'५ वर्षमै मधेसी दलले शहीदलाई बिर्सिए'

'५ वर्षमै मधेसी दलले शहीदलाई बिर्सिए'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७९

मधेस आन्दोलनमा शहीद भएकाहरूको बलिदानबाट अगाडि बढेका मधेसकेन्द्रित दलहरूले शहीद परिवारलाई पूरै बिचल्लीमा पारेको आरोप लागेको छ । त्यसमाथि स्थानीय निर्वाचनका क्रममा मधेसी मुद्दालाई बिर्सिएका मात्र होइन, मधेसकेन्द्रित दलहरूले उमेदवार बनाउँदा टाठाबाठा र पैसावाललाई प्राथमिकता दिएर शहीद परिवारलाई बेवास्ता गरेको आरोप छ । त्‍यसमध्ये एक हुनुहुन्छ विनिता साह कलवार।

विनिताका श्रीमान् सोहन साह कलवारको, २०७० सालमा मधेस आन्दोलनका क्रममा वीरगंजमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । २०७४ सालको पालिका निर्वाचनमा जसपाबाट वीरगंज महानगपालिकाको वडा नम्बर- १६ मा विनिता महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसपालि शहीद पत्नी विनितालाई मधेसकेन्द्रित दलले टिकट नदिएपछि विवेकशील साझा पार्टीका तर्फबाट १६ नम्बर वडाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । विनिता भन्नुहुन्छ, 'मधेसी दलले टिकट नदिएका कारण अरू दलबाट उम्मेदवारी दर्ता गर्नुपर्‍यो । विगतको चुनावमा आफूलाई मधेसी नेताले खोजेर चुनाव लडाएका थिए । त्यतिबेला प्रमुखका उम्मेदवार विजय सरावगीकै गाडीमा शहीद पत्नी हो भन्दै सबैले घुमाए, नेता प्रदीप यादवले घुमाए । मलाई देखाएरै सबैको भोट मागे । वडा सदस्यमा जितेर ४ वर्ष जनताको सेवा राम्रैसँग गरेको छु तर अहिले मधेसी नेताहरूले बिर्सिए ।'

मधेसकेन्द्रित दलले पहुँच भएको र पैसामा पार्टी प्रवेश गर्ने नयाँलाई टिकट बचेको र आफू गरिब भएकाले आफूलाई टिकट नदिएका आरोप विनिताको छ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार