हेटौँडाका वडा वडामा गठबन्धनको प्रचार कार्यालय स्थापना : मेयर र उपमेयर पदका उम्मेदवार घरदैलोमा

हेटौँडाका वडा वडामा गठबन्धनको प्रचार कार्यालय स्थापना : मेयर र उपमेयर पदका उम्मेदवार घरदैलोमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७ र १५ मा आज विहीबार स्थानीय तहको चुनावका लागि गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसारका लागि कार्यालय स्थापना गरिएको छ ।

हेटौंडा ७ को नागस्वती र हरियालीटोल तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित विक्रमचोक र फायरलाइनमा गठबन्धनको संयुक्त चुनाव प्रसार प्रसार समितिको कार्यालय स्थापना गरिएको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा पाँच दलीय गठबन्धनबाट मेयरका मीना कुमारी लामा र उप मेयर पदका उम्मेद्वार राजेश बानियाले आफूहरुलाई जिताउन मतदाता समक्ष अपील गरे । हेटौंडा उपमहानगरपालिकाको सुन्दर विकासका योजनाहरु आफूहरुसँग रहेको भन्दै साझा गठबन्धनले उम्मेदवारले जनताको बीचमा गरिएका बाचालाई कदापी नभुल्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको  थियो । 

मेयर पदका उम्मेदवार लामाले जनताको बीचमा रहेर उनीहरुको चाहाना अनुसारको विकास तथा समृद्धिको यात्रामा सहयात्री बन्न आफूहरु तयार रहेको बताउँदै गठबन्धनको साझा भिजनलाई सफल पार्न निरन्तर लागिपर्ने बताइन् । ‘देशमा संघीयता, लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि बनेको हाम्रो पवित्र गठबन्धनको म्यान्डेट अनुसार हामी चल्नेछौँ ।’लामाले प्रतिबद्धता व्यक्त गरिन्,‘हामी नीति, विधिमा चल्छौँ, हामी उपमहानगरमा विकासले मुहार फेर्नेछौँ ।’

यस्तै, उपमेयरका उम्मेदवार बानियाले विगतमा पाँच वर्ष आफू हेटौंडा उपमहानगरपालिका पाँच नम्बर वडाको अध्यक्ष भई आफूले गरेको विकास निर्माणको कार्यबाटै आम नागरिकले आफूलाई चिनेको बताए । ‘यसअघि अध्यक्ष भई वडाको विकासको लागि मैले गरेका कार्यबारे सबै जानकार छन् । आफूले पाउने पारिश्रमिक समेत शिक्षाका लागि लगानी गरे । ’उनले भने,‘स्वास्थ्य, शिक्षा, खेलकुद जस्ता क्षेत्रमा विगतको आफ्नो कार्यकालमा वडामा महत्वपूर्ण काम गरियो भने अब सिंगो उपमहानगरपालिकाको विकासका लागि हामी योजनाबद्ध ढंगबाट लागिपर्नेछौँ ।’उम्मेदवार बानियाले राजनीति भनेको पेशा नभई सेवा भएकाले आफू शासक नबनी सेवक बनी जनताको सेवामा तल्लीन रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रचारप्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका नेता विष्णु लामिछाने, नेकपा माओवादी केन्द्रका प्रमिला पुलामी मगर, नेपाली कांग्रेसका लक्ष्मी थिङ लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरु स्थानीय चुनावमा आफ्नो उम्मेदवारीबारे बोलेका थिए । कार्यालय स्थापनाका साथै उम्मेदवारहरुले वडामा घरदैलो पनि गरे ।
यस्तै,गठबन्धनका उम्मेदवारसहितको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कोर्रामा घरदैलो समेत गरेका छन् ।