भरतपुर र पोखरामा सत्तापक्ष र प्रतिपक्ष दुवैको प्रतिष्ठाको लडाईँ: एमाले आफ्नो भन्दा बागीको प्रचारप्रसारमा !

लोकसंवाद टिप्पणी

भरतपुर र पोखरामा सत्तापक्ष र प्रतिपक्ष दुवैको प्रतिष्ठाको लडाईँ: एमाले आफ्नो भन्दा बागीको प्रचारप्रसारमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७९

आगामी वैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले चुनाव चिह्न समेत वितरण गरिसकेपछि प्रचारप्रसारको काम तीव्र बन्न थालेको छ ।

दलगत रुपमा उम्मेदवार बन्नेहरूको चुनावी प्रचार चलिरहेका बेला शनिबारदेखि निर्वाचन चिह्न पाएका स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन चिह्नसहित प्रचार अघि बढाएका छन् । स्वतन्त्र उम्मेदवारहरु यसअघि देखि नै निर्वाचन प्रचारमा रहे पनि चिह्नसहित प्रचार प्रसार सुरु गर्न थालेका हुन् । 

चासो भरतपुर र पोखराको

देशैभर स्थानीय तह निर्वाचनको सरगर्मी बढे पनि सबैभन्दा बढी चर्चामा चितवनको भरतपुर र पोखरा महानगरपालिका छन् । भरतपुर महानगरपालिकामा निवर्तमान मेयर रेणु दाहाल चुनावी मैदानमा छिन् । सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी समेत हुन् । प्रचण्डको चुनावी क्षेत्र पनि यही भएका कारण स्थानीय तहको यो निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।

यो स्थानीय तह निर्वाचनले आगामी संसदीय निर्वाचनमा प्रचण्डको भविष्यलाई समेत प्रभाव पार्नेछ । तुलनात्मक रुपमा ६ वटा महानगरमध्ये भौतिक संरचना निर्माणका हिसाबले सबैभन्दा बढी काम भरतपुरमा नै भएको विषयमा सबै दलाका नेता तथा कार्यकर्ताले सहमति जनाइ रहेका छन् । 

यसपटक पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धनबाट रेणु मेयरको उम्मेदवार छिन् । अघिल्लो पटक मतपत्र च्यातेर चुनाव जितेको आरोप खेप्दै आएकी रेणुलाई यसपटक सहज रुपमा चुनाव जित्नु पर्ने चुनौती छ । यद्यपि अघिल्लो पटक स्थानीय तहमा कांग्रेसको साथ पाएर चुनाव जिते लगत्तै माओवादी केन्द्र र एमालेबीच प्रदेश र संघीय संसदको निर्वाचनमा गठबन्धन हुँदै पार्टी एकता समेत भएको थियो । 

यसपटक पनि स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीसँगै छन् । तर यसपटक कांग्रेसबाट मेयरमा जगन्नाथ पौडेल बागी उम्मेदवार छन् र उनले कांग्रेसको झण्डासहित निर्वाचन प्रचार गरिरहेका छन् । रेणु विरुद्ध पौडेल बागी उठेपछि त्यहाँको परिणाम कस्तो आउला भन्ने चासो अहिलेदेखि नै सुरु भएको छ ।

प्रचण्ड पुत्री रेणु दाहालको उम्मेदवारी, एमालेसँगको पुरानै दुश्मनी, पार्टी विभाजनको तिक्तता, चितवनकै माओवादी नेता रामबहादुर थापाको एमालेमा प्रवेश, ओली र प्रचण्डबीच सार्वजनिक मञ्चबाट करिब डेढ वर्षदेखि जारी आरोप प्रत्यारोपका कारण पनि यहाँको चुनावी परिणाम सबैका लागि प्रतीक्षाको विषय बनेको छ ।

एमालेले माओवादी पत्ता साफ भएको र माओवादीले एमाले पराजित भएको हेर्ने इच्छाका कारण पनि भरतपुरमा सत्तापक्षको शक्ति एकातिर र प्रतिपक्षी शक्ति अर्कोतिर हुने तथा ठूलो दुवै पक्षबाट सबै हत्कण्डा प्रयोग हुने देखिन्छ । 

भरतपुरमा कांग्रेसबाट जगन्नाथ बागी उठेको र एमालेलाई राप्रपाले समेत साथ दिएकाले रेणु दाहाल हार्ने सम्भावना हुनसक्ने र अर्कोतिर कांग्रेसका असन्तुष्टले जगन्नाथलाई नै भोट हाल्ने भएका कारण एमालेको नै भोट घट्ने अनुमान आइरहेको छ । पोखरामा भने कांग्रेसको असन्तुष्ट भोट बागीमा उम्मेद्वार जाने, एमालेमा पनि राम्रो प्रभाव रहेका कारण धनराजले एमालेको भोट काट्ने र कांग्रेसको गठबन्धनमा नगएको मत एमालेमा नजाँदा गठबन्धनका उम्मेदवार विजयी हुने सम्भावना बढी हुने तर्क आइरहेको छन् । 

अर्कोतिर पोखरामा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य चुनावी मैदानमा छन् । उनले एमालेका कृष्ण थापासँगै प्रतिस्पर्धा गर्नेछन् । एमालेबाट विभाजित भएर बनेका एकीकृत समाजवादी देशभरबाट पराजित भएको हेर्ने चाहाना एमालेको छ । एकीकृत समाजवादी भने गठबन्धनको बलियो साथका कारण पोखरामा जित्नेमा ढुक्क देखिन्छ । यद्यपि त्यहाँ पनि कांग्रेसका बागी उम्मेदवार रहेकोमा फिर्ता लिने समयमा दुबै जनाले  फिर्ता लिएको अवस्था छ । 

कांग्रेसले मेयर नपाएका दुवै महानगरमा बागी उम्मेदवार रहेका कारण गठबन्धनका उम्मेदवारको भोट काटिने र आफूले जित्नेमा एमाले केही उत्साहित देखिन्छ । भरतपुरमा पनि रेणु विरुद्ध सत्ता गठबन्धन बाटै बागी उम्मेदवारी परेपछि राप्रपाको समेत साथ पाएको एमाले सहज जित निकाल्ने आँकलन गरिरहेको छ । 

सरसर्ती हेर्दा कांग्रेसको ठूलो समूह असन्तुष्ट रहेको र पौडेल उम्मेदवार रहेकाले रेणुलाई जित्न कठिन रहेको एमाले नेताहरु बताउँछन् । एमालेका कार्यकर्ताहरु समेत भरतपुरमा आफ्ना उम्मेदवारको प्रचारभन्दा बढी रेणुको बागी परेको प्रचारमा केन्द्रित हुन छन् । भरतपुर र पोखरामा बागी उम्मेदवारलाई अघि सारेर गठबन्धन दलहरुबीच तिक्तता बढाउने एमालेको अर्को रणनीति भरतपुरमा प्रष्टै देखिन्छ । एमाले भरतपुर गुमाएर भए पनि गठबन्धन दलहरुबीच दुरी बढाउने अखटोका रुपमा प्रयोग गरिरहेको छ ।

तर राजनीतिक विश्लेषकहरु भने एमालेको यो सोझो हिसाबमा मात्रै सहमत छैनन् । उनीहरुका अनुसार कांग्रेसका बागी हुँदा एमालेलाई सहज भन्दा बढी असहज हुँदै छ । दुवै स्थानमा कांग्रेस कार्यकर्ताले कम्युनिस्टलाई भोट नहाल्ने बताएका छन् । अर्कोतिर गठबन्धनमा नखसाएर एमालेमा जानसक्ने कांग्रेसी भोट पनि अब जगन्नाथले नै तान्नेछन् । त्यसले गर्दा रेणु र धनराजलाई जित्न झनै सहज हुनसक्ने आँकलन गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुको रहेको छ ।

यतिबेला भरतपुर र पोखराको परिणामको विश्लेषण दुई प्रकारले भइरहेको छ । भरतपुरमा कांग्रेसबाट जगन्नाथ बागी उठेको र एमालेलाई राप्रपाले समेत साथ दिएकाले रेणु दाहाल हार्ने सम्भावना हुनसक्ने र अर्कोतिर कांग्रेसका असन्तुष्टले जगन्नाथलाई नै भोट हाल्ने भएका कारण एमालेको नै भोट घट्ने अनुमान आइरहेको छ । पोखरामा भने कांग्रेसको असन्तुष्ट भोट बागीमा उम्मेद्वार जाने, एमालेमा पनि राम्रो प्रभाव रहेका कारण धनराजले एमालेको भोट काट्ने र कांग्रेसको गठबन्धनमा नगएको मत एमालेमा नजाँदा गठबन्धनका उम्मेदवार विजयी हुने सम्भावना बढी हुने तर्क आइरहेको छन् । 

२०७४ को निर्वाचनमा पोखरामा एमालेले जितेको थियो । यसपटक पोखरामा एमाले विभाजित भएर एकीकृत समाजवादी बनेको छ । समाजवादीको समेत राम्रो प्रभाव रहेको महानगरपालिका भएकाले कांग्रेससहित गठबन्धनको मत आएमा जित सहज हुने एकीकृत समाजवादीको विश्लेषण छ । भरतपुर र पोखरामा सबै दल जित हारको अंकगणित बनाउनमा व्यस्त छन् । आगामी वैशाख ३० गतेसम्म जसले सबैभन्दा राम्रो व्यवस्थापन गर्नसक्छ उसले मेयर जित्ने भएकाले दलहरुले अघिल्लो निर्वाचनलाई आधार मानेर बनाएका समीकरण र अंकगणित फेल हुन्छ या पास हुन्छ भन्ने हेर्न केही समय पर्खिनुपर्नेछ ।