राजु अग्रवाल : तबला बजाएबापत घरबाट निकालिएका स्वर सम्राटका साहुजी

राजु अग्रवाल : तबला बजाएबापत घरबाट निकालिएका स्वर सम्राटका साहुजी

आशिष पौडेल  |  अन्तर्मन्थन  |  बैशाख १०, २०७९

उहाँका बुबा कपडाको व्यापारी । तर, उहाँलाई भने व्यावसाय मनपरेन । उहाँको जन्म २०१२ सालमा काठमाडौंको भेडासिङमा भएको हो । भन्नुहुन्छ, ‘स्वर सम्राट नारायण गोपालको जन्मस्थान पनि त्यही हो ।’ भेडासिङको नेवारी टोलमा हुर्किएकाले होला, उहाँलाई नेवारी मजाले बोल्न आउँछ । 

उहाँको बाल्यकाल पनि बडो अनुशासित तरिकाले बित्यो । अहिलेको जस्तो पक्कै थिएन । टीभी, मोबाइलको कल्पनासमेत थिएन । भेटिने त पर जाओस् । 

उहाँको बाल्यकाल पनि साथीभाइसँग कबड्डी, डन्डी-बियो, गुच्चा खेलेरै बितेको हो । त्यसबेला टोलटोलमा भजन हुन्थ्यो र एकअर्कालाई बाँडेर खाने, सहयोग गर्ने किसिमको संस्कार थियो । 

०००

उहाँको प्रारम्भिक शिक्षा हालको शहीद शुक्र माविमा विसं २०१८ सालमा  भएको थियो । त्यसबेला नेवारी भाषा अनिवार्य थियो । अनि, नेवारी पढाउने गुरुआमा शहीद शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्तादेवी मल्ल हुनुहुन्थ्यो । नेपाल आदर्शमा माविमा मुख्य विषय नेवारी थियो भने अंग्रेजी ऐच्छिक विषय । त्यसबेला नेवारीबाहेक अन्य भाषामा कुरा गरेमा ५ पैसा जरिमाना तिर्नुपर्थ्यो । घरबाट उहाँलाई २ पैसा दिन्थे । अनि, झुक्किएर अरू भाषा बोलियो भने कहाँबाट बाँकी ३ पैसा ल्याउनु भनेर पनि उहाँ नेवारी बोल्नुहुन्थ्यो । उहाँ कक्षा ६ सम्म शहीद शुक्र माविमा पढ्नुभयो । 

कक्षा १-२ मा करिब १५-२० जना विद्यार्थी हुन्थे, जसमा छात्राको सहभागिता करिब २५ प्रतिशत अर्थात् ५-६ जनाको हुने गर्थ्यो । डेस्क-बेन्चको व्यवस्था थिएन । बस्नका लागि घरबाट बोरा लिएर जानुपर्थ्यो । ३-४ कक्षामा गएपछि भने डेस्क-बेन्चको व्यवस्था थियो । बस्नलाई जो अगाडि आउँथ्यो, ऊ नै अगाडि बस्ने चलन थियो । 

कक्षा ६ पछि भने उहाँ नेपाल आदर्श मावि गणबहालमा विसं २०२४ मा जानुभयो । नेपाल आदर्शमा उहाँले ९ कक्षासम्म पढ्नुभयो । नेपाल आदर्शमा महिलाको सहभागिता केही अधिक थियो शहीद शुक्रको दाँजोमा । 

कक्षा १० भने उहाँले दरबार हाइस्कुलमा पढ्नुभयो । दरबार हाइस्कुलको पढाइ भने कडा थियो । ठीक समयमा आउने-जाने गर्नुपर्थ्यो । एसएलसी उहाँले २०२९ सालमा दरबार हाइस्कुलबाट दिनुभएको हो । उहाँको ब्याजमा करिब ३० जना थिए होलान् । १२-१५ जना मात्र पास भएजस्तो लाग्छ अग्रवाललाई । उहाँ भने २०३१ सालमा मात्र एसएलसी पास हुनुभएको हो ।

उहाँले कलेज भने पब्लिक युथमा पढ्नुभएको हो । 

०००

नेपाल आदर्शमा पढ्दा त्यहाँ अतिरिक्त क्रियाकलाप पनि हुन्थे । उहाँलाई भने सानैदेखि संगीतमा रुचि भएका कारण सांगीतिक कार्यक्रममा भाग लिनुहुन्थ्यो । टोलटोलमा बिहेका बेला जन्त जाँदा राति बाजा बजेको सुन्दा पनि राजु थाहै नपाई निद्राबाट जुरुक्क उठेर बाटोमा आउनुहुन्थ्यो । कुनै एउटा अदृश्य शक्तिले तानेर उहाँलाई बाटोसम्म ल्याउँथ्यो । यो नै उहाँको संगीतप्रतिको लगाव र उहाँकै भनाइमा जन्म जन्मान्तरको लेखनी हो । 

एक पटक  नेपाल आदर्श माविमा मन्त्रीहरूको सवारी हुँदा उहाँले राष्ट्रिय गीत तथा स्वागत गान प्रस्तुत गर्नुभएको थियो । मुख्य विषय संगीत अनि तबला भए पनि बेलाबखत उहाँले यस्ता अवसरमा गाउने पनि गर्नुहुन्छ । 

२०२६ सालमा नै उहाँ बालकलाकारका रूपमा रेडियो नेपालमा प्रवेश गर्नुभएको हो । उहाँ त्यसबेला संगीतका लागि नभएर गीत गाउन जाने गर्नुहुन्थ्यो । त्यहाँ उहाँले संगीत सिक्ने मौका पनि पाउनुभयो । उहाँले संगीतकार चन्द्रराज शर्माको संयोजनमा बजाउनुभएको थियो । गायक भने अरविन्द मालाकार हुनुहुन्थ्यो भने गीत थियो ‘नजिक भएर पनि भेटघाट नै कहाँ भयो र, उज्यालो भए पनि उज्यालो नै कहाँ भयो र !’ यो नै उहाँको पहिलो संगीतको प्रसारण रह्यो । 

०००

उहाँ पेसागत रूपमा तबला वादक भएको पछि मात्र हो । उहाँले एक पटक दरबारमा राजा महेन्द्रलाई पनि गीत गाएर सुनाउनुभएको छ । त्यसबेला उहाँलाई बालमन्दिरबाट त्यहाँ पठाइएको थियो । 

२०२६ सालमा उहाँ रेडियोमा प्रवेश गर्दा कुनै पारिश्रमिक थिएन, नियुक्ति थिएन । सिक्ने मौका मात्र थियो त्यसबेला । उस्तादहरूले उहाँलाई सिक्ने मौका भने राम्रै दिए । बजाउँदै जाँदा केही उस्तादहरूले डाइरेक्टरलाई यो भाइले राम्रो बजाउँछ भनेर उहाँको सिफारिस गरिदिए । अनि, उहाँलाई एउटा गीतमा बजाएको ५ रुपैयाँ पाउने गरी रेडियो नेपालले चिठी  दियो । यो २०२८ सालको कुरा हो । 

गीत 'ओके' भएपछि मात्र नाम चढ्थ्यो र पैसा पाउने स्थिति हुन्थ्यो सबै संगीतकारको । उहाँले त्यसबेला ७०-७५ रुपैयाँसम्म पाउनुहुन्थ्यो महिनाको । त्यो भनेको धेरै ठूलो रकम थियो । १० पैसा कप चिया थियो । साझा बसमा २० पैसाले घुम्न पाइन्थ्यो । 

पहिलो कमाइ केमा खर्च भयो भन्ने ठ्याक्कै हेक्का नरहे पनि यसो साथीभाइसँग होटलमा चिया खाने अनि लुगा किन्ने र कसैले माग्दा दिएको सम्झना छ अग्रवाललाई ।

०००
पढाइमा डिप्लोमा पुगेपछि इलाहबाद युनिभर्सिटीबाट उहाँले संगीततर्फ तबलामा संगीतप्रभाकर पास गर्नुभयो । उहाँका गुरुहरू होमनाथ उपाध्याय, दिलीपनाथ योगी । यी गुरुहरूले उहाँलाई तालको मात्र नभएर रागको विषयमा समेत ज्ञान दिनुभएका कारण उहाँले गाउन पनि जान्नुभएको रहेछ । 

त्यसबेलाको संगीतको सम्झना गर्दै उहाँ अहिलेको संगीतलाई केवल कागजको फूलमा नक्कली वासना छरिएको मान्नुहुन्छ । र, त्यो वासना उडिसकेपछि त्यो कागजमा सीमित हुन्छ जस्तो लाग्छ उहाँलाई । 

अहिलेको गीतमा मेलोडी नै नभएको उहाँको गुनासो छ । यदि मेलोडी नै छैन भने त्यो शरीरमा प्राण नै नभए जस्तो हो भन्ने उहाँको बुझाइ छ ।   

इन्द्रजात्राको अवसरमा इन्द्रचोकमा मञ्च बनाएर भैरवनाथको अगाडि सांगीतिक कार्यक्रम हुन्थ्यो । ७ दिनको कार्यक्रममा एक दिन विशेषगरी मधेसका समुदायको लागि कार्यक्रम हुन्थ्यो । त्यहाँ उहाँलाई उहाँका बुबा तथा दाइले हात समातेर लैजानुहुन्थ्यो । उहाँ त्यहाँ टाकटुक तबला बजाउन थाल्नुभयो । जहाँ उहाँले टाकटुक सुरुवात गर्नुभयो, त्यहाँ उहाँले ३२ वर्ष बजाउनुभयो । 

०००

एक दिन पिताजीले उहाँलाई अब व्यापार गर्, यो तबला बजाएर केही हुँदैन भन्नुभयो । होइन, तबला बजाउन नछाड्ने हो भने घरबाट निस्किएर तबला लिएर जा भन्नुभयो । 

एक पटक रेडियो नेपालको डाइरेक्टरको घरमा पूजा थियो । उहाँ पनि जानुभएको थियो । उहाँले बजाएको देखेर यो भाइ के गर्छ भनेर सोध्नुभयो । रेडियोमा नै काम गर्छु भनेपछि बल्ल उहाँको जागिर अस्थायी भयो । यो २०३५ सालको कुरा हो । पछि उहाँ स्थायी हुनुभयो । उहाँले २०७० सालमा वरिष्ठ संगीत संयोजन अधिकृत पदबाट अवकाश पाउनुभएको हो ।

उहाँले संगीत र तबलालाई माया मार्न सक्नुभएन । आजको झण्डै ४० वर्ष अगाडि उहाँ एक थान तबला लिएर रातको १२ बजे घरबाट निस्कनुभयो । बस्ने, खाने ठेगान थिएन ।अनि रत्नपार्कमा आएर बस्नुभयो । तर, साथीभाइको मद्दतले त्यो अप्ठ्यारो अवस्था धेरै रहेन । उहाँसँग एसएलसीको फर्म भर्ने १५ रुपैयाँसमेत नभएर साथीभाइले पैसा दिएर फर्म भर्नुभएको छ । 

तीनधारा पाठशालाका अधिवक्ता राम गोपाल, जो भजनका प्रेमी हुनुहुन्थ्यो, उहाँले अग्रवाललाई निकै मद्दत गर्नुभयो । केही दिन उहाँको घरमा बस्नुभयो । उहाँसँग भक्तपुरलगायत पाटनका कार्यक्रममा पनि अग्रवाल सहभागी हुनुभयो । 

एक पटक रेडियो नेपालको डाइरेक्टरको घरमा पूजा थियो । उहाँ पनि जानुभएको थियो । उहाँले बजाएको देखेर 'यो भाइ के गर्छ ?' भनेर सोध्नुभयो । 'रेडियोमा नै काम गर्छु' भनेपछि बल्ल उहाँको जागिर अस्थायी भयो । यो २०३५ सालको कुरा हो । पछि उहाँ स्थायी हुनुभयो । उहाँले २०७० सालमा वरिष्ठ संगीत संयोजन अधिकृत पदबाट अवकाश पाउनुभएको हो ।

उहाँले दरबारमा तथा सेनामा पनि धेरै कार्यक्रमहरू गर्नुभएको छ । उहाँले प्रबल गोरखा दक्षिण बाहु, वीरेन्द्र-ऐश्वर्य पदक, गद्दी आरोहण रजत पदकलगायतका पुरस्कार साथै रेडियो नेपाल र अन्यत्रबाट समेत उहाँले थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । 

२०१९ सालतिर स्कुल पढ्दा उहाँहरू हाफ टाइममा स्कुलसँगै नास्पातीको रूखमा चढेर नासपाती चोर्दै, झार्दै हुनुहुन्थ्यो । बूढीआमैले लट्ठी लिएर लखेट्नुभयो । तर, घरबेटी बूढाले 'किन चोर्नुपर्‍यो, मागे भइहाल्यो नि !' भनेको उहाँलाई आजपर्यन्त सम्झना छ । 

उहाँ बिहान ४ बजे उठेर पशुपति घुम्नुहुन्छ । योग, आसन तथा प्राणायाम गर्नुहुन्छ । मादक पदार्थ, धुम्रपान, सुर्तीलगायतका अम्मलबाट टाढा हुनुहुन्छ । 

०००
उहाँले स्वर सम्राट नारायण गोपालको स्वर्णिम सन्ध्यालगायत अन्य थुप्रै गीतमा पनि तबला बजाउनुभएको छ । मेहदी हसन, गुलाम अली, पिनाज  मसानी,  रुना लैलालगायत चर्चित गजल गायकका कार्यक्रममा पनि बजाउनुभएको छ । 

गुलाम अलीसँग रेडियो नेपालमा भएको रेकर्डिङमा पनि उहाँले नै तबला बजाउनुभएको हो । अन्य वरिष्ठ कलाकारमा शुभबहादुर, मदन परियार आदि पनि हुनुहुन्थ्यो । 

गुलाम अलीको कार्यक्रममा तबला बजाउँदा उहाँलाई गुलाम अलीले 'तपाईँले बजाएबापत कति पैसा पाउनुहुन्छ ?' भनेर सोध्नुभयो । उहाँलाई अलमल भयो, के भन्ने के नभन्ने । 

अनि, साथीहरुसँग यसो सल्लाह गर्दा अलिक बढाएर भन् भन्ने भयो । उहाँले बढाएर महिनाको ३०० रुपैयाँ पाइन्छ भन्नुभयो । 'पाकिस्तान जाने भए गायक पनि बनाइदिन्छु, त्यहाँ पैसा पनि राम्रो पाइन्छ' भनेर गुलाम अलीले भनेको उहाँको स्मरणमा छ । कतै भागेर पाकिस्तान जाला भनेर उहाँलाई घरमा ताला लगाएको पनि अनौठो स्मरण छ उहाँको ।

सांगीतिक कार्यक्रमका दौरान उहाँ विश्वका विभिन्न शहरमा जानुभएको छ । तर, जब जहाजबाट झरेर एयरपोर्टमा काठमाडौं झर्नुहुन्छ, त्योजतिको आनन्द र शान्ति उहाँलाई कहीँ पनि लाग्दैन । 

बजाउँदा बजाउँदा उहाँलाई यस्तो लाग्थ्यो- किन २४ घण्टाको मात्र दिन-रात हुन्छ । त्यसभन्दा धेरै समय भए पनि बजाइरहन पाइन्थ्यो भन्ने लाग्छ उहाँलाई । त्यसबेला रोग, शोक अनि भोक केही रहँदैन थियो ।  नारायण गोपालले उहाँलाई कहिल्यै पनि राजु भनेर सम्बोधन गर्नुभएन । सधैँ 'साहुजी' भनेर सम्बोधन गर्नुभयो । 

२०४२ सालमा नेपाल टेलिभिजन स्थापनापश्चात् १५ मिनेटको परीक्षण प्रसारणमा उहाँको तबला वादन रहेको छ ।  

आजभन्दा २५ वर्ष अगाडि बेलायतका तर्फबाट वीरेन्द्र सभागृहमा वर्ल्ड फास्ट म्युजिक भनेर एउटा आयोजना गरिएको थियो । छन‍ोटका लागि त्यहाँ सबैले भाग लिए । तर, त्यसमा उहाँको नाम मात्र छनोट भयो । त्यस अवसरमा उहाँले बेलायतका कलाकारसँग बजाउने मौका पाउनुभयो । यतिको फास्ट म्युजिक बजाउने मौका उहाँले कहिल्यै पनि पाउनुभएको थिएन । 

०००

नारायण गोपालको सन्दर्भमा उहाँको आफ्नै भनाइ र बुझाइ छ । उहाँलाई लाग्छ- जति पनि माथिल्लो स्तरमा राम्रो गायक थिए, ती स्वाभिमानी थिए । तर, मानिसले त्यसलाई अभिमानी ठानिदिए । 

गीत गाउनु अगाडि कोही संगीतकारले ल्याएको संगीत नारायण गोपाल सुन्नुहुन्थ्यो । मनपरे पर्‍यो, नभए फिर्ता । 

नारायण गोपालको रेकर्डिङको ३-४ दिन अगाडि उहाँहरूलाई अभ्यासका लागि बोलाइन्थ्यो । पहिले लाइभ रेकर्डिङ हुन्थ्यो । एक जना वाद्य वादकले बिगार्‍यो भने फेरि रेकर्डिङ गर्नुपर्थ्यो । त्यसबेला स्पुल टेपमा कम्तीमा १०-१२ टेक हुन्थ्यो । अनि, त्यसमा छानेर मात्र 'ओके' हुन्थ्यो र बल्ल प्रसारणमा जान्थ्यो । बिहानदेखि बेलुकासम्म बजाएर पनि ओके भएन भने पैसा नै पाइँदैनथ्यो । 

त्यसबेला कामका दौरान भने एक प्रकारको मौन नै हुन्थ्यो । कोही कसैसँग बोल्नै पाइँदैनथ्यो । जब काम सकेर चिया खाने बेला हुन्थ्यो, त्यसला मात्र हँसी मजाक चल्थ्यो । 

बजाउँदाबजाउँदा उहाँलाई यस्तो लाग्थ्यो- किन २४ घण्टाको मात्र दिन-रात हुन्छ । त्यसभन्दा धेरै समय भए पनि बजाइरहन पाइन्थ्यो भन्ने लाग्छ उहाँलाई । त्यसबेलामा रोग, शोक अनि भोक केही रहँदैन थियो । 

नारायण गोपालले उहाँलाई कहिल्यै पनि राजु भनेर सम्बोधन गर्नुभएन । सधैँ 'साहुजी' भनेर सम्बोधन गर्नुभयो । 

मच्छिन्द्रबहालमा बेलुका भएपछि भजन तथा शास्त्रीय संगीत हुन्थ्यो । नारायण गोपाल त्यहाँ गाउन आउनुहुन्थ्यो । उहाँहरू बसेर बजाउनुहुन्थ्यो । टोलमा नारायण गोपालको गाना सुन्न पूरा मेला लागेझैँ हुन्थ्यो । विदेशी पर्यटक तथा महिलाहरूको विशेष भिड हुने गर्थ्यो नारायण गोपाललाई सुन्नका लागि । विदेशीले डलरसमेत फ्याँक्थे नारायण गोपालको गायनमा । यो भनेको २०२८ सालको कुरा हो । 

त्यसबेलाका उस्तादहरूले 'यो यसरी बजाऊ, यसरी बजाउनुपर्छ' भनेर उहाँलाई सिकाउँथे । 

नारायण गोपाललगायत वरिष्ठ गायकको गायनमा विशेष भूमिका भनेको संगीत संयोजकको हुने गर्थ्यो । संयोजकले नै 'यहाँ यसरी बजाउने, यो ताल र यहाँ यसरी उठाउने' भनेर सिकाउने गर्नुहुन्थ्यो । 

०००

पहिले टोलटोलमा नेपाल भाषाको कार्यक्रम हुन्थ्यो । त्यसमा नेपालका पुराना उस्तादहरू आउँथे । उहाँ पनि यसो सुन्न जानुहुन्थ्यो । उहाँलाई पनि यस्ता उस्ताद भएको कार्यक्रममा आफ्नो नाम लिएर कसैले बोलाइदिए हुन्थ्यो जस्तो लाग्छ । अनि बोलाएर स्टेजमा गएको भोलिपल्ट 'ओहो ! तपाईँले कस्तो बजाउनुभयो ?' भन्नेहरू हुन्थे । त्यसले उहाँलाई यति खुसी दिन्थ्यो कि रातभर निद्रा नै लाग्दैनथ्यो । 

पहिलो पछिमा, मृदंगा तथा कवँ  खीः,  टिंचु जस्ता बाजाहरूको प्रयोग हुन्थ्यो । गितारलगायतका वाद्य यन्त्रको प्रयोग हुँदैनथ्यो । यस्ता बाजाहरू बज्नेबित्तिकै त्यसको मिठास छुट्टै हुन्थ्यो । त्यसले थाहा हुन्थ्यो- वास्तवमा संस्कृति भनेको यस्तो चिज हो । 

०००

पहिलेपहिले तबलामा दायाँ र बायाँ एकै द्विविभाग एकै हुन्थ्यो । पछि मृदंगमार्फत यसलाई छुट्याएर दायाँ र बायाँ गरियो अर्थात् तबलाको जन्म भयो । मृदंगमा ध्रुपद गायनहरू बढी हुने गर्छन् । 

ध्रुवजीले लेखेको पदमा सांगीतिक रागमा आधारित चौतालमा आधारित भएर गाउने भएको हुनाले ध्रुव पद अर्थात् ध्रुपद भनिएको हो । त्यो एकदमै गाह्रो थियो । यसलाई नाभीस्थानबाट गाउनुपर्ने हुन्थ्यो । यसका लागि सिकेको कुशल गायक नै हुनुपर्छ । 

तबला बलले कहिले पनि बज्दैन । एउटा तरिकाले मात्र तबला बज्छ । दायाँ र बायाँको सन्तुलन नभई तबला राम्रो बज्दैन । एउटा मात्र बढी निस्क्यो भने टाउको दुख्ने हुन्छ ।

त्यसलाई सन्तुलनले बजायो भने मात्र मिठो सुनिने गर्छ । त्यसमा धा ते ते ना ते ते जति बोलहरू हुन्छन्, प्रायः सुगम संगीतमा दादरा, रूपक, झपताल आदिमा यसको प्रयोग हुन्छ । 

ठूलो तबला प्रायः शास्त्रीय गायनका लागि प्रयोग हुन्छ । यसमा लो स्केलबाट मिलाइन्छ । यसमा सी तथा बीमा मिलाइन्छ । अहिले साना तबलाहरू एफको तबला तथा माथिलाई छोटो मुख चाहिन्छ भने तललाई ठूलो मुख चाहिन्छ । बायाँ तबला बजाउन चोरी औँला र माझी औँलाको प्रयोग हुन्छ । सुरुसुरुमा त आवाज नै आउँदैन । विस्तारै आवाज आउन थाल्छ । दायाँ तबलामा भने दायाँ हातका बूढी औँलाबाहेक ४ वटा औँलाको प्रयोग हुन्छ ।