यूएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी

यूएईका राजकुमारले दिए दुबईको जेलमा रहेका पत्रकार पाण्डेलाई सजाय माफी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७९

युनाइटेड अरब इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद बिन जायेद अल नहानले दुबईको जेलमा रहेका नेपाली पत्रकार उमाकान्त पाण्डेको सजाय माफी गरिदिएका छन् । 

सजाय माफी भएसँगै पाण्डे अब छिट्टै जेलमुक्त हुने यूएईको अबुधावीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । 

स्रोतका अनुसार यूएईका राजकुमारले गत शुक्रबार पाण्डेको सजाय माफी गरिदिएका थिए । 

यूएईको अदालतले पत्रकार पाण्डेलाई ३ महिना जेल, २० हजार दिराम जरिमाना, नेपाल डिपोर्टलगायतको सजाय सुनाएको थियो । सामाजिक संजालमा जथाभावी लेखेको भन्दै अबुधावीस्थित नेपाली दूतावासका पदाधिकारीको उजुरीमा उनलाई उक्त सजाय सुनाइएको थियो । 

पत्रकार पाण्डेलाई जेल सजाय सुनाइएपछि नेपालमा त्यसको विरोध भएको थियो । त्यसपछि यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईमा रहेका प्राज्ञिक व्यक्तिलाई उनको सजाय माफीका लागि गत बुधबार भेटी अनुरोध गरेका थिए । ती प्राज्ञिक व्यक्तिहरूले यूएईका राजकुमार समक्ष कुरा पुर्‍याएका थिए । त्यसपछि राजकुमारले सजाय माफी गरेको दूतावास स्रोतले बताएको छ । 

नेपाल डिपोर्ट नहुने गरी पत्रकार पाण्डेको सजाय माफी गरिएको दूतावास स्रोतको भनाइ छ ।