५२ वर्षमा सम्बन्ध नवीकरण : रमेशले मैले लेख्दिएको कविता वाचन गरी प्रथम हुँदा सबै चकित !

फर्कलान् र ती दिनहरु

५२ वर्षमा सम्बन्ध नवीकरण : रमेशले मैले लेख्दिएको कविता वाचन गरी प्रथम  हुँदा सबै चकित !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  बैशाख १०, २०७९

स्मरणीय कुराहरु बिर्सन थालियो तर विस्मरणीय कुराहरु मनमा कुल बुलाएर बसेका हुने रहेछन् । तर त्यस्ता विस्मृतिमा जाने पर्ने कुराहरु झन झन ताजा भएर बस्ने र मनमा अझै पनि त्यसले पारेको घाउ बल्झने डर हुने रहेछ ।

घाउ बल्झेको भन्नु प्रतिशोधको आगो बल्ने रहेछ । सायद, त्यसै भएर होला, कतिपय परिवारमा त्यस्तो घाउका कारणले पुस्तौंदेखि शत्रुता भएको पाइन्छ । पुराण तथा इतिहासमा पनि त्यस्ता घटना पुनरावृत्ति भएको पाइन्छ । संसारमा हुने आन्दोलन, झगडा, युद्ध र मारामारका अघिल्तिर त्यही व्यक्तिगत प्रतिशोधले काम गरेको हुन्छ भनिन्छ ।

जर्मनीका निर्वाचित तानाशाह एडोल्फ  हिटलर र सोभियत संघका कम्युनिस्ट पार्टीले तोकेका लेनिनका उत्तराधिकारी तानाशाह जोसेफ स्टालिन आपसमा शत्रुतापूर्ण व्यवहार र संसारलाई कसले आफ्नो कब्जामा लिने भन्ने कुरामा प्रतिस्पर्धा थियो तर उनीहरुको एउटा अचम्मको व्यवहार देखिन्थ्यो, त्यो हो यहुदीका विरुद्ध अपराध गर्न सधैँ तम्सने ।

राज्यका तर्फबाटै यहुदी विरुद्ध जुनसुकै दण्ड दिन पनि तयार हुने । हुन त त्यसको परिणामस्वरुप युरोपबाट भागेर आएका यहुदीहरुले आफ्नो पुरानो पुण्य भूमिमा राज्य स्थापना गरे इजरायल । कतिसम्म यहुदीका विरुद्ध थिए पनि कति यहुदी मारिए सोभियत संघमा र जर्मनीमा भन्ने गणना सायद आजसम्म पनि अनुमानको भरमा भन्नुपर्ने हुन्छ ।

आम नरसंहारको मारमा परेका थिए । त्यसको कारणमा यहुदी युवतीसँगको प्रेम र बिछोड अनि त्यस्तै कुरालाई मानिन्छ जसले आजसम्म पनि त्यसको झल्को पाइन्छ । त्यसरी आम नरसंहारकाकै कारणले आज पनि नाजीप्रति जर्मनीमा घृणा छ । घृणा पनि कतिसम्म भने बर्लीनको सार्वजनिक ठाउँमा हिटलरको नाम लिएर प्रशंसा गरेमा त्यो फौज्दारी अपराधमा गणना हुन्छ ।

षट्कोणको शुभ लाभको चिन्ह प्रयोग गर्न प्रतिबन्ध छ किनभने पक्कै त्यो व्यक्ति नाजीको समर्थक हुनुपर्छ । हुन पनि नाजी कालमा कतिसम्म यहुदी प्रति दमन थियो रे भने एकपटक एउटा मेलामा कतैबाट बाघ उम्केर आयो । त्यहाँ मेलाका मानिसहरु बाघको डरले भाग्न थाले । त्यही बेलामा केही बलिया युवाहरुले बाघलाई कुटी कुटी मारेछन् र मेलामा जम्मा भएका मानिसहरुको ज्यान बचाएछन् ।

भोलि पल्ट हिटलरको नाजीको प्रोपोगाण्डा पत्रिकाले भँगेरा टाउके अक्षरमा लेखेछ- बहादुर जर्मन युवाहरु, मानिसहरुलाई बचाउन बाघलाई कुटी कुटी मारेर आफ्नो क्षमता देखाएछन् । तर समाचार आएपछि ती बहादुर युवाहरुको सर्बत्र प्रशंसा हुन थालेछ, मानिसहरुले उनीहरुलाई सम्मान गर्न थालेछन् तर नाजीलाई थाहा भएछ, ती युवाहरु त यहुदी पो रहेछन् ।

अनि भोलिपल्टको प्रोपोगाण्डा पत्रिकामा भूल सुधारमा अर्को ठुलो समाचार आएछ- हिजोको हाम्रो समाचारमा भूल सुधार गरिन्छ, बिचरा एउटा बाघलाई दश दशजना भएर निर्मम तरिकाले मार्ने अपराधीहरु त यहुदी पो रहेछन् । यस घटनाबाट के बुझिन्छ भने , यहुदी हरुसँग हिट्लर प्रशासनको कस्तो प्रतिशोध गरेछ । ग्याँस च्याम्बरमा राखेर कति लाख यहुदी र विरोधी मानिसहरु मारिए, थाहा छैन । त्यस्तै स्टालिनले पनि यहुदीहरु कति मारे, कतिलाई लखेटेका थिए । 

रामायणमा पनि त्यस्तै प्रतिशोधका कारणले लंकाको  साम्राज्यबाट महाबली रावणले पुरुषोत्तम श्रीरामबाट पराजय भोग्नुपर्‍यो, सम्पूर्ण परिवार नै त्यो प्रतिशोधको ज्वालामा डढेर स्वाहा हुनु परेको थियो । कुरो त्यति मात्र हो, जनकपुरमा रावले सीतालाई स्वयंवरमा जित्न सकेनन् । त्यो रिस उनले आफूमा साँचेर राखेका थिए होलान् र मौका पाएपछि सीता अपहरण गरे अनि श्रीरामको सौर्य ताका लागि पनि त्यो इज्जतको प्रश्न थियो ।

ऊ आफैँ पनि लेख्ने गर्थ्यो केही न केही त । वाचन गर्न नाटकीय तरिका देखाउँथ्यो हल्ली हल्ली, हात उचाली उचाली । कहिले मुड्की उचालेर त कहिले चिच्याउँदै कविता वाचन गरेर देखायो अनि भन्यो, साथी गज्जब कबिता वाचन गरिने भइयो ।

अझ भनौँ पुराणहरूका अनुसार त्यही कार्यभारका लागि नै श्री विष्णुको अवतार भएको थियो । महाभारतमा पनि धेरैवटा प्रतिशोधको एउटै गुच्छा बन्दा एउटा संस्कारित सभ्यताको नै अन्त्य भयो युद्धमार्फत । भीष्म पितामह त्यस्तै प्रतिशोधका कारणले मारिए, गुरु द्रोणको पनि हत्या प्रतिशोधका कारणले भयो, अर्थात् सम्पूर्ण महाभारतमा अन्यायका विरुद्ध न्याय माग्ने भन्दै एउटा लाखौँ वर्षमा तयार भएको सभ्यता आफैँ विध्वंश भएको पाइन्छ । 

विस्मरणीय घटनाहरु झन झन ताजा भएर आउँदा नयाँ नयाँ बदलाको घटना भएको पाइन्छ । त्यसैले महान व्यक्तिले मात्र त्यस्तो घटनालाई विस्मरणीय मान्न सक्छन् । झन हाम्रो समाजमा त्यसरी खप्नलाई क्षमता विहीन र इख नभएको व्यक्तिको रुपमा गणना गरिन्छ । जीवनमा त्यस्ता घटनाहरु सम्झनु पर्ने पनि हुन्छ किनभने ती सबै घटनाहरुको पुञ्जबाट आजसम्मको आरोह अवरोहको जीवन बनेको छ र अझ कति आरोह अवरोहको सामना गर्नु पर्ने हो थाहा छैन ।

महापुरुषहरूको जीवनबाट थाहा पाउने कुरा पनि के हो भने जस्तोसुकै अवस्थामा पनि आफूलाई अडिग राख्ने र आफ्ना लक्ष्य पूरा गर्नका लागि लागिरहने । तर लाग्छ, लक्ष्य नै तयार गर्न पनि समस्या छ र लक्ष्यको पूर्णता नै अपूर्ण समस्या हो । सोचेजस्तो जीवन हुँदैन भन्ने भनाइले के निष्कर्ष निकाल्न सकिन्छ भने जीवनको रेखा सरल बाटोमा जाँदैन , बक्ररेखामा पनि हिँड्दैन । भाग्यवादीहरुले भन्ने गरेको के हो भने सबै कुरा पूर्व जन्ममै तोकिएको हुन्छ र यो जुनीमा मात्र त्यसलाई कार्यान्वयन गर्ने माध्यमका रुपमा मानव या कुनै पनि योनिको प्राणीका भागमा परेको हुन्छ ।

जस्तो कि कुनै दुर्घटनामा कसैको मृत्यु भयो, अंगभंग भयो भने त्यसको विश्लेषण गर्ने क्रममा यसो भनिन्छ, अघिल्लो जुनीमा यस्तै हुने लेखिएको थियो,त्यसैले अहिले यस्तो भएको हो । भौतिकवाद चिन्तनमा भने दुर्घटनाको आधार खोजिन्छ र त्यसकारणले यस्तो भएको रहेछ भनेर त्यसो नहुनका लागि सुधारका प्रयासहरु गरिन्छ । एउटै घटनामा भिन्न दृष्टिकोण किन हुन्छ ?

सायद, स्थितिको विश्लेषण गर्ने तरिकामा फरक पर्न सक्छ । भाग्य वादको कुरा त्यहाँ बढी आउँछ जहाँ कतैबाट पनि नियन्त्रण गर्न र कारण पत्ता लगाउन सकिँदैन । कतिपय शल्य चिकित्सकहरुले भन्ने कुरा नै के हो भने, हामीले कोसिस गर्ने हो, सकेसम्म गछौं, जे हुन सक्छ गछौं तर परिणाम अर्कैको हातमा छ । अर्थात् त्यो अदृश्य शक्ति छ जसले अन्तिम निर्णय गर्छ । हामीले अर्थ लगाएको यो पृथ्वी अर्थात् मृत्यु लोकमा अन्तिम सत्य मृत्यु हो । जन्म बरु कसरी कसरी भवितव्य पनि हुन्छ तर जसरी पनि हुने भनेका मृत्यु हो । कतिले मृत्युका बारेमा भविष्यवाणी गर्छन् तर ती सबै मिल्दैनन् पनि , कतिको मिल्छन् पनि । तर एउटा सत्य के हो भने ढिलो, चाँडो मृत्यु अवश्यंभावी छ । 

कति विस्मरणीय कुराहरु सम्झनु भन्दा पनि मैले एउटा साथीका बारेमा बेला बेलामा सम्झना आउँछ । रमेशचन्द्र गौतम । जनकपुरको राम स्वरुप रामसार डिग्री कलेज, जनकपुरको साथी । ऊ कला विषयमा भर्ना भएको थियो आइ ए मा रोल नम्बर २ । मेरो मावली बा , साहिँला बा केशव बराल रोल नम्बर १ । ऊ रोल नम्बर २ । म आइ कमको रोल नम्बर ६ । त्यो बेलामा वर्ष भनेको इन्टरमिडियट को पहिलो वर्ष, दोस्रो वर्ष भनेको इन्टरमिडियट को दोस्रो वर्ष, तेस्रो वर्ष भनेका स्नातक तहको पहिलो वर्ष हरु चौथो वर्ष भनेको स्नातक तहको अन्तिम वर्ष ।

स्नातक तह दुई वर्षको मात्र हुन्थ्यो । म र रमेश एकदम मिल्ने साथी । ऊ धनुषाको पुरानो बासिन्दा, उसका पिता पञ्चायतको राजनीतिमा जिल्ला स्तरको नेता मानिनु हुन्थ्यो तर रमेश चाहिँ हामीसँग नेपाल विद्यार्थी संघको युनियन सदस्यमा निर्वाचित भएको साथी थियो । उसको रमाइलो कस्तो थियो भने जहिले मसँग भेट्दा पनि भन्थ्यो,  हरि, तेरो र मेरो भेट हिजोमात्र पेरिसमा भएको थियो, अनि कसरी आजै आइ पुगिस् त जनकपुर ?

अनि म पनि भन्थेँ, एउटै प्लेनमा आएको हो नि, तैँले पो वास्ता गरिनस् । उसले रमाइलो गर्थ्यो तर यस्तो राजदूत हुने कुरा, विदेशबाट नेपाल आउने कुरा, विदेशमा घुमेको कुरामा । हँसाउँथ्यो, जनकपुरको पुरानो बासिन्दा भएकाले मैथिली भाषाको प्रभाव प्रशस्तै थियो बोलीमा, लवजमा । ऊ पहिलो पटकमा नै आइ ए पास भयो र बी ए मा पढ्न थाल्यो, मैले आइ कम पास गर्न अरु दुई वर्ष पर्खनु परेको थियो ।

तर मेरो र उसको मित्रता यति गाढा थियो कि ऊ मलाई भेट्न आइरहन्थ्यो । एकदिन कलेजका तर्फबाट कविता प्रतिस्पर्धामा जाने भएछ र उसले आफ्नो नाम टिपाएछ कलेजमा अनि भनेर आएर भन्छ- यार, आज तैँले मेरो इज्जत जोगाउनै पर्छ , एउटा जस्तो भए पनि कविता लेख्दे है । मैले पनि एउटा त्यो बेलामा लाक्षणिक रुपमा प्रजातन्त्रको आवश्यकता छ, त्यो एकदिन आउँछ भन्ने आशयको करिब १२ लाइन जत्तिको गद्य कविता तयार गरेँ जसलाई बारम्बार वाचन गर्न सिकाए ।

ऊ आफैँ पनि लेख्ने गर्थ्यो केही न केही त । वाचन गर्न नाटकीय तरिका देखाउँथ्यो हल्ली हल्ली, हात उचाली उचाली । कहिले मुड्की उचालेर त कहिले चिच्याउँदै कविता वाचन गरेर देखायो अनि भन्यो, साथी गज्जब कबिता वाचन गरिने भइयो ।

सायद, त्यो कविता वाचन गर्ने प्रतिस्पर्धा सुहृद पुस्तकालय, ब्रह्मपुरीमा थियो, ‍ म पनि ठिक त्यसकै नजिकमा बस्थेँ भान्दाइ  ईश्वरी दाहालसँग बाँसबारी छाला जुत्ता कारखानाको कार्यालयको आवास गृहमा । रघुनाथ कोइरालाको घरमा । मैले लेखेको कविता लिएर गयो, कविता वाचन गरेछ, प्रथम भएछ र पुस्तक, नोट बुक, पेन्सिल, कलमसहितको पुरस्कार र माला लगाएर एकछिनमा नै हाँस्दै आएछ अनि बाहिरैबाट लेखेको कविता वाचन गर्दै आयो र भन्यो, साथी म त कविता प्रतियोगितामा प्रथम भएँ । पछि सुनेँ, उसले यसरी कविता वाचन गरेछ कि त्यहाँ सबै नै चकित भएछन् कस्तो कवि रहेछ, छुपेरुस्तम ।

उसले मलाई भन्यो, आजको मेरो इज्जत जोगाउने तैँ होस् । यो पुरस्कारको हकदार तैँ होस् । हामीमा त्यो मित्रता रहे पनि समय काल क्रममा ऊ जनकपुरमा नै काम गर्न थाल्यो, म काठमाडौँमा आएर शिक्षा विषय पढेँ, शिक्षक भएँ, पत्रकारितामा आफूलाई भिजाउन थालेँ । ऊ पछि चिया कम्पनीको माथिल्लो पदमा पुगेको थाहा पाएँ । यस्तै थियो ।

तर केही दिन पहिला मैले उसको फेसबुकमा साथी बनाउन दिएको अनुरोध देखेँ । तत्कालै अनुरोध स्वीकार गरेँ र उसलाई अनलाइन देखेँ । अनि मैले पनि मेसेन्जर मा कुरा गर्नका लागि उसलाई कल गरेँ, जब उसले उठायो अनि मैले भनेँ, यार कहिले आइस् त पेरिसबाट । न हेलो, न नमस्कार, सन्चो बिसन्चो, एकैपटक करिब ५२ वर्ष अघिको सम्झनाको पोको फुकाएर कुरा गर्दा उसले पनि भन्यो- अनि तँ त बेलायतमा छु भन्थिस् त कहिले आइस् । यसरी हाम्रो पाँच दशक पहिलेका सम्बन्धलाई नवीकरण गर्‍यौँ ।

सायद यो मिठो सम्झना जस्ताको तस्तै रहेछ । अनि उसले पनि भन्यो, हेर न ! हामी जिस्कन्थ्यौँ तर साँच्चै म अस्ट्रेलिया पनि गएँ, अमेरिका पनि गएँ र संसारका ती ठुला भनिएका सहरहरुमा बसेँ, घुमे र कतिपय देशहरुमा अरु नै कारणले घुम्न चाँजो परेको थियो । अहिले पनि मसँग भिसा छ बाहिरको । उपदानबाट आएको पैसाले काठमाडौँमा घर बनाएँ  यतै बसेको छु ।

मैले पनि आफ्नो बासस्थान, यसबीचमा भएका घटनाहरुको संक्षिप्त कुरा बताएँ तर उसको स्वभावमा कुनै फरक पाइँन । उस्तै हाँसी ठट्टा गर्ने बानी रहेछ अझै । अनि मलाई सोध्यो पनि तेरा काका केशव कता छन् ? बरु केशव जीसँग जनकपुरमा भेट हुन्थ्यो पहिले त । अनि मैले भनेँ, मेरा काका बालकोटमा बस्नुहुन्छ । भन्दै थियो एकदिन भेट्नु पर्छ है हामी पुराना साथीहरु छिटै । मौका तर मिलेको छैन यी हरफ लेख्दासम्म ।

तर भेटिएला पक्कै यही जुनीमा । यस्ता साथीहरु पनि यही जीवनमा कमाइएछ । अनि विस्मरणमा ला नै पर्ने साथीहरुको भने झन बढी नै सम्झना आउँछ किनभने उनीहरुकै कारणले कच्चा फलाममा पाइन हालिने रहेछ । इस्पात हुनका लागि त फलाम आगोले पोल्नु जरुरी छ, पानी खन्याइनु जरुरी छ र पिटिनु पनि जरुरी छ सायद ! एउटा फलामको धाउ, कच्चा फलामले धेरै अवरोध, ताप , मार खाएर मात्र खुकुरी बन्छ भन्थे, हो रहेछ । अपुरो जिन्दगीमा दुःख र दर्दको पनि अनुभव हुन पाएको छ, सायद त्यही भएर होला, बिर्सने मन भएर पनि सधैँ  सधैँ सम्झनामा आउने रहेछ त्यस्ता कुराहरु ।  क्रमशः