फालेलुङ गाउँपालिका : गठबन्धनबाट नेपाली काङ्ग्रेस नेता सुरेन्द्र कुमार केरुङ अध्यक्षमा !

फालेलुङ गाउँपालिका : गठबन्धनबाट नेपाली काङ्ग्रेस नेता सुरेन्द्र कुमार केरुङ अध्यक्षमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७९

पाँचथर । आसन्न स्थानीय तहको निर्वाचनका लागि फालेलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट सुरेन्द्र कुमार केरुङ सम्भावना बढेको छ ।

गत मंगलबार बसेको आकाङ्क्षीहरूको बैठकबाट उम्मेदवारहरूको नामावली जिल्लामा सिफारिस गरिएको छ । उम्मेदवारहरूमा वर्तमान अध्यक्ष सञ्चकुमार केरुङ,  सुरेन्द्र कुमार केरुङ,  वीर विक्रम थाम्सुहाङ,  जय प्रसाद बासकोटा, अमिर केरुङ, दिपक याङ्मा राई, लक्ष्मी खतिवडा, नन्दबहादुर चौहान, धनकुमार लावती, हिमा अधिकारी, जीवन कुमार राई र गणेश थाम्सुहाङको नामावली सिफारिस गरिएको हो ।

उम्मेदवारहरूमध्ये सुरेन्द्र कुमार केरुङ बलियो उम्मेदवारको रुपमा चर्चा हुँदै आएको हो । पछिल्लो जानकारी अनुसार  गठबन्धन निश्चित भएकोले गठबन्धन भएमा बलियो उम्मेदवार देखिएको वर्तमान अध्यक्ष सन्चकुमार केरुङ र जीवन कुमार राईले आफ्नो उम्मेदवार नरहने बताए सँगै सुरेन्द्र कुमार केरुङ सम्भावना बढेको हो । 

त्रिभुवन युनिभर्सिटीबाट मास्टर डिग्री गरेका केरुङ सिद्ध देवी मावि सिदेनमा एक दशक यता प्रधानाध्यापकको रुपमा कार्यरत छन् । नेविसंघ सरस्वती मावी माछेबुङबाट २०४७/४८ सालबाट राजनीतिक जीवन सुरु गरेका केरुङले २०५५ सालमा नेविसंघ सातौँ जिल्ला अधिवेशन तदर्थ समितिको सहसचिव, २०५५ सालमा नेविसंघ क्षेत्रीय कार्यसमितिको सभापति, २०५८ सालमा जिल्ला सचिव, २०७३ सालमा नेपाल शिक्षक संघ प्रदेश नं. १ को सदस्य र नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन अघिसम्म जिल्ला संगठन विभाग समेत सम्हालेका युवा नेता केरुङ जिल्लाका बौद्धिक एवम् सामाजिक  व्यक्तित्व मानिन्छ ।

किरात याक्थुङ चुम्लुङको जिल्ला उपाध्यक्ष, केरुङ चोरुलुङ सङ्जुभोको केन्द्रीय सचिव लगायत दर्जनौँ सामाजिक संस्थाहरूमा आबद्ध केरुङले ' जिन्दगी र जिन्दगीहरू'  र 'आफ्नो हुन नसकेका स्टेफिना र स्मृति' लगायत नाट्य कृतिहरू पनि लेखेका छन् ।

कला साहित्यमा अब्बल क्षमता राख्ने केरुङले यस अघि लिम्बू चलचित्र 'पुङ साम' र 'नाहेन'  समेत निर्माण तथा अभिनय गरेका छन् । 'पुङ साम' ले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव सन २०१४ ' पब्लिक चोइस'  अवार्ड समेत हात पारेका थिए ।

फालेङ बृहत् साहित्य महोत्सव २०७८ लगायत विभिन्न संघ संस्थाद्वारा सम्मान प्राप्त गरिसकेका केरुङ सबै पार्टीका नेता कार्यकर्ताहरूसँग उतिकै घुलमिल गर्ने युवा नेताको रुपमा स्थापित रहेका छन् । नेकपा माओवादी लगायतसँग गठबन्धन भएपश्चात् आफ्नो उम्मेदवारी निश्चित जस्तै भएको केरुङले, बताएका छन् ।  ।