मिसले अब शैलेन्दुले गराउँछ भनेको भोलिपल्टदेखि उहाँको ठेक्का नै परे झै भयो ।  

रमाइलो प्रसंग त के भने महाकवि लक्ष्मी प्रसाद देवकोटाका नाममा देशमा पुरस्कार थिएनन् उहाँ अध्यक्ष रहेको नेपाली वाङ्मय प्रतिष्ठानले २०५४ सालदेखि महाकवि देवकोटा पुरस्कारको स्थापना गर्नुभयो । कुमार बहादुर जोशी, भरतराज मन्थलीय, सत्यमोहन जोशी, मोदनाथ प्रश्रित, केशव प्रसाद उपाध्याय, भुवनहरि सिग्देल, गोपाल अश्क लगायतका स्रष्टा देवकोटा पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ । 

एकपटक कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला पोखराको भ्रमणमा आउने बेला पोखरा विमानस्थलदेखि स्वागतका लागि कक्षा सातदेखिका विद्यार्थीलाई लाने ल्याउने जिम्मा समेत शैलेन्दुको भनेर प्रार्थनाका समयमा हेड सरले भनेपछि यसको पनि उहाँलाई नै ठेक्का झै भयो । यो नेतृत्व विकासमा एउटा अवसरका रुपमा प्राप्त भयो उहाँलाई । 

०००

एकपटक कट्टु फुकालेर पौडी खेल्दा उहाँको कट्टु हावाले उडायो । अनि सँगै गएको भाइको शर्टले आफू बेरिएर लाज ढाक्दै र भाइलाई भने सर्वाङ्ग बनाएर फर्केको पनि उहाँको मानसपटलमा ताजै छ । 

गुच्चामा पनि उहाँ साह्रै अभ्यस्त पाँचै औँलाले गुच्चा हान्नुहुन्थ्यो । अनि हटिया लागेका बखत छेउ कुना पारेर उहाँ गुच्चा खेल्दै जितेर घरमा मोजामा ल्याएर राख्नुहुन्थ्यो ।  भाइहरु गुच्चाका लागि आमालाई हारगुहार गर्थे । तर, चार आना आठ आनामा बिक्ने ती गुच्चाको महत्व उहाँलाई बाहेक अरुलाई कसलाई थाहा होला र त्यसबखत । 

करबीर फूल भित्रको दानाको साना तथा ठूला दानाको कौडा, गोठालो गएका बखत साथीभाइसँग रमाइलोका लागि तास पनि उहाँले नखेलेको होइन । 

खैनीको पनि रमाइलो प्रसंग छ उहाँसँग । त्यसबेला भारतीय रेल्वेको रेल ढुंगा लिन धरानको घोपासम्म आउँथ्यो । उहाँहरु गाईवस्तु छोडेर साथीभाइसँग बसिरहनु भएको थियो । एकजना भारतीयले रुखको छायाँमा बसेर आधा घण्टा खैनी माडेर खाने हो भनेर सोधे । 

अरु साथीले पहिले तँ चाख अनि हामी खाउँला भने । उहाँले चाखेको शुरुमा केही परपराए जस्तो भयो । एकछिनपछि खैनीले तिरिमिरी झ्याईँ पार्‍यो । मुख पनि खोकलेको हो उहाँले तर मुख खोकलेर कहाँ हुन्थ्यो र उहाँलाई आलस तलास नै बनायो । 

पछि खाजा खाने बेलामा साथीहरुले ल्याएको मकै खाएपछि अलि तङ्ग्रिएर उहाँ घर फर्कनु भयो । चुरोट, बिँडी, सनपाटका डाँठमा राखेर सुर्ती खाने देखि बट्टामा राखेका बास्नादार खैनी अनि चुना वाला सुर्तीदेखि चुना विनाका सबै अभ्यासमा उहाँ सरिक हुनुभयो । तर, बानीका रुपमा भने रहेनन् । 

०००

संस्कृत माध्यमिक विद्यालयमा मावि तहमा पढ्दा नौ कक्षाबाट दश कक्षामा जाँदा भने तेस्रो हुनुभएको उहाँ टेष्ट परीक्षामा भने दोस्रो हुनुभयो । झलकमणि तिवारी भन्ने साथी प्रथम हुनुभएको थियो । 

एसएलसी दिने त्यतिखेर १८/२० जना थिए । तर स्कूल नै नील हुनपुग्यो । यो २०३५ सालको कुरा हो । उहाँको अंग्रेजी र गणित विषय लागेको रहेछ । विषय गाह्रो भएको हुनाले ट्युसन नपढी पास हुने स्थिति थिएन । 

रिजल्ट हुने समय पिताजीको यात्रा कर्णाली तर्फको थियो । घरमा आइपुग्दा रिजल्ट के भो भनेर उहाँले सोध्दा हेरेको छैन भनेर उहाँले भने पनि पिताजीले पोखराबाट लब्धाकं पत्र लिएर फर्कनु भएको रहेछ । 

त्यसबेला उहाँको बसाइ पुरानो बानेश्वरमा थियो । कोठा भाडा तथा खानका लागि पिताजी आफैंले पैसा दिने भएका कारण कसैले पनि पैसा माग्दैनथे । अनि ट्युसनका लागि पनि पिताजी अन्त कतै हिँडेका कारण त्यो सम्भव भएन त्यतिखेर । 

त्यसपछि उहाँले काठमाडौँ नै फर्म भर्नुभयो । तर, संस्कृतका पुस्तक पाइनन् । त्यसकारण संस्कृतमा त अनुत्तीर्ण हुनु भयो नै । त्यसमाथि उहाँले पोखरा हुँदा ५० नम्बरको पूर्णाङ्कको विज्ञानको जाँच दिएको तर, यहाँ भने एक सय पूर्णाङ्कको प्रश्न आयो । त्यो कुरा उहाँले गार्डदेखि केन्द्राध्यक्षसम्म सबैलाई भन्नुभयो । 

सबैले मिलिहाल्छ नि भने । तर, पछि रिजल्ट आउँदा विज्ञानको उहाँको पत्र भने खाली नै आयो । विज्ञानको उहाँको परीक्षाको सन्दर्भमा पछि उहाँले गोरखापत्रमा चिठी पनि लेख्नुभयो । तर त्यसको कतै सुनुवाइ भएन । उहाँ यसरी फेरि अनुत्तीर्ण हुनुभयो । 

अर्को वर्ष फेरि तीन सय पूर्णाङ्कको संस्कृत र विज्ञानको आंशिक परीक्षा दिएर बल्लतल्ल तीन पटकमा उहाँ एसएलसी उत्तीर्ण हुनुभयो ।  एसएलसी उत्तीर्ण गरेपछि उहाँ बाल्मिकी क्याम्पसमा पढ्न थाल्नुभयो । दोस्रो वर्षमा पढ्दै गर्दा संस्कृतमा ३२ प्राप्ताङ्क ३१ आएर अनुत्तीर्ण भएपछि उहाँको संस्कृत प्रतिको मोह भंग भएको रहेछ । 

पछि पिताजीले पशुपति क्याम्पसमा पढाउन थालेपछि उहाँ पनि त्यही क्याम्पसमा भर्ना हुनुभयो । पहिलो वर्षमा उहाँले कलेज टप गर्नुभयो । दोस्रो वर्षमा पिपुल्स क्याम्पसमा बिहान पढाइ हुने हुनाले त्यता सार्नुभयो । उहाँले पिपुल्स क्याम्पसमा पनि टप गरेर स्वर्ण पदक प्राप्त गर्नुभयो । यो प्रसंगले भने पहिले आफू फेल हुनुमा क्षमता नभएको भन्दा पनि परिस्थिति अनुकुल नभएको रुपमा लिनुहुन्छ नेपाल । 

दोस्रो वर्षमा पढ्दै गर्दा नै उहाँले बालाजुको तरुण माविमा पढाउन थाल्नु भयो । पहिले यसो हेरौं गोजी खर्च हुन्छ भनेर गएको उहाँ पिएचडी सकेर पनि दश वर्ष गरेर ३२ वर्ष त्यही स्कूलमा पढाउनु भयो । 

उहाँले कक्षा एकदेखि एमए सम्मलाई पढाउनु भएको छ । शिक्षण पेशालाई उहाँ आर्दश, समुन्नत र स्वछन्द पेशाको रुपमा लिनुहुन्छ । किनकि यहाँ विद्यार्थी बाहेक कसैलाई चित्त बुझाउनु नपर्ने उहाँको बुझाइ छ । 

तरुण माविको शिक्षण नै उहाँको पहिलो जागिर थियो । आधा महिना काम गरेपछि उहाँले तलबका रुपमा दुई सय २० रुपैयाँ बुझ्नु भयो । तर, त्यो पैसा कसरी सकियो उहाँलाई अहिले खासै सम्झना छैन । 

पहिले खासै चर्चामा नरहेको तरुण आर्दश पछि हेड सरको कुशल नेतृत्व तथा टिमको सहयोगका कारणले चार पटक राष्ट्रिय शिल्ड तथा दुई पटक क्षेत्रीय शिल्ड प्राप्त गर्न सफल भयो । पहिले भर्ना खुल्यो भनेर विद्यार्थी शीला खोज्नुपर्ने स्कूलमा अहिले भर्ना पाउन गाह्रो छ । 

०००

उहाँ तीन कक्षामा पढ्दै हुनुहुन्थ्यो, एक दिन चक्लघट्टीबाट ढिक झोडा स्कूलमा चार/पाँच जना साथीहरु जाँदै गर्दा एक जना साथीले यसो घामतिर हेरेर अब ढिलो भयो हेड सरले कुट्नुहुन्छ स्कूल नजाउ भने । हेड सरको व्यक्तित्व पनि हत्तपत्त कोही अगाडि परेर बोल्न नसक्ने कारणले उहाँले पनि मनाही गर्नु भएन । 

एक/डेढ घण्टा जंगलमा बसिसकेपछि उही साथीले फेरि घामतिर हेरेर अब खाजा खाने बेला भयो घर जाउँ भने । घरमा के भन्ने भन्दा आज हेड सर इनरुवा गएका कारण हाफ छुट्टी भयो भनौं भन्ने कुरा भयो । सबै घर लागे । आमाले सोध्नु त भयो तर, जवाफ पहिल्यै तयार थियो । 

त्यो दिन बुधवार थियो हटिया लाग्ने दिन । उहाँ पनि आमासँग हटिया जानुभयो । तर, फर्कँदै गर्दा पिताजीले बाटोमा नै स्कूल किन नगएको भनेर कान समात्नु भयो । त्यस दिनदेखि उहाँले स्कूल भाग्ने काम बन्द गर्नुभयो ।

भएको के रहेछ भने त्यो दिन पिताजी स्कूल भन्दा माथिको गाउँ जानु भएको रहेछ । अनि फर्कँदा स्कूलका सबै मित्रहरूलाई यसो भेटेर छोराको पढाइका बारेमा पनि सोधेर जाउँ भनेर छिर्नु भएको रहेछ । अनि स्कूलमा छोरा खोइ भन्दा आज आएको छैन भनेपछि उहाँको त्यो पोल खुलेको रहेछ । 

एक पटक के भयो त भन्दा उहाँ वसुन्धरामा भर्खर बस्न थाल्नु भएको थियो । उहाँ सरकारी लगायत निजी विद्यालयमा पनि आशिंक शिक्षकका रुपमा पढाउनु हुन्थ्यो । उहाँ बिहान पद्मकन्या कलेज पढाएर स्कूल जाने अनि घर गएर खाना खाएर तरुण मावि जाने तालिका थियो । उहाँ स्कूल जाँदा हेड सरले खोइ त छोरा भन्नुभयो । 

उहाँ बिहानै निस्केको थाहा हुने कुरो भएन । खान खान घर आउँदा छोरो घरमा पनि थिएन । पढाउन जानु भएकी श्रीमतीलाई फोन गरेर सोध्नुभयो उहाँलाई पनि थाहा भएन । 

पछि बेलुका घरमा आउँदा भने छोरा घरमै थिए । कहाँ गएको भनेर सोध्दा साथी कहाँ भन्ने जवाफ आयो । ठ्याक्कै यही तीन कक्षाको प्रसंग उहाँको छोराको सन्दर्भमा पनि तीन कक्षामा नै घटित हुन पुग्यो । 

०००

उहाँका काले र कथुले भन्ने अत्यन्त सीधा एक हल गोरु थिए । ढिक झोडाबाट गाउँका धेरै जोडी गोरु गाडा लिएर सिसौका लकडी लिन भएर हिँडे । उहाँ पनि जानुभयो । आउने बेलामा धेरैले सानो भएका कारण गोरु गाडा नहाँक बाटोमा उनार (पल्टन) हुनसक्छ भनेर सम्झाए । 

तर, मेरो गाडा मै लिएर जान्छु भनेर उहाँले बाल हठ देखाउनु भयो । लिएर आउनु भयो । तर, उहाँ पछाडिको एउटा गाडा भनेर उनार भएछ । उहाँ भने सानो भएका कारण आइसकेपछि जुवाबाट फुत्त हाम फाल्ने अनि गोरुको टाउकोमा लट्ठीले विस्तारै टक्क टक्क हानेपछि उनीहरुले नै जुवा तल राखिदिन्थे । ठूला मान्छेले भने आफैंले झिक्ने गर्छन् । उहाँ भने सानो भएको तथा गोरुहरू पनि सोझा भएकोले त्यो सम्भव भएको रहेछ । यो अझै पनि स्मरणमा ताजै छ उहाँको । 

अर्को प्रसंग उहाँका घरमा दुई वटा गाई थिए । एउटा भने अत्यन्त मापाको । अर्को भने गौमती नाम गरेको गौ प्राणी भने जत्तिकै सुधो । उहाँ दिउँसो त्यो सुधो गाइ चरिरहेको ठाउँमा थुनमा मुख लाएर दूध चुस्नुहुन्थ्यो । गाईले पनि दिइरहन्थ्यो दूध चुस्न । 

०००

उहाँले पहिलो कविता २०२९ सालमा लेख्नु भएको हो । त्यहाँ हामी सबै हेरौं फूल फुलेका कस्ता छन्, अमृतका पाना जस्ता छन् । यो दुई हरफ लेख्दा उहाँ ११ वर्षको हुनुहुन्थ्यो । अब त्यो अमृतका पाना भनेको के हो भन्ने चेत नै नभइकन पनि लेखिएको देख्दा उहाँ आफैं अचम्भित हुनुहुन्छ । यसलाई उहाँ पहिलो त पिताजीको एउटा विरासतको रुपमा समेत लिनुहुन्छ । 

उहाँ पोखराको बसाइले साहित्यिक मनमा मलजल गरेको पनि ठान्नुहुन्छ भने पिताजीले आफ्ना हितैषी सँग छोरामा कवि भावना देखेको भएर साहित्यिक वृत्ति विकासका लागि पनि पोखरा लगेको भन्ने प्रसंग सुनेबाट यो अझ प्रष्ट भएकोमा सहमत हुनुहुन्छ । त्यहाँका प्राकृतिक छटाले यसमा मलजल गर्न धेरै मद्दत गरे । 

उहाँ साहित्यमा आउनुमा अर्को देनको भनेको उहाँको हजुर आमाले सँधै उहाँलाई बाबुको बिँडो थाम्नुपर्छ भनेर सम्झाउने गरेबाट पनि हो भन्ने मान्नुहुन्छ । उहाँको पहिलो कृति गीति काव्य प्रेम–पूजा हो जुन २०३९ सालमा प्रकाशन भएको हो । उहाँका झण्डै तीस वटा पुस्तक प्रकाशन भएका छन् । जसमा तीनवटा महाकाव्य, नौ वटा खण्डकाव्य, आठ वटा बाल साहित्य, पाँच वटा समालोचना, दुई निबन्ध संग्रह, एक कविता संग्रह तथा एक संकल्प रहेका छन् । उहाँको सह–लेखनमा झण्डै ४०/४२ वटा पाठ्य पुस्तक पनि प्रकाशित छन् । 

महाकाव्यका रुपमा भने उहाँको पहिलो महाकाव्य जुनु २०४८ सालमा तथा दोस्रो महाकाव्य अनामिका २०५६ सालमा निस्किएको हो । पुरस्कारका हकमा चितवन साहित्य परिषदले २०५८ सालमा प्रदान गरेको कृष्ण कुमारी गुरुङ पुरस्कार, वाणी प्रकाशनद्वारा गेरु ओमकार पुरस्कार, साहित्य सम्मेलन केन्द्रद्वारा भर्खरै मात्र वसन्त–राधा काव्य पुरस्कार, वासु–शशी पुरस्कार, विराटनगरको प्रतिभा पुरस्कार, धरणीधर–दाहाल स्मृति पुरस्कार लगायत दर्जनौं पुरस्कार उहाँले प्राप्त गरिसक्नु भएको छ । 

उहाँ नेपाली वाङ्मय प्रतिष्ठान, यात्री अनुसन्धान केन्द्र, चारुशीला वाङ्मय, साहित्यकार खेलकुद समाज नेपालको अध्यक्ष तथा नेपाली लेखक संघको उपाध्यक्ष समेत हुनुहुन्छ । 

रमाइलो प्रसंग त के भने महाकवि लक्ष्मी प्रसाद देवकोटाका नाममा देशमा पुरस्कार थिएनन् उहाँ अध्यक्ष रहेको नेपाली वाङ्मय प्रतिष्ठानले २०५४ सालदेखि महाकवि देवकोटा पुरस्कारको स्थापना गर्नुभयो । कुमार बहादुर जोशी, भरतराज मन्थलीय, सत्यमोहन जोशी, मोदनाथ प्रश्रित, केशव प्रसाद उपाध्याय, भुवनहरि सिग्देल, गोपाल अश्क लगायतका स्रष्टा देवकोटा पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ । 

०००

उहाँको २०४५ सालमा मागी विवाह भएको हो । हाल उहाँको एक छोरा तथा एक छोरी हुनुहुन्छ । छोरा आइटीको क्षेत्रमा कार्यरत हुनुहुन्छ भने छोरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्छ ।