गठबन्धनमा कांग्रेसको हठ: 'आफूहरूले भोट हालिदिएर किन जिताउने ?'

लोकसंवाद टिप्पणी

गठबन्धनमा कांग्रेसको हठ: 'आफूहरूले भोट हालिदिएर किन जिताउने ?'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७९

देश स्थानीय तहको निर्वाचनमा केन्द्रित छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार तय गर्न दलहरु आन्तरिक गृहकार्य जुटि रहेका छन् । दलहरुबीच स्थानीय तहमा निर्वाचन जित्न भइरहेका गठबन्धन र दलहरूभित्रको आन्तरिक किचलोका कारण अझै सबै स्थानमा उम्मेदवारको टुंगो लागिसकेको छैन ।

प्रमुख दलहरुले महानगर र उपमहानगरमा उम्मेदवार अन्तिम टुंगोमा करिब करिब पुगेका छन् । केही दलले उम्मेदवार टुंगो लगाए पनि सबै दलले उम्मेदवार चयन गर्न समेत सकेका छैनन् । स्थानीय तहमा सत्ता गठबन्धन र प्रतिपक्षी एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

तर सत्ता गठबन्धनमा पदीय भागबन्डा लाई लिएर चर्को असन्तुष्टि देखिएको छ । कांग्रेसमा मुख्य समस्या नै गठबन्धन गर्ने तर गठबन्धनमा रहेका दललाई कुनै पनि पदमा उम्मेदवार नदिने  प्रवृति देखिएको छ ।

कांग्रेसका नेताहरु केन्द्रदेखि स्थानीय तहसम्म चुनावमा गठबन्धनको कुरा गर्ने तर सबै स्थानीय तहमा दाबी गरिरहँदा धेरै जिल्ला तथा नगरपालिकाहरुमा गठबन्धन भत्किन पुगेको छ । कतिपय स्थानीय तह गठबन्धनका रहेका अन्य दलका भागमा परेपछि कांग्रेस नेताहरुले पार्टीबाट विद्रोह गर्ने, नेतृत्वलाई दबाब दिने र सत्ता गठबन्धन बाहिरका दलसँग साँठगाँठ समेत गरेका छन् ।

सभापति देउवा भरतपुर महानगरपालिकाको उपमेयरमा महानगर सभापति चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउन चाहन्छन् । तर रामचन्द्र पौडेल भने सूर्यकान्त घिमिरेलाई टिकट दिनुपर्ने पक्षमा छन् ।

सिन्धुपाल्चोकमा कांग्रेसले सत्ता गठबन्धनसँगै समानान्तर रुपमा एमालेसँग वार्ता गरेपछि गठबन्धनको बैठक भाँडिएको छ भने झापाको कचनकवल गाउँपालिकामा राप्रपा हराउन एमाले र कांग्रेसबीच गठबन्धन भएको छ ।

जबकि केही समयअघि बसेको सत्ता गठबन्धनको बैठकले सबै स्थानमा तालमेल गर्ने र त्यस्तो नभएमा सत्ता गठबन्धन बाहिरका दलसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो । यो निर्णय विपरीत कांग्रेस एमाले राप्रपालाई हराउन गठबन्धनको निर्णय विपरीत घाँटी जोड्न तयार भएका हुन् । यसले आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई झन ठूलो खतरा देखिएको छ ।

कांग्रेसलाई यसअघि आफूले नजितेका स्थानमा गठबन्धन भएमा आफूले जितिन्छ भन्ने भन्दा पनि गठबन्धनमा रहेका दलका उम्मेदवार भएका स्थानमा 'आफूहरुले भोट हालिदिएर किन जिताउने ?' भन्ने सन्देश पर्बाह गरिरहेको छ । 

 यसले सत्ता गठबन्धनको आगामी स्थानीय तह निर्वाचनको मत परिणाममा फरक ल्याउने खतरा बढकJ छ । सत्ता गठबन्धन एक ढिक्का भएर जाँदा ठूलो सफलता हात पर्ने थियो । तर कांग्रेसको हठ का कारण सत्ता गठबन्धनले क्षति भोग्नुपर्ने खतरा देखिएको छ। यस्तो भयो भने सत्ता गठबन्धन प्रतिको भरोसा टुट्ने सन्निकटमा पुगेको छ । 

कांग्रेस अड्कियो उम्मेदवारमा

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस आफ्नो तर्फबाट उम्मेदवार चयनमा नै अड्किएको छ । विराटनगर महानगरपालिकासहित महानगर र उपमहानगरमा कांग्रेसका उम्मेदवार चयन हुन सकेका छैनन् । मेयरका उम्मेदवार चयन गर्न बसेको कांग्रेस शीर्ष नेताको बैठक निष्कर्ष विहीन भएको छ ।

मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठक टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि छलफल गर्नेगरी स्थगित भएको छ । विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्‍याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा कांग्रेसभित्र विवाद छ ।

बैठकमा शेखरसहित नेता विमलेन्द्र निधि लगायतले काठमाडौंको जस्तै अवस्था विराटनगरमा पनि रहेको भन्दै शेखर कोइरालाले प्रस्ताव गरेको नागेशलाई मेयरको टिकट दिनुपर्ने बताएका थिए । तर यसमा कृष्ण सिटौला असहमत छन् । उनी पराजुलीलाई नै मेयरमा दोहोर्‍याउनुपर्ने पक्षमा उभिएका छन् । 

यसैगरी सभापति देउवा भरतपुर महानगरपालिकाको उपमेयरमा महानगर सभापति चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउन चाहन्छन् । तर रामचन्द्र पौडेल भने सूर्यकान्त घिमिरेलाई टिकट दिनुपर्ने पक्षमा छन् ।

पोखराको उपमेयरमा रामचन्द्र पौडेल र शेखर कोइराला कोपिला रानाभाटको पक्षमा र देउवा सुरेन्द्र बिजुक्छेको पक्षमा छन् । विजुक्छे नेपाली कांग्रेस पोखराको नगर सभापति हुन् । ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै दोहोर्‍याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा कांग्रेसभित्र बहस भइरहेको छ ।  

एमालेले टुंग्यायो ५ महानगरका उम्मेदवार

नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । डंगोल यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने बताउँदै आएकी थिइन् ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ, भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । एमालेले वीरगञ्ज महानगरको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर जितेका उनी टिकट पाउने शर्त मै उनी एमाले प्रवेश गरेका थिए । 

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि आफ्नो भागमा परेको महानगरको उम्मेदवार टुंगो लगाएका छन् । जसमा माओवादीले पाएको भरतपुरमा रेणु दाहाल र एकीकृत समाजवादीले पाएको पोखरामा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको आन्तरिक असन्तुष्टिका कारण यी दुवै महानगर जित्न गठबन्धन दलले निकै मेहनत गर्नुपर्ने देखिएको छ ।