७६ जिल्लाको मतपत्र छापियो, आजदेखि भक्तपुरको छापिँदै

७६ जिल्लाको मतपत्र छापियो, आजदेखि भक्तपुरको छापिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७९

३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि अन्तिम अर्थात् भक्तपुर जिल्लाको मतपत्र छपाइ सुरु हुनेछ । 

जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा नमुनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रको छपाइ कार्य भएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाइको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको छ । 

छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लाहरूमा ढुवानी गर्ने काम सम्पन्न गरिसेकेको आयोगले आज दोलखा, सिन्धुली र रामेछापका लागि मतपत्रहरू ढुवानी गर्दै छ ।  ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिएका छन् । 

स्थानीय तह निर्वाचन आउन ११ दिन मात्र बाँकी छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि  निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दै छ ।  निर्वाचनमा सत्तारूढ ५ दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।