क्रिकेटबारे १० रोचक तथ्य, जुन हामीलाई थाहा नहुन सक्छन्

क्रिकेटबारे १० रोचक तथ्य, जुन हामीलाई थाहा नहुन सक्छन्

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ६, २०७९

के तपाईंलाई थाहा छ, अहिले ५ दिने फर्म्याटमा खेलिने टेस्ट क्रिकेट सन् १९७० भन्दा अगाडिसम्म ६ दिनको हुने गर्थ्यो । सन् १९८३ को विश्वकपसम्म एक दिवशीय खेलको इनिङ ६०/६० ओभरको हुन्थ्यो । त्यस्तै, सन् १९८०को दशकको उत्तरार्द्धसम्म पनि १ ओभरमा ६ होइन, ८ बल फ्याँकिन्थ्यो ।

श्रीलंकाका मार्वन अट्टापटु वान डे क्रिकेटमा सबैभन्दा बढी पटक रनआउट हुने खेलाडी हुन् । उनी २५७ वान डे इनिङमा ४१ पटक रनआउट भएका छन् । त्यस्तै, वान डे इतिहासमा सबैभन्दा धेरै ‘डकआउट’ हुने क्रिकेटरको कीर्तिमान पनि श्रीलंकाली खेलाडीकै नाममा छ । सनथ जयसूर्याले श्रीलंकाका लागि खेलेको ४४५ म्याचमा ३८ पटक रनको खाता नै खोल्न सकेका थिएनन्, जुन एउटा कीर्तिमान नै हो ।

यो लेखमा क्रिकेट खेलसँग सम्बन्धित यस्तैयस्तै १० रोचक तथ्यहरू प्रस्तुत गरिएको छ ।

१. क्रिकेट खेलको विकास सोह्रौँ शताब्दीको अन्त्यतिरै दक्षिणपूर्वी बेलायतमा भएको मानिँदै आएको छ । २ देशका बीच अनौपचारिक रूपमा खेलिएको पहिलो खेल भने सन् १८४४ मा अमेरिका र क्यानाडाबीच अमेरिकाको सेन्ट जर्ज क्रिकेट क्लबको मैदानमा खेलिएको खेललाई मानिन्छ । टेस्ट क्रिकेटको पहिलो आधिकारिक खेल सन् १८७७ मा इंग्ल्याण्ड र अस्ट्रेलियाका बीच मेलवर्न क्रिकेट ग्राउण्ड (एमसीजी)मा खेलिएको थियो । त्यसयता अहिलेसम्मको अवधिमा १३ राष्ट्रले २ हजारभन्दा बढी टेस्ट म्याच खेलिसकेका छन् ।

२) अस्ट्रेलियाका सर डन ब्राडम्यामलाई टेस्ट क्रिकेटको सर्वकालीन महान् खेलाडी मानिन्छ । ब्राडम्यानले आफ्नो टेस्ट क्रिकेट क्यारिअरमा ८० खेल खेल्दै ९९ दशमलब ९४ को औसतमा ६ हजार ६९६ रन बनाएका थिए । यसक्रममा उनले २९ शतक बनाएका थिए, जसमा १२ दोहोरो शतक र ३ तेहेरो शतक समावेश छन् ।

सर डन ब्राडम्यानले आफ्नो लामो खेल जीवनमा टेस्ट क्रिकेट र पहिलो तथा दोस्रो श्रेणी गरी ६६९ खेल खेल्दै ९० भन्दा माथिको औसतमा २११ शतकसहित ५० हजारभन्दा बढी रन बनाएका विकिपिडियामा उल्लेख छ ।

३) टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान भने भारतका महान् ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा छ । उनले २०० खेलको ३२९ इनिङमा ४९ शतकसहित १८ हजार ४२६ रन बनाएका छन् । ४३६ एक दिवशीय खेलमा ५१ शतकसमेत बनाएका तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक बनाउने संसारका एक मात्र ब्याट्सम्यान पनि हुन् ।

४) टेस्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान वेष्ट इन्डिजका ब्रायन लाराको नाममा छ ।२००३/०४ को सिजनमा उनले इंग्ल्याण्डविरुद्ध अविजित ४०० रन बनाउँदै उच्च व्यक्तिगत रनका साथै एकै इनिङमा ४०० रनको आँकडालाई छुने दुर्लभ कीर्तिमान कायम गरेका थिए । सन् १९९३/९४ मा उनले इंग्ल्याण्डविरुद्ध बनाएको ३७५ रनको कीर्तिमान १० वर्षपछि अस्ट्रेलियाका म्याथ्यु हेडेनले ३८० रन बनाउँदै तोडेका थिए, जसलाई १ वर्ष बित्न नपाउँदै लाराले पुनः आफ्नो नाम गराएका थिए ।

५) टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी श्रीलंकाका मुथैया मुरलीधरण हुन् । उनले १३३ म्याचमा २२ दशमलब ७२ को औसतमा ८०० विकेट आफ्नो नाम गराएका छन् । दोस्रो नम्बरमा अस्ट्रेलियाका लेग स्पिनर सेन वार्न छन्, जसले १४५ खेलमा २५ दशमलब ४१ को औसतमा ७०८ विकेट लिन सफल भएका थिए । तेस्रो नम्बरमा १६९ म्याचमा ६४० विकेट लिएका इंग्ल्याण्डका जेम्स एण्डरसन पर्छन् ।

६) अहिलेसम्म केवल ३ खेलाडीले टेस्ट क्रिकेटको एकै इनिङमा १० विकेट लिन सफल भएका छन् । अस्ट्रेलियाका जिम लेकरले इंग्ल्याण्डविरुद्ध सन् १९५६ मा, भारतका अनिल कुम्बलेले १९८८/८९ मा पाकिस्तानविरुद्ध र न्युजिल्याण्डका इजाज पटेलले सन् २०२१ मा भारतविरुद्ध १ इनिङका सबै विकेट आफ्नो नाम गराएका थिए ।

एउटै म्याचमा धेरै विकेट लिने खेलाडीमा पनि अस्ट्रेलियाका जिम लेकरकै नाउँ आउँछ । उनले म्याचको पहिलो इनिङमा ९ विकेट गरी एकै खेलमा १९ विकेटको कीर्तिमान कायम गरेका थिए, जसलाई ६५ वर्षभन्दा लामो अवधिमा पनि कसैले तोड्न सकेको छैन ।

७) एक दिवशीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा पनि सचिन तेन्दुलकरकै नाम पहिलो नम्बरमा आउँछ । उनले ४५२ इनिङमा ५१ शतकसहित १८ हजार ४२६ बनाउन सफल भएका थिए । ४०४ इनिङमा १४ हजार २३४ रन बनाएका श्रीलंकाका कुमार संगकारा दोस्रो नम्बरमा पर्छन् ।

एक दिवशीय म्याचमा उच्च व्यक्तिगत स्कोरको रेकर्ड भने भारतका रोहित शर्माको नाममा छ । उनले सन् २०१४ मा श्रीलंकाविरुद्ध २६४ रनको पारी खेलेका थिए, जुन एक दिवशीय खेलको उच्च व्यक्तिगत स्कोर हो । एक दिवशीय म्याचमा उनले ३ वटा दोहोरो शतक बनाइसकेका छन् ।

अहिलेसम्म उनीबाहेक अन्य ५ खेलाडीले पनि वानडेमा दोहोरो शतक प्रहार गरेका छन् । सन् २०१५ मा न्युजिल्याण्डका मार्टिन गप्टीलले वेष्ट इन्डिजविरुद्ध २३७, वीरेन्द्र सेहवागले सन् २०११ मा वेष्ट इन्डिजविरुद्ध २१७, क्रिस गेलले सन् २०१५ मा जिम्बाब्वेविरुद्ध २१५, सन् २०१८ मा पाकिस्तानका फखर जमानले जिम्बाब्वेविरुद्ध २१० र सन् २०१० मा सचिन तेन्दुलकरले दक्षिण अफ्रिकाविरुद्ध २०० रन बनाउन सफल भएका थिए ।

८) अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान वेष्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको नाममा छ । उनले वान डे, टेस्ट र टी- २० क्रिकेटमा गरेर ५५३ छक्का प्रहार गरेको रेकर्ड छ । त्यस्तै, दोस्रो नम्बरमा ४७६ छक्कासहित पाकिस्तानका शाहिद अफ्रिदी र ४६१ छक्कासहित भारतका रोहित शर्मा तेस्रो नम्बरमा आउँछन् ।

वान डे क्रिकेटमा सबैभन्दा धेरै छक्काको कीर्तिमान भने शाहिद अफ्रिदीको नाममा छ । उनले ३९८ वान डे इनिङमा ३५१ छक्का प्रहार गरेका थिए ।

९) वान डे म्याचमा सबैभन्दा ठूलो स्कोर बनाउने रेकर्ड इंग्ल्याण्डको नाममा छ । उसले १९ जुन २०१८ का दिन अस्ट्रेलियाविरुद्ध ५० ओभरमा ४८१ रन बनाएर यो कीर्तिमान राखेको थियो ।

एउटै खेलका २ इनिङमा बनेको धेरै रनको कीर्तिमान सन् २००६ मा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा बनेको थियो, जहाँ २ टोलीले गरेर कुल ८७२ रन बनाएका थिए । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै बनाएको ४३४ रनलाई पिछा गरेको दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ४३८ रन बनाउन सफल भएको थियो । यस खेललाई इतिहासकै रोमाञ्चक वान डे म्याचसमेत घोषणा गरिएको थियो ।

एक दिवशीय क्रिकेटमा सबैभन्दा कम योगफलमा अलआउट हुने खराब कीर्तिमान जिम्बाब्वेको नाउँमा छ ।सन् २००४ मा श्रीलंकाविरुद्ध १८ ओभर खेल्दै जिम्बाब्वे केवल ३५ रनमा अलआउट भएको थियो ।

१०) सन् १९९७ मा भारतविरुद्ध कोलम्बोमा खेलिएको टेस्ट म्याचको पहिलो इनिङमा श्रीलंकाले ९५२ रन बनाएको थियो। । टेस्ट क्रिकेटको एकै इनिङमा बनेको यो सबैभन्दा उच्च योगफल हो । एउटा टेस्ट इनिङमा ९०० रनको आँकडा पार गर्ने अर्को एक मात्र टोली इंग्ल्याण्ड हो ।इंग्ल्याण्डले सन् १९३८ मा अस्ट्रेलियाविरुद्ध खेलिएको टेस्टको पहिलो इनिङमा ९०२ रनको योगफल खडा गरेक‍ो थियो ।

टेस्ट म्याचमा सबैभन्दा कम स्कोरमा अलआउट हुने कीर्तिमान न्युजिल्याण्डको नाममा छ । सन् १९५५ मा इंग्ल्याण्डविरुद्ध खेलिएको खेलमा न्युजिल्याण्ड केवल २८ रनमा अलआउट भएको थियो ।

टी- २० क्रिकेटमा सबैभन्दा ठूलो योगफल तयार पार्ने रेकर्ड अफगानिस्तानको नाममा छ । अफगानिस्तानले सन् २०१९ मा आयरल्याण्डविरुद्ध २० ओभरमा ३ विकेटको क्षतिमा २७८ रन बनाउँदै उक्त कीर्तिमान कायम गरेको थियो ।सन् २०१९ मै चेक रिपब्लिकविरुद्धको खेलमा टर्की केवल २१ रनमा अलआउट भएको थियो, जुन टी- २० इन्टरनेसनलको अहिलेसम्मको कम स्कोर हो । ४ विकेटको नोक्सानीमा २७८ नै बनाएको चेक रिपब्लिकले टर्कीविरुद्ध हात पारेको २५७ रनको जित टी- २० इतिहासकै सबैभन्दा फराकिलो अन्तरको विजय हो ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार