फुटबल संघ खोटाङ : अध्यक्षमा पुन: ध्रुबबिक्रम राई

फुटबल संघ खोटाङ : अध्यक्षमा पुन: ध्रुबबिक्रम राई

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०७९

खोटाङ । जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त फुटबल संघको सोमबार सम्पन्न प्रथम अधिबेसनबाट राई पुःन अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । राई यसअघि जिल्ला फुटबल संघको तदर्थ समिति अध्यक्ष थिए । 

संघको उपाध्यक्षमा समीर राई, उद्धब राई र रोशेस श्रेष्ठ, महासचिवमा काजिमान राई र कोषाध्यक्षमा रोशन राई चयन भएका छन् । फुटबल संघको सदस्यमा कमल चाम्लिङ राई, भानु राई, बिनोद तिरुवा, सुमन पुमा र सनम राई चयन भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिबेशन फुटबल संघका प्रदेश उपाध्यक्ष प्रबिण सुवालले उद्घाटन गरेका थिए । 

खोटाङमा २०७३ सालमा जिल्ला फुटबल संघ स्थापना गरिएको थियो । फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन् । 

जिल्ला फुटबल संघको पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थायी सदस्यता प्राप्त गरेको हो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको  फुटबल संघका नवनिर्वाचित अध्यक्ष राईले बताए ।