बहुमत ल्याउन गठबन्धन गरेको कांग्रेस नेता पौडेलको दाबी

बहुमत ल्याउन गठबन्धन गरेको कांग्रेस नेता पौडेलको दाबी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७९

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनकाे विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृहजिल्ला तनहुँमा नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे । ‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनुहोला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्ध गरेकाे हाे । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ’, उनले भने । 

गठबन्धनविरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अरिहार्य रहेको नेता पौडेलकाे भनाइ छ । उनले गठबन्धनलाई बलियाे बनाउनेतर्फ लाग्न जिल्लाका नेता, कार्यकर्तालाई सुझाव पनि दिए ।

'देशलाई स्थायित्वमा लैजान आवश्यक छ । नेपाली कांग्रेस नेतृत्वमा संविधानको रक्षा भएको छ', उनको जिकिर छ । रोजगारी र आम्दानीलाई सार्थक बनाउन तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए ।

यद्यपि, तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन सकेन । आ-आफ्नै तरिकाले दलहरूले गठबन्धन गरेर निर्वाचनकाे तयारी गरिरहेका छन् ।