चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै टुंग्याइने

चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै टुंग्याइने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७९

चितवनमा सत्ता गठबन्धनका दलले ७ वटा पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको प्रमुख नेकपा (माओवादी केन्द्र) र उपप्रमुख कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ । 

भागबण्डा टुंगिए पनि भरतपुरबाहक अन्य पालिकामा उम्मेदवारको अझै टुंगो लागेको छैन । दलहरूले आज साँझसम्ममा उमेदवारको पनि टुंगो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता गर्ने समयावधि आयोगले तोकेको छ ।

कांग्रेसका उपसभापति राजीव न्यौपानेले आज साँझसम्म गठबन्धनले उमेदवारको टुंगो लगाउने जानकारी दिए । भोलि १ बजे संयुक्त रूपमा मनोनयन दर्ता गरिने उनले बताए । ‘आज बेलुकासम्म उमेदवारहरूको टुंगो लगाइन्छ । भोलि १ बजे चौबीसकोठीदेखि झाँकीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्त रूपमा मनोनयन दर्ता गर्ने तयारी छ’, उनले भने ।

भरतपुरको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले उमेदवारी दिने भएकी छन् । उपप्रमुखमा कांग्रेस भरतपुर महानगर समितिका सभापति चित्रसेन अधिकारीको चर्चा छ । 

कांग्रेसले रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा सहमति भएको उनले बताए । माओवादी केन्द्रले माडी र नेकपा (एकीकृत समाजवादी)ले राप्तीको प्रमुखमा उमेदवार उठाउने सहमति भएको छ ।

त्यस्तै, कांग्रेसले राप्ती र माडी, समाजवादीले रत्ननगर र माओवादीले खैरहनी, कालिका र इच्छाकामनाको उपप्रमुख पदमा उमेदवार उठाउनेछन् । ७ वटा पालिकाका ९८ वटा वडामध्ये कांग्रेसले ५९ वटा वडा पाएको न्यौपानेले बताए । बाँकी ३९ वडामा माओवादी र समाजवादी मिलेर भागबण्डा गर्दै छन् । भरतपुर महानगरका २९ वटा वडामध्ये कांग्रेसले मात्र २० वटा वडा पाउने सहमति भएको उनले बताए ।

महानगरको प्रमुखमा भने कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ताहरूले आज स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।