कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७६

ओखलढुंगा । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेका छन् । मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेक्दै कामीरिताले नयाँ कीर्तिमान कायम गरेका हुन् । 

गत साताको बुधबार उनले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए । एकै सिजनमा दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएर नयाँ कीर्तिमान कायम गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिएका छन् ।

यस अघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो। सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ ।