बाउ तीन शर्ट र प्यान्टका धनी, छोरा विश्वकै धनी

बाउ तीन शर्ट र प्यान्टका धनी, छोरा विश्वकै धनी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७६

सन् १९६२ मा क्युवाबाट अमेरिका आएका माइक बेजोसले कल्पना पनि गरेका थिएनन कि ५७ वर्ष पछि उनको छोरो विश्वको सबैभन्दा धनी व्यक्ति बन्नेछ । फिडेल क्यास्ट्रोको शासनकालमा कमसेकम ज्यान भएपनि जोगाओस भनेर परिवारले अमेरिका पठाएका माइक बेजोससंग क्युवा छोड्दा तीनवटा शर्ट र तीनवटै प्यान्ट थियो । तर अहिले उनको छोरासंग के छैन ? 

काठमाडौं, एजेन्सी । विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ अमेजनका मालिक तथा विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसले आफ्ना पिताको संघर्षका बारेमा एउटा भिडियो शेयर गरेका छन् । 

भिडियोमा उनले भनेका छन, ‘त्यसबखतको समय नै अर्को थियो । मानिसहरु एकअर्काको नजिक रहेर सँधै सहयोग गर्न तयार हुन्थे ।’ अमेरिका आएको समयमा उनलाई स्पेनिश मात्र बोल्न आउँथ्यो, अंग्रेजी फाट्टफुट्ट मात्र, जेफले बाबु बेजोसका बारेमा भने । 

उनीसंग अमेरिका आउँदा केवल तीनवटा सर्ट र तीनवटा पाइन्ट थियो । तर यसले उनलाई अघि बढ्न रोकेन । उनको आँट, हिम्मत र सकारात्मक सोचलाई यी कुनै कुराले प्रभाव पारेन, जेफले भने । 

स्ट्याच्यू अफ लिबर्टीको नयाँ संग्रहालयको उद्घाटनको अवसरमा जेफले यो भिडियो शेयर गरेका थिए ।  स्ट्याच्यू अफ लिबर्टीको नयाँ संग्रहालयको उद्घाटनको अवसरमा १५ मे का दिन जेफ बेजोसका पितालाई  लिबर्टी स्टार को  सम्मान दिइएको थियो । 

माइक, जेफको  जैविक पिता होइनन् । तर पनि जेफको सफलताका पछाडी माइकको ठूलो योगदान रहेको छ । 

जेफको आमा जैकलिन गाइजले १९६८ मा माइक बेजोससँग विवाह गरेकी थिइन त्यसबखत जेफ ४ वर्षका थिए । जैकलिनले पूर्व पति टेड जार्गनसनसंग १९६५ मा सम्बन्ध विच्छेद गरेकी थिइन् ।