पीएसजीलाई लिग वान, बार्यनलाई बुन्डेसलिगा, मेसीलाई ३९औँ उपाधि

पीएसजीलाई लिग वान, बार्यनलाई बुन्डेसलिगा, मेसीलाई ३९औँ उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ११, २०७९

लेन्ससँग १-१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ । पछिल्ला १० वर्षमा पीएसजीले जितेको यो आठौँ लिग उपाधि हो । यो पीएसजीले जितेको दशौँ लिग उपाधि हो ।

यस उपाधिसँगै पीएसजीले धेरै पटक लिग उपाधि जित्ने कीर्तिमानलाई समेत बराबरी गरेको छ । सन् १९३५ देखि २००९ बीचको अवधिमा एएस सेन्ट इटेनी र ओलम्पिक लियोनले सर्वाधिक १०/१० पटक फ्रेन्च लिगको उपाधि जितेका थिए ।

गए राति सम्पन्न खेलमा पीएसजीका लागि लियोनल मेसीले ६८औँ मिनेटमा सनसनीपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर लेन्सका कोरेन्टिन जिनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । बराबरीपछि लिगमा पीएसजीको ३४ खेलबाट ७८ अंक भएको छ भने दोस्रो स्थानको मार्सेको ३३ खेलबाट ६२ अंक मात्र छ ।

अब लिगमा ४ चरणको खेल बाँकी भएको अवस्थामा दोस्रो स्थानको टोलीभन्दा १६ अंकले अगाडि रहँदै पीएसजीले उपाधिमाथि कब्जा जमाएको हो ।

गत सिजनको समरमा बार्सिलोनाबाट पीएसजी आएका स्टार खेलाडी लियोनल मेसी पनि पीएसजीका लागि पहिलो उपाधि जित्न सफल भए । अर्जेन्टिनी खेलाडीको क्यारियरको यो ३९औँ उपाधि हो । मेसीले बार्सिलोनाका लागि ३५ उपाधि जितेका थिए भने अर्जेन्टिनालाई ३ उपाधि दिलाउन उनी सफल भएका थिए ।

फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमान भने ब्राजिलका डानी आल्भेसको नाममा छ । डानी आल्भेसले अहिलेसम्म ४२ उपाधि जितिसकेका छन् ।

बार्यन म्युनिकलाई लगातार दशौँपल्ट बुन्डेसलिगा

गए राति सम्पन्न खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै जर्मन च्याम्पियन बार्यन म्युनिकले ३ चरणको खेल अगावै बुन्डेसलिगाको उपाधिमाथि कब्जा जमाएको छ । पछिल्ला १० सिजन लगातार लिग उपाधि जित्दै बार्यन म्युनिकले लिगमा आफ्नो प्रभुत्वको एक दशक पनि सफलतापूर्वक पूरा गरेको छ ।

यस उपाधिसँगै बार्यनले ३२औँ पटक जर्मन लिगको उपाधि आफ्नो नाम गराएको छ, जुन आफैँमा एउटा कीर्तिमान हो । त्यस्तै, लगातार १० पटक घरेलु लिग जित्दै बार्यनले लगातार धेरै पटक लिग उपाधि जित्ने अर्को कीर्तिमानसमेत आफ्नो नाम गराएको छ । यसअघि यस्तो कीर्तिमान संयुक्त रूपमा बार्यन म्युनिक र इटालियन क्लब युभेन्टसको नाममा थियो । युभेन्टसले सन् २०१२ देखि २०२० का बीचमा लगातार ९ उपाधि जित्दै राखेको कीर्तिमानलाई गत वर्ष लिग जित्दै बार्यनले बराबरी गरेको थियो ।

बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहेको अवस्थामा बार्यनको ७५ अंक छ भने दोस्रो स्थानमा रहेको डर्टमन्डको ६३ अंक मात्र छ ।

बार्यन म्युनिकका पोलिस स्ट्राइकर रोबर्ट लोवान्डोस्कीले यो सिजन बुन्डेसलिगामा ३३ गोल गरिसकेका छन् । उनी लगातार पाँचौँ पटक र समग्रमा सातौँ पटक लिगको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउन जम्मा ३ खेल मात्र टाढा छन् । सर्वाधिक गोलकर्ताको दौडमा दोस्रो स्थानमा रहेका वायर लेभरकुसेनका प्याट्रिक सिकको जम्मा २१ गोल रहेकाले लेवान्डोस्कीलाई यो अद्भुत कीर्तिमान बनाउनबाट कसैले रोक्न सक्ने स्थिति छैन ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार