१६ फिट अग्लो ट्रम्प

१६ फिट अग्लो ट्रम्प

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ३ देखि ५ सम्म बेलायतको भ्रमण गर्दैछन् । भ्रमणका दौरान उनले प्रधानमन्त्री टेरेजा मे लयायत उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छ । 

तर उनको भ्रमणलाई मध्यनजर गर्दै विरोधीहरुले नयाँ शैलीमा विरोधको तयारी थालेका छन् । ट्रम्पको विरोध सुनको शौचालयमा बसेको उनकै १६ फिट अग्लो रोबोटले उनको शैलीमा बोलेर गर्नेछ । 

राष्ट्रपति ट्रम्पले प्राय प्रयोग गरिरहने, ‘म खारिएको विद्वान हुँ’, कुनै वाधा छैन’ जस्ता शब्द रोबोटले उच्चारण गर्नेछ ।

रोबोटको निर्माण २५ हजार डलरमा फिलाडेल्फिया निवासी डन लिसमले चीनमा गर्न लगाएका हुन् । लिसम चीनमा चिडियाखाना तथा संग्रहालयका लागि डाइनोसर निर्माण गर्ने कम्पनीमा काम गर्छन । उक्त कम्पनीले नै ट्रम्पको १६ फिट अग्लो रोबोट निर्माण गरेको हो । 

यदि ६० फिट अग्लो डाइनोसर बनाउन सकिन्छ भने १६ फिट अग्लो ट्रम्पको शौचालयमा बसेको रोबोट बनाउन किन सकिंदैन भनेर रमाइलो गर्नका लागि यस्तो गर्न लागिएको लिसमले बताए । 

ट्रम्पले शौचालयमा नै आफूलाई उत्कृष्ट विचार आउने बताएका कारण शौचालयमा बसेको उनको यो रोबोटाकृति बनाएको पनि लिसमले बताए । तर ट्रम्प विरोधी कुनै पनि बेलायती संगठनसँग आफ्नो सम्बन्ध नरहेको पनि उनले बताए । 

रोबोटाकृति बनाउँदा कतै जेल जानुपर्ने वा मृत्युदण्डको सजाय त हुने होइन भनेर साथीहरु डराएका थिए । तर यो सबै गर्ने छुट अमेरिकामा पनि रहेको आफूले बताएपछि मात्र साथीहरु तयार भएको पनि लिसमले बताए । 

बेलुनमा बेबी ट्रम्पको आकृति बनाएर ट्रम्पको अघिल्लो ब्रिटेन भ्रमणमा पनि विरोध जनाइएको थियो । यसपटकको भ्रमणमा पनि बेबी ट्रम्प बेलुन पनि देखाउने विरोधीको योजना छ ।