स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारी: एमाले ४१.७९ प्रतिशत, कांग्रेस ४०.९९ प्रतिशत, माओवादी ४०.२९ प्रतिशत

स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारी: एमाले ४१.७९ प्रतिशत, कांग्रेस ४०.९९ प्रतिशत, माओवादी ४०.२९ प्रतिशत

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७९

यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलका तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७ दशमलब ८३ प्रतिशत महिला रहेका छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन् । 

स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा एमालेले उठाएको छ । एमालेका तर्फबाट उम्मेदवारी दिने ३३ हजार ५०३ जनामध्ये १४ हजार ४ जना (४१ दशमलब ७९ प्रतिशत) महिला छन् ।

एमालेले प्रमुख पदमा २७, अध्यक्षमा २८, उपप्रमुखमा २६०, उपाध्यक्षमा ४१०, वडाध्यक्षमा ११८, महिला सदस्यमा ६ हजार ४११, दलित महिला सदस्यमा ६ हजार २०९ र सदस्यमा ५४१ जना महिलालाई उम्मेदवार बनाएको छ । 

स्थानीय निर्वाचनमा महिला उम्मेदवारको दोस्रो ठूलो संख्या नेपाली कांग्रेसमा रहेको छ । कांग्रेसको तर्फबाट उम्मेदवारी दिने कुल ३१ हजार ४२५ जनामध्ये १२ हजार ८८२ जना (४० दशमलब ९९ प्रतिशत) महिला छन् । 

कांग्रेसका तर्फबाट प्रमुखमा १२, अध्यक्षमा १९, उपप्रमुखमा १८२, उपाध्यक्षमा २९३, वडाध्यक्षमा ८०, महिला सदस्यमा ६ हजार ९२, दलित महिला सदस्यमा ५ हजार ८२८ र सदस्यमा ३७६ जना महिलाले उम्मेदवारी दिएका छन् । 

महिला उम्मेदवारमा तेस्रो ठूलो संख्या नेकपा (माओवादी केन्द्र)को रहेको छ । स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट कुल २२ हजार २७९ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ८ हजार ९७७ जना (४० दशमलब २९ प्रतिशत) महिला छन् । 

माओवादीले प्रमुखमा १८, अध्यक्षमा २९, उपप्रमुखमा १३३, उपाध्यक्षमा २०३, वडा अध्यक्षमा ९२, महिला सदस्यमा ४ हजार १८७, दलित महिला सदस्यमा ३ हजार ९१८ र सदस्यमा ३९७ जना महिला उम्मेदवार उठाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटकको स्थानीय निर्वाचनमा कुल १२ हजार ७५२ जना उम्मेदवार उठाएको छ । उठाएकोमध्ये ४ हजार ६०८ जना (३६ दशमलब १३ प्रतिशत) महिला उम्मेदवार छन् । 

राप्रपाले प्रमुखमा २७, अध्यक्षमा १५, उपप्रमुखमा १९९, उपाध्यक्षमा १८५, वडाध्यक्षमा १२२, मलिहा सदस्यमा २ हजार १४३, दलित महिला सदस्यमा १ हजार ६८२ र सदस्यमा २३५ जना महिलालाई उम्मेदवारी बनाएको छ । 

नेकपा (एकीकृत समाजवादी)ले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा उठाएका कुल ११ हजार ३३० उम्मेदवारमध्ये ४ हजार २६७ जना (३७ दशमलब ६६ प्रतिशत) महिला छन् । 

एकीकृत समाजवादीले प्रमुखमा २३, अध्यक्षमा १२, उपप्रमुखमा १०७, उपाध्यक्षमा ११२, वडा अध्यक्षमा ७२,  महिला सदस्यमा २ हजार २७, दलित महिला सदस्यमा १ हजार ६२७ र सदस्यमा २८७ जना महिलालाई उम्मेदवार बनाएको छ । 

जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवारी दिने ९ हजार ४८१ जनामध्ये ३ हजार ६७१ जना (३८ दशमलब ७१ प्रतिशत) महिला छन् । जसपाले प्रमुखमा १५, अध्यक्षमा १०, उपप्रमुखमा ११०, उपाध्यक्षमा १३१, वडाध्यक्षमा ६२, महिला सदस्यमा १ हजार ७००, दलित महिला सदस्यमा १ हजार ४९८ र सदस्यमा १४५ जना महिला उठाएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका तर्फबाट यसपटकको स्थानीय तह निर्वाचनमा ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ जसमध्ये १ हजार ९३२ जना (४० दशमलब ५७ प्रतिशत) महिला छन् । 

लोसपाले प्रमुखमा ५, अध्यक्षमा ३, उपप्रमुखमा ७३, उपाध्यक्षमा ५४, वडा अध्यक्षमा ३७, महिला सदस्यमा ८६४, दलित महिला सदस्यमा ८०० र सदस्यमा ९६ जना महिलालाई उम्मेदवार बनाएको छ ।