एमालेसँग भएको तालमेल अमान्य

एमालेसँग भएको तालमेल अमान्य

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७९

५ दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ । 

गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँठाउँमा निर्णयविपरीत तालमेल भयो । 

शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो । गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रले एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन् ।

प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरको आमचोक गाउँपालिकामा एमाले-कांग्रेस तालमेल भएको छ । 

गुल्मीको धर्कोटमा भने एमाले-माओवादीबीच तालमेल भएको छ । बाग्मती प्रदेशको सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँपालिकामा पनि एमाले-माओवादी तालमेलको निर्णय बिहीबार भएको छ ।

गठबन्धनको निर्णयविपरीत एमालेसँग भएका तालमेल शुक्रबार बसेको गठबन्धन बैठकले गरेको निर्णयले खारेज गर्ने भएको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी नेता राम कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला झापामा भने एमालेविरुद्ध राप्रपासँग मिलेर गठबन्धन दलले तालमेल गर्दै छन् ।