७० जिल्लामा पुग्यो मतपत्र

७० जिल्लामा पुग्यो मतपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७९

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै सातामा पठाइनेछ ।

१७ वैशाखसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ । बाँकी रहेका जिल्लामा मधेस प्रदेशका ८, प्रदेश १ को मोरङ, बाग्मती प्रदेशका रसुवा, चितवन, ललितपुर, काठमाडौं र भक्तपुर छन् ।

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही १३ वैशाखदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । यसअघि ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि १ करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेकामा आज भक्तपुर जिल्लाका लागि मतपत्र छपाइ सुरु भएको छ । 

महानगर र भक्तपुरका लागि छापिने मतपत्र उम्मेदवारी मनोनयनपत्र दर्ताको अन्तिम नामावलीका आधारमा पूर्ववत् डिजाइनमा निर्वाचन चिह्न थपघट गरेर छपाइ हुँदै छ ।