योगमय बन्दै छायानाथ रारा नगरपालिका

योगमय बन्दै छायानाथ रारा नगरपालिका
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  जेठ ७, २०७६

मुगु । जिल्लामा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ रारा नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ।

अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो।

स्थानीयवासीको जीवनशैलीमा सुधारका लागि नगरपालिकाको आर्थिक र प्राविधिक सहयोग तथा गमगढी पतनञ्जलि योग समितिको सहकार्यमा नगरपालिकाका १ नं वडादेखि १४ वडासम्म रहेका सबै बस्तीमा बस्ने बासिन्दालाई योगमार्फत राष्ट्रभक्ति, स्वास्थ्यमा सुधार, सकारात्मक सोचाइ र भष्ट्राचारमुक्त समाज निर्माण गर्ने अभियानका साथ योगमय नगरपालिका बनाउन लागिरहेको नगर प्रमुख हरिजङ्ग शाहीले बताए।

‘बजारको खानपिन र अज्ञानका कारण मानिसहरु दिनप्रतिदिन अस्वस्थकर बन्दै गएकाले यो अभियान सञ्चालनमा ल्याइएको हो,’ शाहीले भने, ‘मानिसहरू कुनै पनि रोग लागिसकेपछि मात्र रोगको उपचार गर्न जान्छन्। रोग लाग्नुपूर्व नियमित योग गर्नुपर्छ, आनिबानीमा परिवर्तन गर्नुपर्छ।’

नगरपालिकावासीलाई स्वस्थ बनाउनका लागि सबै बस्तीमा तीन दिनको योग शिविर सञ्चालन गरिएको जिल्ला पतञ्जलि योग समितिका अध्यक्ष जयबहादुर मल्लले बताएको खबर राससमा छ।