बौद्ध धर्म र ईश्वरवाद

बौद्ध धर्म र ईश्वरवाद

भिक्षु सोयेन शाकु, जापान  |  जीवनदर्शन  |  जेठ ७, २०७६

बौद्ध धर्मको मौलिक सिद्धान्तमा एक सिद्धान्त छ– जगत्को अनन्त र अनेक प्रकारका दृश्य एउटै तत्वबाट उत्पन्न हुन्छन् र त्यसैभित्र जीवन धारण गर्छन् अनि त्यो तत्व देश र कालदेखि अपरिछिन्न छ । 

यो जगत् नानात्वले पूर्ण छ, तथापि मनको रचना नै यस्तो भएको छ कि त्यो एक यस्तो एकता प्रदर्शित गर्ने तत्वको खोजी गर्छ, जसको कल्पना दृश्यको प्रतितिका लागि अनिवार्य छ । (यसरी बौद्ध धर्मले दुई द्धार प्रणालीलाई स्वीकार गर्छ । एक, समताको द्धार । अर्को, नानात्वको द्धार) अर्थात् बौद्ध धर्म नानात्व र समताका दुई तत्वको समयलाई स्वीकार गर्छ । 

पदार्थ अनेक भएर पनि एक छन् र एक भएर पनि अनेक छन् । अतः बौद्ध धर्मले बताउँछ–जहाँ हामी जगत्को कुनै विशेष अवस्थालाई स्वीकार गर्छाैं, जसमा व्यक्तित्वको प्रधानता हुन्छ, त्यहाँ समताको द्वारबाट हेर्दा समस्त भेदभाव एकत्वको एक महान् तत्वमा विलीन हुन्छन् । 

यिनमा समताको द्वारलाई कुनै अंशमा ईश्वरको समानता र नानात्वको द्वारलाई जीवको समानता दिन सकिन्छ । 

समता र नानात्वका साथै बौद्ध धर्म एक तेस्रो कर्मको सिद्धान्तलाई पनि मान्छ । यसको निर्देश छ– समस्त पदार्थ गतिशील छन् र कर्म गर्छन् । यो सिद्धान्त केवल भौतिक जगत्मा मात्र सीमित नभएर नैतिक र आध्यात्मिक जगत्मा पनि कार्यान्वित भइरहेको छ । यिनै शक्तिको पारस्परिक क्रिया–प्रतिक्रियाले जगत आफ्नो अस्तित्वमा स्थित छ । 

हामीले कसरी पदार्थको समतामा अध्यात्मिक अन्तदृष्टि प्राप्त गर्न सक्छौं ? तथा आफ्नो मनलाई कसरी स्वच्छ बनाउन सक्छौं, जसबाट हामीले उस नित्यसत्यलाई प्रत्यक्ष गर्न सकौं ? तथा अभिलाशा, वेदना, वासना, सहज ज्ञान तथा प्रवृत्तिको भिन्नतामा उसलाई कसरी चिन्न सक्छौं ? कसरी हामीले त्यस धर्मकायको विभिन्न क्रियाअन्तर्गत देख्न सक्छौं तथा उसलाई प्राप्त गर्न सक्छौं ?

बौद्ध धर्म ईश्वर अर्थात् समताको सिद्धान्तलाई जगत्मा अन्तरस्थ मान्छ, परन्तु ईश्वर शब्दको प्रयोग गर्दैन । ईश्वरको पर्याय रूपमा बौद्ध धर्म ‘धर्मकाय’ शब्दको व्यवहार गर्छ, जसलाई बुद्धकाय अर्थात् बुद्धको शरीर पनि भन्छन् र समताको बोझ पनि यिनै शब्दद्वारा हुन्छ । 

तत्वतः धर्मकाय अपरिछिन्न छ, परन्तु यसका व्यक्त रूप सीमित र परिछिन्न छन् । बुद्धकायको यो आन्तरिक स्वभाव हो । यसले दृश्य जगत्को नानात्वमा स्वयमेव व्यक्तित्व रूप धारण गर्छ र त्यसैमा रहेर जीवन प्रदान गर्छ । यी समस्त वैयक्तिक दृश्यको भिन्नतामा विचार गर्दा सर्वत्र यिनैभित्र धर्र्मकायको उपस्थिति पाउँछौं, जहाँ वस्तुको समता दृष्टिगोचर हुन्छ । 

यद्यपि बौद्ध धर्म दृश्य जगत्को यथार्थता र नातात्वलाई मान्छ, तापनि उसको विश्वास छ, जुन पदार्थ हाम्रो चारैतिर देखिन्छन् ती सबै एक अन्तिम कारणबाट उत्पन्न हुन्छन्, जो जुन सर्वशक्तिमान, सर्वज्ञ र सर्वप्रिय छ । यो जगत् त्यही कारण, आत्मा अथवा जीवनको व्यक्त रूप हो । अतः वस्तुमा जति नै भिन्नता किन नहोस् त्यो परमात्माको स्वभावबाट युक्त हुन्छ । केवल मनुष्यले मात्र होइन, तिर्यक जन्तु तथा निर्जिव पदार्थ पनि देवत्व (समता)लाई आफ्नो कारण अभिव्यक्त गर्छन् । 

अतः ईश्वर जो यस जगत्मा छैन, त्यो असत् हो र जगत् जुन ईश्वरमा छैन, त्यो मिथ्या हो । सबै पदार्थ एकमा पुग्छन् र एकले समस्त पदार्थको रूपमा कर्म गर्छ । अनेकमा एक छ र एकमा अनेक छन् । यसरी बौद्ध विद्धान जगत् र ईश्वरको चिन्तन गर्छन् । 

परन्तु ईश्वरले आफ्नो अस्तित्वलाई यस जगत्को अभिव्यक्तिमा लगाउँछ तथा ऊ आफ्नो सृष्टिदेखि अभिन्न छ एवं जगत्को नाश हुँदा त्यो शुन्यतामा विलीन हुन्छ भन्ने सम्झनु अत्यन्त भ्रमपूर्ण हो । किनकी समस्त सृष्टिनाश हुँदा पनि ईश्वर रहिरहन्छ । त्यो नित्य हो । यो जगत् नष्ट हुँदा पनि उसले पलभरमा अर्को जगत्को सृष्टि गर्न सक्छ । 

यदि ईश्वर समताको तत्व हो भने हामीले कसरी पदार्थको समतामा अध्यात्मिक अन्तदृष्टि प्राप्त गर्न सक्छौं ? तथा आफ्नो मनलाई कसरी स्वच्छ बनाउन सक्छौं, जसबाट हामीले उस नित्यसत्यलाई प्रत्यक्ष गर्न सकौं ? तथा अभिलाशा, वेदना, वासना, सहज ज्ञान तथा प्रवृत्तिको भिन्नतामा उसलाई कसरी चिन्न सक्छौं ? कसरी हामीले त्यस धर्मकायको विभिन्न क्रियाअन्तर्गत देख्न सक्छौं तथा उसलाई प्राप्त गर्न सक्छौं ? भन्ने प्रश्नको उत्तरमा हामीले पहिले मानसिक शान्ति प्राप्त गर्नुपर्छ, आध्यात्मिक रूपले पवित्र हुनुपर्छ, समस्त वाधक वासना, पक्षपात र अन्धविश्वासबाट मुक्त हुनुपर्छ । 

बौद्ध धर्म आदिदेखि अन्तसम्म एक धर्म हो । र, यसका उद्देश्य सदैव आध्यात्मिक र व्यावहारिक छन् । उपर्युक्त प्रश्नको समाधानतिर लैजाने मार्ग एकाग्रताको अभ्यास हो, जसलाई बुद्ध मतानुयायीले ‘ध्यान’ भन्छन् । 
धर्मको अर्थ अनुभव गर्नु हो, प्रदर्शन गर्नु होइन । धार्मिक पुरुष तत्वको जिज्ञासा गर्छन्, छायाँ होइन, प्रकाश चाहन्छन्, प्रतिबिम्ब होइन । यसको प्राप्ति तर्क–वितर्कद्वारा कदापि हृुन सक्दैन । 

कुनै पनि वस्तुको गुण, विशेषता तथा क्रियालाई जानेर मात्र भन्न सकिँदैन कि त्यसको हामीलाई पूर्ण ज्ञान भयो । त्यसको ज्ञान इन्द्रिय तथा बुद्धिको शक्तिद्वारा हुन्छ । तर पनि वस्तुको केही स्वरूप अवशिष्ट रहन्छ, जसको ज्ञान भएपछि मात्र हामीलाई त्यस वस्तुको पूर्णज्ञान भएको भान हुन्छ । किनभने हामीलाई भौतिक सुख सुविधा दिएर सम्पन्न बनाएको छ, तापनि त्यसबाट हामीलाई जीवनको तत्वज्ञानको प्राप्ति हुँदैन । किनकी विज्ञान जीवनको रहस्य खोल्न असमर्थ छ । जबसम्म ज्ञाता (मन) र ज्ञेय (विषय)को द्धैतभाव हट्दैन तबसम्म वस्तु तत्वको पूर्णज्ञान हुन सक्दैन । 

परन्तु के विनश्वर प्राणीले यस दृश्यमान जगत्मा कुनै नित्य वस्तुलाई प्राप्त गर्न सक्छ ? जब प्रत्येक वस्तु जीवन र मृत्युका अलंध्य नियमको वशीभूत छ भने हामी अनिनाशी र नित्यवस्तुका लागि आफ्नो अन्तःप्रेरणालाई कदापि सन्तुष्ट गर्न सक्दैनौं । बुद्ध धर्म हाम्रो यो आध्यात्मिकता र आकांक्षालाई जान्छ र हामीलाई निर्देश गर्छ कि दृश्य जगत्भन्दा पर एक अवस्था छ, जहाँ आत्माले पूर्ण परितृप्ति पाउँछ ।

यो अदृश्यजगत् भौतिक सीमादेखि पर छ, अतः जन्म–मृत्युको नियमबाट बहिर्मूत छ । जो मनुष्य परिदृश्यमा जगत्को शृंखलाबाट मुक्त भएको छ, उसलाई जगत्को विकारले प्रभावित गर्न सक्दैन । ऊ अदृश्य जगत्मा शान्तिपूर्वक विश्वास गर्छ । केवल धार्मिक पुरुष भौतिक आवर्तन (जन्म–मृत्युका चक्र)बाट पर जान सक्छन् र नित्य शान्तिभय जीवन बिताउन सक्छन् । 

पुनर्लेखनः बाबुहरि ज्ञावाली