माधव नेपालको गृहनगरमा तालमेल नहुने

माधव नेपालको गृहनगरमा तालमेल नहुने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा ५ दलीय गठबन्धनको सम्भावना टरेको छ ।

नेकपा एसले रौतहटको सबैभन्दा महत्त्वपूर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई प्रमुख तथा रामरती चौधरीलाई उपप्रमुख सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका ७ जनाको नामावलीका बारेमा आज टुंगो लगाउँदै छ ।

‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवाश्यक निर्णय हुनेछ', चन्द्रपुर नगर सभापति मुकेश गिरीले भने । उनका अनुसार गिरीसहित सपुतबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई प्रमुखका लागि सिफारिस गरिसकेको छ । 

नेकपा एसले पनि गत बुधबारको बैठकबाट दाहाल र चौधरीलाई प्रमुख र उपप्रमुख सिफारिस गरे पनि नेकपा (माओवादी केन्द्र)ले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

‘जिल्ला तहमा ३ पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एक पटक पनि बैठक बस्न सकेको छैन’, माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने, ‘कमजोर दलहरूले प्रमुख र उपप्रमुखको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म माओवादीका प्रमुख र उपप्रमुखको नाम सिफारिस गरिसक्नेछौँ ।’ 

उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन ।