५ दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने (विज्ञप्तिसहित)

५ दलीय गठबन्धनबाहेकका दलसँग भएको चुनावी तालमेल खारेज हुने (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७९

५ दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले ५ दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको हो ।

५ दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ ।५ दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गबन्धन बैठकले गरेको छ । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ५ दलीय गठबन्धनको बैठकले उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले पहल गर्ने निर्णय भएको हो ।स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रकै दलबाट असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका छन् ।

त्यस्तो बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले उम्मेदवारहरूलाई निर्देशन जारीसमेत भइसकेको छ । तर, कतिपय ठाउँका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेका छैनन् । निर्वाचन कार्यतालिकाअनुसार मनोनयन फिर्ता लिने समय रहेको छ ।