महानगर र उपमहानगरमा माओवादीले प्रमुख उम्मेदवारकाे नाम टुंग्यायो

महानगर र उपमहानगरमा माओवादीले प्रमुख उम्मेदवारकाे नाम टुंग्यायो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७९

५ दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाका नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा (माओवादी केन्द्र)को भागमा परेका २ उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ।

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेका बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि प्रमुखको उम्मेदवार टुंगो लगाएको हो ।

जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई प्रमुखका लागि सर्वसम्मत रूपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् ।

यसअघि जितपुर सिमराबाट प्रमुखका उम्मेदवार रहेका पौडेललाई पुन: प्रमुखका लागि सिफारिस गरेको हो भने घोराहीमा प्रमुखका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत: सर्वसम्मत सिफारिस भएका हुन् ।

गत स्थानिय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । ५ दलीय गठबन्धनका कारण दुवै स्थानमा विजय हासिल गर्न सक्ने माओवादीको विश्वास छ ।

माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको निर्णय केन्द्रीय कार्यालयले गर्नेछ । भरतपुर महानगरपालिकामा रेणु स्वत: प्रमुखको दाबेदार हुन् ।