अनुसन्धानको पाटो: महाभारतको लडाइँमा पाण्डवको तर्फका निर्णायक योद्धामा यलम्बर !

फर्कलान् र ती दिनहरु

अनुसन्धानको पाटो: महाभारतको लडाइँमा पाण्डवको तर्फका निर्णायक योद्धामा यलम्बर !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  बैशाख १७, २०७९

सबै अनुभवहरु सबैलाई काम लाग्ने हुन्छन् भन्ने पनि होइन किनभने अनुभव व्यक्तिगत भोगाइ हो । त्यस्तै त्यस्तै परिवेश र घटनाले प्रभाव पारेकाहरूलाई त्यस्ता अनुभवले छुन्छ तर परिणाम भने फरक फरक हुने गर्छन् किनभने व्यक्ति फरक हो, परिवेश फरक हो र घट्ने घटनाका आधारहरु पनि फरक हुन्छन् । हामी एउटै समाज र संस्कृति हुर्कनेहरूका लागि भने घटना फरक भए पनि परिणामहरु उस्तै उस्तै हुने रहेछन् किनभने तिनले इतिहासका काम गर्छन् नै । 

मैले नेपालको इतिहास जहाँ वहुधर्म, वहु भाषा, वहु संस्कृति र अनौठो संस्कृति छ । यहाँ धर्मका कारणले पनि एकरुपता छैन । जस्तो कि हिन्दु धर्मावलम्बीहरूका बीचमा पनि संस्कृतिका कारणले फरक फरक चलन पाइन्छ । यहाँ ब्राह्मण, क्षेत्री, वैश्यका फरक फरक संस्कृति पाइँदा पनि एकरुपता पनि छ,  एक रुपता भित्र अनेकता पनि छ ।

धर्म र संस्कृतिको कुरा गर्दा इस्लाम धर्ममा संसारभर एकरुपता देखिन्छ । मैले नेपालमा रमजान मनाउने, इस्लाम देशहरुमा रमजान मनाउने र युरोपका देशहरुमा रमजान मनाउने कुरामा फरक पाइँन तर नेपालीहरुको दसैँ मनाउने कुरामा आफ्ना उस्तै उस्तै जात र धर्ममा पनि फरक फरक चलन पाइन्छ ।

धार्मिक चलनको संस्कृति र संस्कृतिभित्रको धार्मिक चलनमा इस्लाम धर्ममा एकरुपता पाइँदो रहेछ जसलाई हामी अर्को धर्म मान्नेहरूले कट्टरता भन्छौँ तर त्यो संस्कृतिको निरन्तरता हो । हो, विवाह, सम्बन्ध विच्छेद, महिलाका अधिकार र धार्मिक प्रचलन अनुसारको समाजमा हुने अपराधका दण्डहरूमा सुधार पनि हुँदै गएका छन् र मानव अधिकारको क्षेत्रभित्र पर्ने कुरामा ती समाजमा बहस सुरु भएकै छ । बाहिरबाट दबाब दिएर परिवर्तन हुने भन्दा समाजमा नै अन्तर्मन्थन गरेर हुने परिवर्तनले स्थायित्व पाउने गर्छ भन्ने सामाजिक अभियन्ताहरुको धारणा यहाँ पुष्टि हुन्छ ।

नेपालमा पनि इस्लाम धर्मिहरु नेपाली समाजमा यसरी अन्तर घुलित भएका छन् कि उनीहरुको सम्पूर्ण चलनहरू नेपालीकरण हुँदै गएका छन् । दसैँ, तिहारमा इस्लाम धर्मीहरुको रमाइलो गर्ने अनि ईदमा अरु धर्मकाले भगवान उनै हुन् अल्लाहको ध्यान गर्ने र नमस्कार गर्दै मस्जिद वरिपरि रमाइलो मान्दै एकअर्कालाई वधाई दिने चलन अचेल बडो धुमधामसँग चलेको पाइन्छ ।  

अनुपम वीरता र खोजीको इतिहास छ, महाभारत कालमा समेत नेपालमा ऊन र तिब्बत जाने सहज बाटोको लागि र पशुपति नाथको मन्दिरका बारेमा कतै कतै प्रसङ्ग आउँछ । कर्णले आफू अंग नरेश भएपछि अंग,  बंग जानका लागि नेपालको बाटो हुँदै आसाम तिर जान लाग्दा काठमाडौँमा आएर स्थानीय देवीदेवताको पूजा गरेको बुझिन्छ ।

नेपालका गोरखा, तनहुँ, कास्की, अर्घाखाँची , गुल्मी जस्ता कतिपय जिल्लाका भित्री भागमा इस्लाम धर्मीहरु पहाडी समाजमा यसरी घुलमिल गरेर बसेका छन् कि उनीहरुले उर्दू भन्दा नेपाली बोल्छन् अनि अन्तरजातीय, अन्तर धार्मिक विवाह बढेको छ, सहिष्णुता थपिएको छ । अली मियाँलाई नेपाली समाजमा नेपाली लोकगीतको एउटा अनुपम गायकका रुपमा लिइएको थियो र धर्मराज थापा पछिको चर्चित गायकका रुपमा लिइएको छ ।

उहाँ कास्कीको मात्र गायक नभएर सम्पूर्ण नेपालीको लोकगायकका रुपमा हुनुहुन्थ्यो । उहाँको अनुपम कल्पना शीलता र गायकीको प्रशंसा नगर्ने को पो थियो र ? खासगरी इस्लाम धर्मी भन्ने चाहिँ उहाँहरुको नाममा पाइने शब्दहरूका कारणले थाहा हुने हो तर २०७४सालको पहिलो प्रादेशिक निर्वाचनबाट तत्कालीन २ नम्बर प्रदेशका मुख्यमन्त्री , जुन हाल मधेस प्रदेश भएको छ, लालबाबु राउत हुनुहुन्छ ।

 उहाँको नाम, बोलाइ र सम्पूर्ण व्यवहारले सर्वधर्मी देखिनु हुन्छ किनभने जनकपुर जस्तो ठाउँमा मनाइने सबै धर्मका कार्यक्रममा उत्तिकै सहजताका साथ सहभागिता देखिन्छ र जानकी मन्दिरको विकासमा यसरी लाग्नु भएको छ उहाँको धर्म प्रतिको सह भावले कसैले पनि उहाँ हिन्दू धर्मी होइन भनेर भन्दैनन् एकातिर भने उहाँ आफैँ इस्लाम धर्मी हुँदै हो ।

कुनै बेलामा नेपालका चर्चित शिक्षाविदका रुपमा थिए मोहम्मद मोहसिन जो नेपालका धेरैवटा मन्त्रालयमा  पटक पटक मन्त्री हुँदै संस्कृति मन्त्री पनि भएका थिए । संस्कृति मन्त्रीले पशुपति विकास कोषमा अध्यक्षता गर्नुपर्थ्यो । पछि राष्ट्रिय सभाको सम्माननीय अध्यक्ष हुँदा राजाका हातबाट दसैंमा टिका जमरा लगाएको फोटो टेलिभिजनमा देखिन्थ्यो । उनले आफ्ना धर्मका गुरुहरुलाई भनेका थिए रे ! हिन्दू धर्मप्रति किन बढी लगाव भन्दा-सम्माननीय अध्यक्ष एउटा राजकीय पद हो, त्यो मैले नेपाली जनताको माथिल्लो सदनमा निर्वाचित भएर पाएको हो, त्यहाँ मैले व्यक्तिका रुपमा के गर्ने भन्दा पनि मुलुकको चलनलाई मान्नुपर्छ, नत्र मेरो कर्तव्य पूरा हुँदैन । या त मैले त्यो पद स्वीकार गर्नु भएन, होइन भने राजकीय चलनलाई मैले मान्नुपर्छ ।

हुन त त्यसो नगरेको भए पनि,  दसैंमा टिका लगाउन नगएको भए पनि र अरुलाई टिका नलगाएको भए पनि हुन्थ्यो होला तर नेपालको धार्मिक सहिष्णुताको त्यो एउटा नमुना नै थियो । त्यसैले नेपाली मुसलमानमा देखिने सहिष्णुता र नेपाली अन्य धर्मालम्बीले मुसलमानहरूप्रति गर्ने समान व्यवहारले संसारमा नै अनुपम उदाहरण पाइन्छ भनेर हामीले संसारलाई भन्न पाएका छौँ ।

बुद्ध धर्मको कुरा गर्दा त कसले पो हिन्दू धर्मभन्दा फरक मानेको छ र ? किनभने हाम्रा देउता नै एउटै छन्, वेद पनि एउटै छ । बरु संस्कृतिमा केही फरक होला, त्यो त मैले भने नि, तराईमा बस्ने बाहुन ,क्षत्री र अन्य जातको पहाडमा बस्नेको धर्म र तराईमा बस्ने एउटै भए पनि संस्कृतिमा आधारभूत रुपमा नै फरक छ तर पथ प्रदर्शन त वेदका आधारमा नै हो, मनाउने तरिकामा  भने  केही फरक नै छ । 

हामी अन्तर घुलित समाजका रुपमा विकसित भएका रहेछौँ । उत्तरबाट नेपालमा आउने मंगोलहरुको पनि एउटै संस्कृति बन्न सकेको छैन, दक्षिणबाट हजारौँ वर्ष पहिले आउने वा पामिरको गाँठोबाट पूर्वी पहाडतिर हानिएर आउने ककेसियनहरुको पनि आधार ग्रन्थ वेद नै भए पनि प्रचलनमा आएका परिवर्तनले धेरै फरक परेको पाइन्छ ।

हामी पहाडमा बस्ने विभिन्न गोत्रीय  बाहुन र क्षेत्रीको र तराईमा बस्ने विभिन्न गोत्रीय बाहुन र क्षेत्रीको सांस्कृतिक चलनमा फरक पाइन्छ । मैले थाहा पाए अनुसार पहाडमा बस्ने बाहुनहरूले मृत्यु कर्ममा गरिने १२ या १३ दिने काममा मासुका या माछाको चलन हुँदैन, बरखी भर मासु खाने चलन पनि छैन तर तराईमा क्रिया बस्ने चलन र काम सम्पन्न गर्ने चलनमा केही फरक छ र किरियाको अन्त्यमा मासु या माछाको भोज अनिवार्य जस्तै हुने रहेछ ।

हामी पहाडी बाहुन तथा क्षेत्रीहरू बा आमाको किरियामा सबै दाजुभाइले पहिलो दिनदेखि नै कोरामा बस्छौँ तर पहाडमा नेवार समुदाय र तराईमा बाहुन तथा क्षेत्रीहरूको धेरै चलन मिलेको पाइन्छ । त्यसले के अनुमान गर्न सकिन्छ भने काठमाडौँ उपत्यकाको संस्कृति विकासमा सिमरौनगढ र तिरहुतको धेरै प्रभाव परेको रहेछ । गोपाल, महिष पाल भनेका श्रीकृष्णका सन्तान मान्ने चलन पनि छ र ती अहिले नेपालमा यादवका रुपमा परिचित छन् ।

यो पनि एउटा संयोग भएको थियो कि नेपालमा राजतन्त्रको अन्त्यपछि हुने पहिलो राष्ट्रपति यादव जातबाट हुनुभएको थियो डाक्टर रामवरण यादव । यादवहरूको नेपाल प्रवेश त वाणासुरको अन्त्यका लागि भएको मानिन्छ जुनबेला बाणासुरको अत्याचारबाट नेपाली जनतालाई मुक्त गर्न स्वयं श्रीकृष्ण आउनु भएर दहमा लुकेर बसेको वाणासुरलाई दह खोलेर पत्ता लगाई मारेको मानिन्छ ।

कतिपय धार्मिक विश्वासमा श्रीकृष्णले नै सुदर्शन चक्रले चोभारमा काटेर काठमाडौँको दहबाट पानी बाहिर पठाएको मानिन्छ । अनि यहाँ दहभित्रको ठाउँमा बसोबास गराएर मात्र  श्रीकृष्ण द्वारिका धाम फर्कनु भएको थियो भन्ने पनि छन् । त्यसको प्रमाणित आधार पाइँदैन । त्यसो त महा मञ्जुश्रीको आगमन र खुँडाले चोभारमा काटेर पानी बाहिर पठाएको पनि कति विश्वास योग्य छ र ? तर त्यही भनिएको छ, मानौँ जबसम्म अर्को प्रमाणित तथ्य फेला पर्दैन । 

अन्य धर्ममा भन्दा त्यसमा पनि बहुसांस्कृतिक देशको सांस्कृतिक इतिहासको त्यति अध्ययन गरेको छैन जसका लागि मलाई अहिले आएर थक्क थक्क लाग्छ । साँच्चै नेपालको अध्ययन हुन बाँकी रहेको छ भन्ने लाग्न थालेको छ । जस्तो कि भगवान बुद्धको अध्ययन गर्नेहरु भन्छन्, नेपालको त्यो कपिलवस्तु क्षेत्रमा नै त्यही बेलामा गणतन्त्रको अभ्यास गरिएको थियो ।शाक्य गणतन्त्रको रुपमा ।

शाक्यहरू आफूलाई ब्राम्हणका सन्तानका रुपमा मान्ने रहेछन् कपिल मुनिका सन्तानका रुपमा । त्यसो त बुद्ध धर्मावलम्बीहरूका लागि बज्राचार्यहरूले पुरोहितको काम, धर्माचार्यको काम गरिरहेको अहिले पनि देखिन्छ । बज्राचार्य र शाक्यका बिचमा मैले पाएको अन्तर हो शाक्यहरूले कर्मकाण्ड गरेको पाइँदैन तर बज्राचार्यहरूले कर्मकाण्ड गर्ने अधिकार पाएको देखिन्छ । मेरो ज्ञान त्यति नभएको तर सुनेको देखेको आधारमा भनेको हुँ ।

शाक्य र बज्राचार्यहरूका बीचमा विवाह भएको पाइन्छ तर शाक्यहरूले पुरोहितको काम गरेको मैले सुनेको छैन । बज्राचार्यहरूलाई हामीले पनि  गुरुजी नै भन्ने गरेका छौँ । त्यस्तै राजोपाध्याय पनि हिन्दू नेवारहरूका गुरु पुरोहित हुने रहेछन् । राजोपाध्याय र हामी पहाडका अन्य उपाध्याय ब्राह्मणहरु एउटै हौँ तर उनीहरुले काठमाडौँमा सायद लिच्छवि र मल्ल दरबारहरूमा गुरु पुरोहितको काम गरेकाले उनीहरुले राजोपाध्यायको उपाधि पाएका होलान् ।

सामान्यतया नेवार समुदायमा छोरीहरुले नाक छेड्ने चलन रहेको पाइँदैन तर राजोपाध्याय  बाहुनीहरूले नाक छेड्दा रहेछन् र आजभोलि राजोपाध्याय लामो थर लेख्नुभन्दा शर्मा लेख्ने रहेछन् । राजोपाध्याय पद हो, थर त हाम्रै जस्तो सुवेदी होला, आचार्य होला या त्यस्तै थर होला किनभने उनीहरु यहाँ नै बसे, हामी यायावर हुँदै पहाडी क्षेत्र घुम्दै रह्यौँ र पहाडी राजाहरूसँगै आयौँ मल्ल राजाहरुको अन्त्यपछि । त्यसो त सेन वंशी , मल्ल वंशी , शाह वंशी राजाहरुको राज्यहरू थिए अहिलेको नेपालका धेरै भागहरुमा एकीकरण पहिले । 

मेरा आफ्ना अनुभवहरूको कुरामात्र लेखेको हुँ । कतिपय कुरामा मेरो अध्ययन कम भएकाले अनुमान मात्र गर्न सक्छु । त्यसो त गोपालीहरु अहिले पनि छन् तर यी हजारौँ वर्षपछि उनीहरुमा कति पहिलेको इतिहास बाँकी होला ? तर पनि नेपालमा अहिले पनि आधिकारिक इतिहासका लागि गोपाल वंशावलीको क्रम बद्धतालाई नै मानिन्छ । गोपाल वंश, महिष पाल वंशको एउटै इतिहास हुनुपर्छ । तर अब त्यसबारेमा कसरी अनुसन्धान गर्ने होला र ? अझ बेलायतीहरुले गरेका अनुसन्धानलाई नै आधार मानेर हामीले थप अनुसन्धान गर्नुपर्ने अवस्था छ । 

नेपालको सुन्दर इतिहास छ, अनुपम वीरता र खोजीको इतिहास छ, महाभारत कालमा समेत नेपालमा ऊन र तिब्बत जाने सहज बाटोको लागि र पशुपति नाथको मन्दिरका बारेमा कतै कतै प्रसङ्ग आउँछ । कर्णले आफू अंग नरेश भएपछि अंग,  बंग जानका लागि नेपालको बाटो हुँदै आसाम तिर जान लाग्दा काठमाडौँमा आएर स्थानीय देवीदेवताको पूजा गरेको बुझिन्छ ।

आफूलाई राजा बनाउने दुर्योधनका लागि कर्णले विजय अभियानको नेतृत्व गरेको बुझिन्छ र भैंसालोटनमा आएर नेपालका किराँती राजालाई आफू नेपालसँग सम्बन्ध विस्तार गर्न चाहने भएकाले सकुशल उपत्यका आउन चाहेको र स्थानीय देवता अर्थात् किराँतेश्वर महादेवको पूजा अर्चना गर्न चाहेको बताएका थिए भनिन्छ । किराँतेश्वरको यस कारणले महत्व भएको हो कि अर्जुनलाई किराँतेश्वर महादेवले दिएको वरदान र हतियारका बारेमा कर्णलाई थाहा नहुने कुरै भएन ।

आजको नेपालीहरुका आराध्य देव  पशुपति नाथ नै त किराँतेश्वर महादेव हो नि !  तिनै किराँती हुन् जसले युधिष्ठिरको राजकीय यात्रामा सहयोग गर्न गएका थिए,  राजसूय यज्ञमा गएर कोसेली चढाएका थिए र महाभारतको लडाइँमा पाण्डवका तर्फबाट युद्धमा भाग लिएका थिए ।  मानिएको छ , यलम्बरले त्यो युद्धमा भाग लिएका थिए । अझ भन्नेले त भन्छन्, त्यो युद्धमा निर्णायक योद्धाका रुपमा यलम्बर थिए र उनै हुन् बर्बरिक जसलाई युद्धमा भाग लिनुभन्दा पहिले नै हत्या गरेर उनको टाउको पहाडको टाउकोमा राखिएको थियो । यी अनुसन्धानका विषयहरु हुन् । मैले मात्र आफ्ना सांस्कृतिक चेतको अबुझ धारणालाई सार्वजनिक गरेको मात्र हुँ । अझै धेरै अनुसन्धान बाँकी छ जसले नेपालको इज्जतलाई , सम्मानलाई विश्वव्यापी बनाउन सकिने छ । क्रमशः