रामजीप्रसाद पोखरेल: रेडियो नेपालको प्रतियोगितामा प्रथम, परिबन्दले ओझेलमा परदेशी
बैशाख १७, २०७९

उहाँ कानपुर गएर संगीत सिक्दै हुनुहुन्थ्यो । बसेको ठाउँमा नै गोली चल्यो । त्यहाँबाट भागाभाग भएर हिँड्नुपर्‍यो । पछि फेरि बनारस गएर स्टेज कार्यक्रममा छनो भएर भारतको मध्यपुरमा पनि उहाँले कार्यक्रम गर्नुभयो । जस कमाउनुभयो । तर, विडम्बना ! घरमा आमा बिरामी भएको एउटा चिठी आयो, जसले गर्दा उहाँ फर्केर घरै आउनुभयो । यो घटना २०३३/०३४ सालतिरको हो । 

उहाँलाई अरूहरूले नसम्झाएको पनि होइन । मान्छे बिरामी भएपछि अस्पताल लैजाने हो । केही भइहालेका खण्डमा फेरि चिठी आउँछ । किनकि उहाँलाई बम्बई लैजाने जिम्मा नै कसैले लिएको थियो । तर, आमाको मायाले त्यसो हुन दिएन । 

मनले मानेन । भाग्यले दिएन । आमाबाबुबाहेक अरू बिरामी भएको भए कुरो अर्को हुन्थ्यो होला । तर, आमा नै बिरामी भएपछि मनले पटक्कै मानेन् । उहाँ उताको संसार छाडेर आउनुभयो । 

०००
विद्यार्थीकालदेखि 'परदेशी'को नामले चर्चित रामजीप्रसाद पोखरेल अर्थात् रामजी पोखरेलको जन्म २०१३ सालमा धनुषा जिल्लाको रघुनाथपुरमा भएको हो । उहाँको हजुरबा जमिन्दार हुनुहुन्थ्यो । ३००-४००  बिघाका मालिक । तर, क्रमशः सम्पत्ति सकिँदै गयो । 

बुबाको पालामा पनि जमिन छँदै थियो । जमिन्दार भएका कारण पनि आर्थिक रूपमा सम्पन्न नहुने कुरो भएन । रघुनाथपुरमा दामोदरशम्शेरका बुढा हजुरबाको दरबार थियो ।

त्यहाँको बिर्तावाल माल अड्डा सबै उहाँहरूकै थियो । त्यहीँ नै थियो उहाँहरूको घर । त्यो भनेको उस्ताद शम्भुप्रसाद मिश्रको घर गाउँ हो । मिश्र उहाँका बुबाको साथी । त्यस कारण सानैदेखि घरमा संगीतको वातावरण थियो । 

उहाँलाई खेल अत्यन्त मनपर्ने । फुटबल, भलिबल, कबड्डी अनि कुस्ती उहाँका प्रिय खेल थिए । उहाँ खेलका प्रायः प्रतियोगितामा भाग लिनुहुन्थ्यो र जित्नु पनि हुन्थ्यो । अप्ठ्यारो लाग्ने कारणले कुस्ती भने उहाँले गाउँघरमा मात्र खेल्नुभयो, बाहिर खेल्नुभएन । 

उहाँको बाल्यकालको त्यो खेलकुद र व्यायामको लत अहिले पनि छुटेको छैन । त्यसैले अहिले हेर्दा पनि उहाँको जीउडाल चटक्क मिलेको देखिन्छ । 

०००

उहाँको प्रारम्भिक शिक्षा द्वारिका प्राथमिक विद्यालयबाट सुरु भएको हो । बस्नलाई सामान्य डेस्क-बेञ्च थिए । कहिलेकाहीँ गर्मीमा चौतारामा बसेर पढ्दा भने बोरा सामान्य कुरा हो । उक्त स्कुल त्यसबेलाका समाजसेवी द्वारिका मानन्धरले खोल्नुभएको हो । 

सम्पन्न व्यक्तित्व फकिर चन्द गामी बितेपछि उहाँका छोराहरूले मिडिल स्कुल खोले २०१६ सालमा र पछि त्यो माध्यमिक विद्यालय भयो । उहाँले त्यसै स्कुलमा पढ्नुभएको हो । उहाँको माध्यमिक तहको पढाइ फकिर चन्द गामीमै भएको हो । विश्वको कुन देश होला, जहाँ फकिर चन्द गामीका विद्यार्थी छैनन् होला भन्ने भनाइ पनि चर्चित छ । तर, उहाँले एसएलसी भने प्राइभेटबाट दिनुभएको हो । 

स्कुलमा छात्रावासको पनि व्यवस्था थियो । धेरै परपरबाट विद्यार्थी पढ्नका लागि आउँथे । स्कुलको ठूलो कम्पाउण्ड भएका कारण फुटबललगायत अन्य खेल पनि हुन्थे । त्यसबेला त्यहाँका फुटबल खेलाडी पनि अगाडि बढे, चर्चित पनि भए । 

त्यसबेला त्यहाँ जीबचलाल दास भन्ने अंग्रेजी शिक्षक पनि हुनुहुन्थ्यो । उहाँलाई अंग्रेजीको कुन शब्द कुन शब्दकोशको कति पेजमा छ भन्ने कण्ठ थियो । कसैले सोध्यो भने यति पेजमा हेर् भनेर भन्नुहुन्थ्यो । 

उहाँलाई अन्यत्र थुप्रै ठाउँबाट पढाउन प्रस्ताव आए । तर पनि उहाँले म यहाँ छाडेर कतै जान्नँ भनेर जानुभएन । चपरासीदेखि विद्यार्थीसम्म कसैलाई पनि उहाँले तँ नभनी तपाईँ भन्नुहुन्थ्यो । कसैलाई उसको नाम सोधेपछि यसको अर्थ के हो भनेर सोध्नुहुन्थ्यो । नेपाली पनि त्यति नै राम्रो थियो । 

०००

उहाँको गाउँमा चार जात छत्तीस वर्णका सबैको बसोबास थियो । मधेस भएका कारण हिमाली बस्तीका मानिस हुने कुरा भएन अन्यथा सबै थिए ।

मधेसमा कोइरी जातले तरकारी खेती गर्ने काम गर्छन् । त्यहाँ कोइरी थिएनन् तर कवारी भन्ने मुसलमानहरूको बस्ती थियो, जसले तरकारी फलाउने काम गर्थे । 

कानपुरमा त्यसबेला एउटा जन्मदिनको अवसरमा पनि गाउनुभयो । त्यहाँ जय किशनका तबला गुरु पनि आउनुभएको थियो । उहाँले एक महिनापछि बम्बई लिएर जान्छु भन्नुभएको थियो तर त्यहाँ रक्तपातको घटना भएपछि उहाँ त्यहाँ छाडेर हिँड्नुभयो, यसले एउटा अवसर गुम्यो ।  अर्को घटना आमा बिरामी भएको चिठी पुगेपछि घर फर्किनुपर्‍यो । यसले अर्को अवसर गुम्यो । यस कारण जिन्दगीमा लेखिएको कुरा मात्र हुनेरहेछ भन्ने उहाँको एउटा विश्वास बनेको छ यस्ता घटनाहरूले । 

यस्तै, मधेशमा खत्वे भन्ने डोली बोक्ने एकथरी हुन्छन् । त्यहाँ खत्वे पनि थिएनन्, कारण, बिल्टाउ भन्ने अर्को जातले डोली बोक्ने काम गर्छन् । अर्को जुत्ता सिउने सार्की थिएनन्, कारण, जुत्ता सिउनुका लागि चमार थिए । भोटे, मगर, दमाइ, कामी, बाहुन, क्षेत्री सबै जातका फूलबारी थियो उहाँको गाउँ । संन्यासी भने थिएनन् । 

०००

उहाँकाा पिताजी देवीप्रसाद पोखरेल राम्रो बाँसुरी तथा तबला वादक । संगत नै उस्ताद शम्भुप्रसाद मिश्रसँग थियो । यसो पिताजी दायाँबायाँ लागेका बेला उहाँले बाँसुरी अनि तबला बजाउनुहुन्थ्यो । उहाँको परिवार नै गीत, संगीतमा डुबेको परिवार हो । 

स्कुलमा हप्तामा एक पटक सांगीतिक कार्यक्रम हुन्थ्यो । उहाँ गीत गाउन अगाडि सर्नुहुन्थ्यो । अगाडि सर्ने मात्र होइन, पहिलो पनि हुनुहुन्थ्यो । यो सबै घरपरिवारको प्रभाव थियो । 

संगीतमा लागेका कारण उहाँको कलेज पढ्नु अगाडि नै तबला वादक राजु अग्रवालसँग भेट भएको हो । काठमाडौंमा उहाँको बसाइ डिल्लीबजारमा थियो,जहाँ हार्मोनियम, गितार, तबला सबै थिए । त्यस कारण गाउने, बजाउने सबै साथीहरूको जमघट हुन्थ्यो । 

शक्ति वल्लभ, रविन शर्मा, उमेश पाण्डे, नरेन्द्र प्यासीलगायत सबै कलाकार उहाँकहाँ आउँथे अनि तबला चाहियो भने राजु अग्रवाललाई बोलाइदिन भन्थे । उहाँ अग्रवाललाई बोलाइदिनुहुन्थ्यो । 

२०३६ सालमा होला, बूढानीलकण्ठ स्कुलमा तत्कालीन युवराज दीपेन्द्र शाहको बाहुलीमा एउटा कार्यक्रम भएको थियो, जसमा राजु अग्रवाल पनि सहभागी हुनुहुन्थ्यो । 

२०५२ सालमा त्यसबेला किंग शो कार्यक्रम हुन्थ्यो । कार्यक्रममा श्री ५ जति सबैको सवारी हुन्थ्यो । अन्य भीभीआईपीहरू  पनि हुन्थे । कार्यक्रम नेपाली सेनाको आयोजनामा हुने गर्थ्यो । त्यहाँ अग्रवाल तबलामा हुनुहुन्थ्यो भने गायनमा उहाँ । 

०००

पछि राजु अग्रवाललाई धेरै रेस्टुरेण्टमा बजाउन बोलाए । उहाँ पनि सँगै गाउन पुग्नुभयो । 

उहाँले होटल सोल्टीमा बाँसुरी वादक प्रेम औतारीले छाडेपछि केही समय बाँसुरी बजाउने काम पनि गर्नुभयो । केही समय हिमाल सिमेन्टमा पनि काम गर्नुभयो । 

उहाँको पहिलो जागिर थियो नक्सा आयोजनामा । जागिर अस्थायी थियो । एक वर्ष हिमाल सिमेन्टमा पनि खानुभयो जागिर ।जागिरको झण्डै ३० वर्ष लामो सिलसिला चल्यो कृषि विकास बैंकमा । 

०००

गुलाम अली नेपाल आएका बेला उहाँ, अग्रवाल र सुरेन्द्र श्रेष्ठ र्‍याडिसन होटलमा भेट्न जानुभएको थियो । अग्रवालले 'तपाईँको कार्यक्रममा तबला बजाउने मै हुँ' भनेपछि उहाँले राम्रै आतिथ्य गर्नुभयो । 

मेहेदी हसन २०३७ सालमा नेपाल आउनुभएको बेलामा उहाँ र राजुले गएर फोटो खिच्नुभएको थियो सम्झना स्वरूप । तर, फोटो खिच्ने भैरव स्टुडियोले त्यही रिलचाहिँ बिग्रिएको खबर दियो ३-४ दिनपछि ।

अरू धेरै साथी छुटे तर उहाँ र राजु अग्रवालको त्यो जोडी आजपर्यन्त कायम नै छ । 

०००

उहाँ आफूलाई समय दिन नसकेर संगीतमा पछाडि परेको ठान्नुहुन्छ किनकि उहाँले २०४१ सालदेखि कृषि विकास बैंकमा जागिर खानुभयो । जागिर खाएपछि १०–५ अफिसमा पनि दिनुपर्ने अनि त्यही समयमा रेडियो नेपालमा पनि रेकर्डिङ हुने कारणले उहाँलाई गीत रेकर्डिङमा समस्या भयो । 

रेकर्डिङका लागि रेडियोमा गएर समय लिन मिल्ने अनि रेकर्डिङका दिन जान मिल्नेसम्मको वातावरण त बन्यो तर अलिक समय दिएर रेकर्डिङ गर्न र अन्य सांगीतिक गतिविधिमा लाग्न भने मिलेन । उहाँका १०-१२ वटा गीत रेकर्ड भएका छन् रेडियो नेपालमा । उहाँले रेडियो नेपालबाट गायकको कार्ड पनि प्राप्त गर्नुभएको छ, जुन अब कसैले पनि पनि प्राप्त गर्दैन । कारण- त्यसमा 'श्री ५ को सरकार'  लेखिएको छ भनेर उहाँले रमाइलो पनि गर्न भ्याउनुभयो । 

२०५१ सालमा उहाँ आधुनिक गीत प्रतियोगितामा प्रथम हुनुभएको हो । प्रतियोगितामा २७५ जनाले भाग लिएका थिए, जसमा उत्कृष्ट १० जना पास भए । त्यसमा उहाँको नाम एक नम्बरमा थियो । गीत थियो – 

'म मरेँ, म मरेँ, आऊ मेरी सखा, भो अधुरो मेरो जिन्दगीको कथा ।' ‘ग्लान भो मेरो आनन प्रिया सामुमा’ भन्ने अर्को हरफ थियो । तर, रेडियो नेपालको गीत पास गर्ने मान्छेले नबुझेपछि 'छटपटी भो प्रिया सामुमा आऊ' भनेर त्यसलाई परिमार्जन गरियो । गीतकार उहाँकै ठूलो बुबाका छोरा दाजु हरिभक्त पोखरेल हुनुहुन्थ्यो ।

जागिर छुटेपछि रेडियोमा रेकर्डिङ बन्द भयो, त्यसैले उहाँका त्यति धेरै गीत भने रेकर्ड हुन सकेनन् । 

दामोदर सिलवाल भन्ने त्यसबेलाका कर्णेल सा'बले लेखेको तथा शुभबहादुरले संगीत गरेको ‘जय भवानी तिम्रो भक्ति गर्छु चरणमा’ भन्ने भजन पनि निकै चर्चित भएको थियो । 

०००
उहाँको बिहे २०४२ सालमा भएको हो । उहाँका एक छोरा तथा एक छोरी हुनुहुन्छ । छोरी हाल अमेरिकामा हुनुहुन्छ भने छोरा पनि बम्बईको फिल्मी इन्स्टिच्युटमा तालिममा प्रथम भएर नेपाल आउनुभएको छ । कोरोनाका कारण उता जान नमिलेपछि अहिले नेपालमा छोटा फिल्महरूमा काम गर्दै हुनुहुन्छ । 

००० 

उहाँ बनारस गएका बेला त्यसबेलाका फिल्मी गायक देवाशीष  दासकहाँ पुग्नुभएको थियो । उहाँको कोठामा बसेर हार्मोनियम बजाएर गीत पनि गाउनुभयो । 

कानपुरमा त्यसबेला एउटा जन्म दिनको अवसरमा पनि गाउनुभयो । त्यहाँ जय किशनका तबला गुरु पनि आउनुभएको थियो । उहाँले एक महिनापछि बम्बई लिएर जान्छु भन्नुभएको थियो तर त्यहाँ रक्तपातको घटना भएपछि उहाँ त्यहाँ छाडेर हिँड्नुभयो, यसले एउटा अवसर गुम्यो । 

अर्को घटना आमा बिरामी भएको चिठी पुगेपछि घर फर्किनुपर्‍यो । यसले अर्को अवसर गुम्यो । यस कारण जिन्दगीमा लेखिएको कुरा मात्र हुनेरहेछ भन्ने उहाँको एउटा विश्वास बनेको छ यस्ता घटनाहरूले ।