बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन

बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको ७ बुँदे निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७९

५ दलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो । 

६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूका बीचमा सिट बाँडफाँटको सम्झदारी गर्ने निर्णयसमेत गरेको छ । 

गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ । 

गठबन्धनका दलहरूका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरू आजै स्थानीय र प्रदेश सयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यसका लागि स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिनेछ । 

गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति थियो ।