असहिष्णु स्थानीय कांग्रेसी: गठबन्धनमा इमानदार भएर जित्ने कि पार्टीकै दर्जनौँ उम्मेदवार हराउने ?

लोकसंवाद टिप्पणी

असहिष्णु स्थानीय कांग्रेसी: गठबन्धनमा इमानदार भएर जित्ने कि पार्टीकै दर्जनौँ उम्मेदवार हराउने ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७९

७ जेठ, २०७८ मा केपी शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि संविधानको रक्षा र संसदको पुनर्स्थापनाका लागि बनेको ५ दलीय गठबन्धन निर्वाचनको सम्मुख मा दरार समेत उत्पन्न भएको  छ । सत्ताका लागि एकजुट भएका यी दलहरु यतिबेला फेरि शक्ति आर्जनका लागि तछाडमछाड समेत गरिरहेका छन् । 

स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुबीच भागबण्डा सुरु भएदेखि नै कांग्रेसभित्र विरोधका स्वर सुनिन थालेका थिए । शेरबहादुर देउवा समूह गठबन्धनको पक्षमा रहे पनि शेखर कोइराला समूह गठबन्धनको विरोधमा लगातार उभिदै आएको थियो । गठबन्धन दलकै बैसाखी टेकेर सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले सत्ता गठबन्धनको आधारमाथि पटक पटक प्रहार गर्दा गठबन्धनकै भविष्यमाथि समेत प्रश्न उठेको छ ।

अमेरिकी मिलेनियम च्यालेन्च (एमसीसी) पारित गर्नेबेला कांग्रेस महामन्त्री गगन थापासहितका नेताले गठबन्धन विरुद्ध भाषण बाजी गरेका थिए । कांग्रेसले एमसीसी पास गर्नका लागि एमालेसँग घाँटी जोडेर सत्ता सहयोगी दललाई सत्तोसराप गर्न थालेपछि अन्य दल व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तयार भएका थिए । 

अहिले स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसभित्र आन्तरिक कलह देखाएर गठबन्धनमा रहेका अन्य दललाई च्याप्ने काम गर्दा सिंगो गठबन्धनलाई नै खतरा देखिएको छ । 

बागी फकाउन सकस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु विभिन्न स्थानीय तहमा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध दिएको बागी फिर्ता गराउन कोसिसमा छन् ।

गठबन्धनमा कांग्रेसले पाएका स्थानीय तहमा अन्य दलले बागी उम्मेदवारी दिएका छैनन् । तर कांग्रेसका स्थानीय तहका नेताहरुले गठबन्धन विरुद्ध बागी दिँदा एकातिर गठबन्धनभित्र संकट सिर्जना भएको छ भने अर्कोतिर गठबन्धनको आन्तरिक लडाइँले विपक्षीलाई फाइदा पुग्ने देखिएको छ । 

बागी दिएकामध्ये सबैभन्दा बढी चर्चामा छन्, चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेल । यहाँ माओवादी केन्द्रले मेयर पाएको छ । यसका विरुद्ध पौडेलले बागी दिएका छन् । कांग्रेस सकिने भएकाले आफू उम्मेदवार बन्नुपर्ने उनको दाबी देखिन्छ । उनको दाबीलाई नै आधार मान्ने हो भने कांग्रेसले पाएका अन्य स्थानीय तहमा गठबन्धनका अन्य दलको अस्तित्व पनि संकटमा पर्नसक्छ ।

अन्य दलाई बखेडा मात्र गर्ने हो भने कांग्रेसलाई किन भोट हाल्ने ? किन जिताउने ? भन्ने प्रश्न खडा भइरहेको छ । अर्कोतिर कांग्रेसलाई सबै पद दिए चै गठबन्धन हुने अनि अरुले पाएका स्थानमा चै कांग्रेसले स्वीकार गर्न नसक्ने हो भने विचार र सिद्धान्त नै फरक भएका अन्य पार्टीले कांग्रेसलाई किन स्वीकार गर्ने भन्ने प्रश्न उठ्ने गरेको छ । कांग्रेसभित्र आफूले पाए ठीक अरुले पाए बेठिक भन्ने कुन्ठित भावना प्रर्दशन गरिरहेको छ । 

भरतपुरमा कांग्रेसले उपमेयर र २० वडाध्यक्ष पाएको छ । कांग्रेसले बाजी फिर्ता नगराए उपमेयरसहित २० वटै वडाध्यक्षले समेत गठबन्धनबाट मत नपाउने र हार्ने अवस्था सिर्जना हुनसक्छ । कांग्रेसकै उम्मेदवारहरु सायद आफू हार्न तयार छैनन् । कांग्रेसका तलदेखि माथि नै सम्म एक तहका नेताहरु गठबन्धनमा पूर्ण मन र ध्यान लगाइरहेका छैनन् ।

भरतपुरमा नै उम्मेदवार बनेका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री बालकृष्ण खाँडदेखि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेत भरतपुर पुगेका छन् । प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठ पनि भरतपुर पुगेका थिए । 

भरतपुरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहालले मेयरमा मनोनयन दर्ता गरेकी छन् । कांग्रेस भने यहाँ मेयर आफ्नै पार्टीले पाउनुपर्ने पक्षमा छ । कांग्रेसले ५ दलीय गठबन्धनबाट ३ महानगर पाएको छ । जबकि गठबन्धनमा रहेका तीन दलले १–१ वटा मात्रै पाएका छन् भने जनमोर्चाले पाएको छैन । अहिले कांग्रेसका कार्यकर्ताहरु गठबन्धनमा रहेका दलले पाएको यही भरतपुर, पोखरामा बढी विवाद गरिरहेका छन् ।

भरतपुरमा कांग्रेसले उपमेयर र २० वडाध्यक्ष पाएको छ । कांग्रेसले बाजी फिर्ता नगराए उपमेयरसहित २० वटै वडाध्यक्षले समेत गठबन्धनबाट मत नपाउने र हार्ने अवस्था सिर्जना हुनसक्छ । कांग्रेसकै उम्मेदवारहरु सायद आफू हार्न तयार छैनन् । कांग्रेसका तलदेखि माथि नै सम्म एक तहका नेताहरु गठबन्धनमा पूर्ण मन र ध्यान लगाइरहेका छैनन् ।

उनीहरुमा गठबन्धनमा भाग लगाउन नपरेको भए धेरै ‘भाग खान’ पाइन्थ्यो भन्ने भावना देखिन्छ । अर्कोतिर गठबन्धन गरेर आफूले पाएका पदमा पनि कांग्रेसका कतिपय स्थानमा बागी उम्मेदवार खडा भएका छन् । यसबाट कांग्रेसमा भन्दै आएको लोकतान्त्रिक अनुशासन र सहकर्मीलाई स्वीकार गर्ने क्षमता कति कमजोर छ भन्ने प्रष्ट हुन्छ । 

भरतपुरमा मात्रै नभएर पोखरामा पनि कांग्रेसका विमल बहादुर कार्की, नन्द प्रसाद तिवारीसहित ३ जनाको बागी उम्मेदवारी परेको छ । पोखरा सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले पाएको छ । पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य गठबन्धनका साझा उम्मेदवार छन् भने कांग्रेसले उपमेयर पाएको छ । 

यस्तै उपमहानगर, नगर र गाउँपालिकाहरुमा पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबाट बागी उम्मेदवारी परेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार वक्तव्य जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । 

गठबन्धनका शीर्ष नेताले गठबन्धनको भागबण्डा अनुसार उम्मेदवारी दिन कार्यकर्तालाई निर्देशन दिएका थिए । तर कार्यकर्ता त्यसलाई मान्न तयार नहुँदा आंशिक रुपमा भएको गठबन्धन पनि खतरामा पर्ने देखिएको छ । कांग्रेसले गठबन्धनमा रहेका अन्य दल कुनै जनाधार नभएका र आफ्नो मतले जिताउनुपर्छ भन्ने सोचमा रहेको देखिन्छ । आफूलाई बलियो र अन्य दललाई कमजोर ठान्ने कांग्रेसी मनोविज्ञानका कारण आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धक्का लाग्ने खतरा देखिन्छ । 

सत्ता गठबन्धनका दलले बागी उम्मेदवारी फिर्ता दिन आग्रह गर्दै फिर्ता  नगरेमा कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको समय तोकेको छ । यसकारण बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन थप दबाब पर्नेछ ।