'केशव स्थापितको गेम इज ओभर'

'केशव स्थापितको गेम इज ओभर'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको 'गेम ओभर' भएको बताएका छन् । 

काठमाडौं महानगरमा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवारी दिएकी कांग्रेस नेत्री सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन् ।  

'स्थापितजी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ, गेम इज ओभर रे ! म भन्छु, उहाँको गेम इज ओभर । अब बाग्मतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ', महतले भने । 

एमाले अध्यक्ष केपी ओली र स्थापितलाई लक्षित गरेर उनले राजनीतिलाई मनोरंंजनको साधन नबनाउन आग्रह गरे ।

काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरू नगरपालिका जिते बराबर हुने उनले बताए । सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै उनले भने, 'अरूले कुरा गर्ने तर नेपाली कांग्रेसले काम गर्छन् । त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।'