एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

एसियाली खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ९, २०७९

१९औँ एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औँ एसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो ।

नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन र सुटिङमा सहभागिता जनाउने राखेपले जनाएको छ ।

राखेपका अनुसार २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापनक सहभागी हुनेछन् ।यस्तै, नवौँ राष्ट्रिय खेलकुदमा कुल ३८ वटा खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

नवौँमा सातै प्रदेश र विभागीय टाेलीसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)बाट पनि खेलाडीकाे सहभागिता रहने राखेपले जनाएकाे छ ।

राजनीतिक  खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण ३ वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज भएको थियो ।

सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले आजका लागि बोर्ड बैठक बोलाएका थिए ।

युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भएको बैठकले सो निर्णय गरेको हो ।

यसअघि अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुमा बसेको थियो । 

मन्त्रिपरिषद्को बैठकले यसअघि नै नवौँ राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियाे ।