स्थानीय निर्वाचनमा महिलाः यस्तो छ चितवनको अंक गणित

स्थानीय निर्वाचनमा महिलाः यस्तो छ चितवनको अंक गणित

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  बैशाख ५, २०७९

चितवनको माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी महतो आफ्नो कार्यकक्षमा हातमा तिलहरी, औँठीलगायतका गहना बोकेर बस्नुभएको थियो । कार्यकक्षमा उपप्रमुखको हातमा गहनाका के काम ? प्रश्न स्वाभाविक थियो । ताराकुमारी भन्नुहुन्छ, ‘विवाद समाधानमा छलफल गराइदिने मात्र होइन, लेनदेन फरफारक, गरगहना जिम्मासमेत लिइदिनुपर्छ ।'

ताराकुमारीका हातमा रहेका गहना भर्खरै अदालतबाट सम्बन्धबिच्छेद भएको जोडीको रहेछ । माडी नगरपालिकाकै न्यायिक समितिमा छलफलपछि कानुनी प्रक्रिया पूरा गर्न अदालत गएको त्यो जोडीको गरगहना फिर्ता गरिदिने जिम्मा पनि न्यायिक समितिको प्रमुख महतोकै जिम्मामा परेको रहेछ ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकमा चितवनमा दैनिक कम्तीमा ४ वटा लैंगिक हिंसाका उजुरी आउँछन् । तर, जिल्लामा महिलाहरूका लागि सरकारी स्वामित्वको अल्पकालीन संरक्षण गृह थिएन । माडी नगरपालिकामा उपप्रमुख ताराकुमारीकै पहलमा महिलाहरूका लागि अल्पकालीन संरक्षण गृह निर्माण भएर संचालन सम्झौतासमेत भइसकेको छ । तर, ताराकुमारीले गरका यी कामहरूको खासै प्रचार भएको छैन, न त उपप्रमुख महतोले स्वयं नै प्रचार गर्नुभएको छ ।

‘जनताको मन जिते प्रमुख पद पनि सजिलै जितिन्छ, प्रचार नै किन गर्नु र ?', ताराकुमारी भन्नुहुन्छ । आफूले गरेको काम जनताले थाहा पाए हुने ताराकुमारीको भनाइ छ । त्यसैले ताराकुमारीले प्रचारभन्दा धेरै कामलाई प्राथमिकता दिएको बताउनुभयो ।

यसको ठिक उल्टो छ चितवनको राप्ती नगरपालिकामा । त्यहाँका उपप्रमुख इमानसिंह लामाले एउटा भिडियो बनाउनुभएको छ, जसमा उपप्रमुख लामाले आफ्नो ५ वर्षको कार्यकालमा गरेका प्रमुख कामहरूको गीत र दृश्य समेटिएको छ । ७ मिनेट ५७ सेकेन्ड लामो भिडियोमा उपप्रमुख लामाले कोभिडभन्दा अघिदेखि गरेका कामहरूको भिडियोसमेत समेटिएको छ ।

भिडियो हेरेपछि तपाईँले त उपप्रमुख निर्वाचित भएदेखि नै प्रमुखका लागि तयारी गर्नुभएको रहेछ नि ? भन्ने आईएनएसको प्रश्नमा उपप्रमुख लामाले भन्नुभयो, ‘जनताले मेरो काम देखेर तपाईँ नै प्रमुख बन्नुपर्छ भन्नुभएको हो ।'

हुनत नेकपा एमाले चितवनले आइतबार साँझसम्म भरतपुर महानगरमा प्रमुखको उम्मेदवारबाहेक अरू स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छैन । यद्यपि, उपप्रमुख लामा आफूलाई पार्टीले ‘ग्रिन सिग्नल' दिएको दाबी गर्नुहुन्छ ।

राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद नेकपा एमालेले जितेको थियो । नगर प्रमुखमा तयारी गरिरहेका लामा  वर्तमान प्रमुख प्रभा बरालले पुनः प्रमुखमा दाबेदारी नदिने बताएकाले आफू ढुक्क रहेका दाबी गर्नुहुन्छ ।

चितवनमा ७ वटा स्थानीय तह छन् । तीमध्ये राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा प्रमुख महिला छन् भने उपप्रमुख पुरुष ।

इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ नै अहिले नेपाली कांग्रेसको इच्छाकामनाको सभापति हुनुहुन्छ । कृतिकुमार स्वयं उम्मेदवारलाई टिकटको निर्णय गर्ने पदमा हुनुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ, ‘यस पटक म नै इच्छाकामना गाउँपालिका अध्यक्षको उम्मेदवार हो ।'

अहिले बहालवाला अध्यक्ष गीताकुमारी गुरुङ यसअघि गाउँपालिका सभापति हुँदा अध्यक्षको टिकट पाएकाले आफूले नै यस पटक अध्यक्षको टिकट पाउने कृतिकुमारको दाबी छ । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

बाँकी ५ वटा स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा दुवै जना महिला नै प्रमुख र उपप्रमुख छन् । भरतपुर केन्द्रीय राजनीतिको समेत केन्द्रबिन्दु भएकाले प्रमुखको रस्साकस्सीमा गठबन्धनका २ सत्तारुढ दल कांग्रेस र माओवादी छन् ।

हाल बहालवाला उपप्रमुख पार्वती शाह ठकुरीको कामको खासै चर्चा छैन । हुनत ऐनले दिएको सबै काम सबै पालिकाभन्दा आफूले उत्कृष्ट रूपमा सम्पन्न गरेको उपप्रमुख ठकुरीको दाबी छ ।

तर, प्रमुखमा माओवादी केन्द्रबाट पुनः दोहोरिनेमा रेणु दाहालकै बढी चर्चा भएकाले उनको कामको लेखाजोखा न सार्वजनिक वृत्तमा भएको छ, न त सार्वजनिक संचार माध्यमको प्राथमिकतामा परेको छ ।

यद्यपि, उपप्रमुख ठकुरी भन्नुहुन्छ, ‘स्वाभाविक रूपमै अब मेरो उम्मेदवारी प्रमुखमा हो ।' पार्वतीले आफ्नो कार्यकालमा १०० भन्दा बढी वादविवादका मुद्दा आफूले समाधान गराएको समेत जानकारी दिनुभयो । न्यायिक समितिमा चित्त नबुझेर अदालत नै गएका १२ वटा विवादमध्ये १० वटामा न्यायिक समितिकै निर्णय सदर भएको र २ वटा विचाराधीन रहेका पनि उहाँले बताउनुभयो ।

उपप्रमुख ठकुरीको कांग्रेस चितवनबाट भरतपुर महानगरको प्रमुखमा इच्छुकको लिष्टमा नाम त समावेश छ तर चुनावी तालमेल नै नहुँदा पनि उपप्रमुख ठकुरीले प्रमुखको टिकट पाउने बलियो उम्मेदवार नभएको नेपाली कांग्रेस चितवनका एक नेताले बताए ।

बाँकी ४ वटा नगरपालिकामध्ये खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाले आफू प्रमुखमा उम्मेदवारी नदिने सार्वजनिक गरिसक्नुभएको छ । कालिका नगरपालिकाकी उपप्रमुख कमला भट्टराई पनि प्रमुखको दाबेदारीको लाइनमा हुनुहुन्न ।

खैरहनी र माडी नगरपालिकाका २ उपप्रमुख भने प्रमुखमा दाबेदारी गरिरहेका छन् । तर, उनीहरूले प्रमुखका लागि दाबेदारी प्रस्तुत गरिरहँदा आफूले गरेको कामको बलियो गरी प्रचारको काम भने गर्न सकेका देखिँदैन ।

रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी पनि आफूलाई प्रमुखको स्वतः उम्मेदवार मान्नुहुन्छ । चितवनको पूर्वी भेगमा महिला अधिकारको क्षेत्रमा लामो समय काम गर्नुभएकी बिमलाले न्यायिक तथा अनुगमनका अन्य कामहरू पनि राम्रोसँग गर्नुभएको बताइन्छ ।

५ वर्षको बीचमा आफूले प्रमुख जिम्मेवारी नपाउँदा कतिपय गर्नै पर्ने काम पनि गर्न नसकेको बिमलाको भनाइ छ । ‘गान्धारीले झैँ काम गरेँ', उपप्रमुख दवाडीले भन्नुभयो, ‘उपप्रमुख भएर न्यायोचित काम गरियो, जनताले राम्रोसँग चिने । अब प्रमुखको पालो हो । पार्टीले मूल्यांकन गर्ला भन्नेमा ढुक्क छु ।'

तर, दवाडीले पनि अरू महिला पदाधिकारी जसरी नै राप्ती नगरका उपप्रमुख इमानसिंह लामा जस्तो आफूले गरेको कामको अभिलेख भने दरिलो गरी राख्नुभएको छैन । त्यसैले पनि दाबेदारीको मामिलामा उहाँ कमजोर देखिनुभएको छ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार