भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवारी

भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका ४ वटा नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको नाम टुंग्याएका छन् । 

कांग्रेसले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ३ नगरपालिका भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायक गठबन्धन दलका अरू पार्टीको भागमा परेकाले उसले त्यहाँं उम्मेदर उठाएन ।

भक्तपुरका ४ वटा नगरपालिकामध्ये मध्यपुर थिमीको उपप्रमुख नेकपा (माओवादी केन्द्र)लाई र नेकपा (एकीकृत समाजवादी)लाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भएको थियो ।

यता, एमालेले मध्यपुर थिमीमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख दिने टुंगाएको छ । सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रवीन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बिना बाँस्तोला प्रमुख र रमेश बुढाथोकीलाई उपप्रमुख उठाउने टुंगो लगाएको हो ।

मदनसुन्दर मध्यपुर थिमीका विजयी प्रमुख हुन् भने वासुदेव सूर्यविनायक नगरपालिकाका विजयी प्रमुख हुन् । बिना चाँंगुनारायण नगरपालिकाका विजयी उपप्रमुख हुन् । उनीहरू सबैले निर्वाचनका लागि राजीनामा दिइसकेका छन् ।