नेपाल वायुसेवा निगम:  काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

नेपाल वायुसेवा निगम:  काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७९

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले २०७८ बैशाख ९ देखि सुरु गरेको जनाएको छ । 

नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँच बजे प्रस्थान गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि उडान अनुमति प्राप्त भए पश्चात् उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएकोमा नयाँ गन्तव्यको रुपमा साउदी अरेबियाको रियाद बनेको छ ।

 यससँगै अब ८ मुलुकका १० वटा गन्तव्यहरुमा निगमले उडान सञ्चालन गर्ने भएको छ ।  उक्त गन्तव्यहरु मध्ये निगमले दिल्लीमा दैनिक २ वटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरुमा साप्ताहिक रुपमा क्रमशः मुम्बई, बैङ्लोर,  क्वालालम्पुर र बैंककमा ३-३ वटा, दोहामा ५, दुबईमा ५, हङकङमा १ र नारितामा ३ वटा उडान सञ्चालन गर्दै आएको छ । त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिट्टै दैनिक रुपमा सञ्चालन गर्ने तयारी रहेको निगमले जनाएको छ । 

उल्लेखित गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरूमा हाल निगमको सिट अकुपेन्सी ८० प्रतिशत भन्दा बढी रहेको निगमको दाबी छ