चुनावी मत–सर्वेक्षण प्रक्षेपणपछि अत्तालिएका विपक्षी

चुनावी मत–सर्वेक्षण प्रक्षेपणपछि अत्तालिएका विपक्षी

लक्ष्मण ओझा  |  दृष्टिकोण  |  जेठ ७, २०७६

भारतको आइतबार सम्पन्न लोकसभा चुनावको मतपरिणाम मे २३ (आगामी बिहीबार)मा सार्वजनिक हुँदैछ । तर, त्यसअघि नै चुनावी परिणामबारे विभिन्न अड्कलबाजी गरिन थालिएको छ । नेता तथा कार्यकर्ताले आ–आफ्नो पहिलेभन्दा बढी सिट जित्ने दाबी प्रस्तुत गरिरहेका छन् ।

भारतीय टेलिभिजन च्यानलले पनि (पोस्ट पोल) चुनावी सर्वेक्षणका नतिजा सार्वजनिक गर्ने क्रम जारी राखेका छन् । भारतका अधिकांश टेलिभिजन च्यानलले चुनावमा भारतीय जनता पार्टी (भाजपा)को बहुमत आउने प्रक्षेपण गरिरहेका छन् ।  ५४३ सिटका लागि गरिएको लोकसभा चुनावमा बहुमत ल्याउन २७२ सिट आवश्यक हुन्छ ।

इण्डिया टिभी, आजतक, रिपब्लिक, न्युज २४ र एबिपी न्युज भाजपा नेतृत्वको एनडिए गठबन्धनको बहुमत आउने प्रक्षेपण गरिरहेका छन् । आजतकले एनडिएले ३३९–३६५ सिट जित्ने प्रक्षेपण गरेको छ । यस्तै, कांग्रेस नेतृत्वको गठबन्धन युपिएले ७७–१०८, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको महागठबन्धनले १०–१६ र अन्यले ५९–७९ मत जित्ने आँकलन गरिएको छ । न्युज २४ टिभीले एनडिएले ३५०, युपिएले ९५ र अन्यले ९७ सिट ल्याउने प्रक्षेपण गरेको छ । यस्तै, इण्डिया टिभीले एनडिएले ३००, युपिएले १२० र अन्यले १२२ सिट ल्याउने प्रक्षेपण गरेको छ । रिपब्लिकले एनडिएले २८७, युपिएले १२८ र अन्यले १२७ सिट ल्याउने आँकलन गरेको छ । एबिपीले भने एनडिएले २७७, युपिएले १३० र अन्यले १३५ सिट जित्ने प्रक्षेपण गरेको छ ।

तर, न्युज एक्सले भने एनडिएको बहुमत नआउने प्रक्षेपण गरेको छ । न्युज एक्सका अनुसार एनडिएले २४२, युपिएले १६४ र अन्यले १३७ सिट ल्याउने प्रक्षेपण गरेको छ ।

अधिकांश चुनावी मत–सर्वेक्षण प्रक्षेपण आफ्नो पक्षमा आएपछि भाजपाका नेता–कार्यकर्तामा उत्साह छाएको छ । भाजपाका अधिकांश नेताले सामाजिक सञ्जालमार्फत् कार्यकर्तालाई बधाइ दिएको पाइन्छ । भाजपा अध्यक्ष अमित शाहले समेत एनडिए गठबन्धनका लागि मंगलबार (आज) डिनर पार्टी आयोजना गर्दै गरेको समाचार सार्वजनिक भइसकेको छ ।

चुनावी मत–सर्वेक्षण प्रक्षेपणले भाजपा नेता–कार्यकर्तामाझ उत्साह ल्याए पनि विपक्षीमा नेता–कार्यकर्ता भने निरासझैं देखिन्छन् । उनीहरूले चुनावी मत सर्वेक्षण प्रक्षेपण वास्तविकताभन्दा फरक रहेको भन्दै यसप्रति सार्वजनिक रूपमा नै असन्तुष्टि जनाइसकेका छन् ।

भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता शशी थरुर, आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडु, पश्चिम बंगालकी मुख्यमन्त्री एवम् अल इण्डिया तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले आफ्नो ट्विट ह्याण्डलमार्फत् चुनावी मत सर्वेक्षण प्रक्षेपणले आम मानिसको भावनालाई समेट्न नसकेको बताउँदै आएका छन् ।

बनर्जीले त अहिलेको चुनावी मत सर्वेक्षण अनुसार नै मतपरिणामलाई समेत तोडमोड गर्ने सुनियोजित योजना भाजपाको नेतृत्व लागेको समेत आरोप लगाएकी छन् ।

अप्रिल ११ देखि सुरु भएको चुनाव सात चरणमा भएको थियो ।  चुनावमा भाजपाले ४३७ र कांग्रेसले ४२१ सिटमा उम्मेदवार बनाएको थियो ।

सन् २०१४ को लोकसभा चुनावमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३३६ सिट जितेको थियो, जसमा भाजपाको २८२ सिट थियो । यस्तै, कांग्रेस नेतृत्वको युपिए गठबन्धनले ६० सिट जितेको थियो, जसमा कांग्रेसको ४४ सिट थियो । अन्यले १४७ सिट जितेका थिए ।