कृषि अनुदानबारे किसान नै अनभिज्ञ

कृषि अनुदानबारे किसान नै अनभिज्ञ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७६

कैलाली । बझाङको जयपृथ्वी नगरपालिका–३ रोकायाबाडाका किसान भरत रोकाया खेतमा धानको बीउ छर्न व्यस्त छन्। आइएलसम्म पढेका रोकाया जिल्लाकै नमुना किसान हुन्। दुर्गममा बसेर व्यावसायिक खेती गर्दै आएका उनी प्रदेश सरकारद्वारा किसानका लागि वितरित करोडौं रकम अनुदान पाउनबाट वञ्चित भए। ‘सरकारले कृषि औजार, सिँचाइ, मल, बीउलगायतमा अनुदान दिन्छ भन्ने त सुनेको हुँ,’ उनी भन्छन्, ‘त्यसका लागि कहिले निवेदन माग्छ र कहाँ गएर निवेदन दिनुपर्छ भन्ने जानकारी नै भएन।’ आफ्नो पहुँच भएसम्मको सञ्चारमाध्यम सुन्ने, हेर्ने र पढ्ने भए पनि त्यसबारे थाहा नपाइनु आफ्नो दुर्भाग्य र राज्यको लापरबाही भएको उनी ठान्छन्।

‘समय मिलाएर सदरमुकामा चैनपुर पनि जान्छु। स्थानीय एफएम र टेलिभिजन पनि सुन्ने र हेर्ने गर्छु। पाएजति पत्रिका पढ्ने गरेकै छु,’ दुःखी हुँदै उनी सुनाउँछन्, ‘प्रदेश सरकारको अनुदानबाट वञ्चित भएर पीडित बनेको छु।’ केही वर्षअघिसम्म गोरु जोतेर खेती लगाउने गरेका उनले अहिले दुई वर्षयता हाते ट्याक्टरको सहयोग लिँदै आएका छन्। ‘सरकारले किसान समूहलाई सहयोग गर्छ भन्ने सुनेर मिलेर नाननदेव कृषक समूह गठन ग¥यौं,’ उनले भने, ‘जानकारी नहँुदा समूहबाट अनुदानका लागि आवेदन दिनै पाएनौं।’ जयपृथ्वी–११ सुइलका जोइगिरि धामी पनि प्रदेश सरकारमा अनुदानका लागि आवेदन दिनुपर्छ भनेर पनि कसैले जानकारी नदिएको बताउँछन्। ‘गाउँमा मौसमी आलु धेरै उत्पादन हुन्छ। अनुदान पाए कोल्ड स्टोर बनाउने सोच थियो,’ उनी भन्छन्, ‘वडा, नगरपालिकामा निवेदन दिएँ, सुनवाइ भएन। प्रदेश सरकारसम्म पहुँचै पुगेन।’ नागरिक दैनिकले खबर प्रकाशित गरेको छ ।