'एमाले परिवर्तनविरोधी राप्रपालाई बोकेर हिँडिरहेको छ'

'एमाले परिवर्तनविरोधी राप्रपालाई बोकेर हिँडिरहेको छ'

न्युज कारखाना  |  लोकसंवाद  |  बैशाख २०, २०७९

भरतपुर महानगरपालिका प्रमुखमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । सत्ता गठबन्धनका दलबाट साझा उम्मेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर कुलप्रसाद काफ्लेले प्रमुखकी उम्मेदवार रेणु दाहालसँग गरेको कुराकानी:

चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनुभएको छ । कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

जनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ । जनतामा उत्साह छ । विकासका लागि रेणु दाहाल भन्‍ने छ । ठूला आयोजनालाई निरन्तरता दिन र समयमै सम्पन्‍न गर्नका लागि पनि रेणु दाहालको विकल्प छैन । उहाँबाहेक अरूले गर्न सक्दैन भन्‍ने आममहानगरबासीको बुझाइ छ । जनस्तरमा मैले सोचेको भन्दा पनि राम्रो उत्साह पाएकी छु ।

पहिलो कार्यकालमा के गर्न सक्नुभएन र फेरि दोस्रो कार्यकालका लागि प्रमुखमा उमेदवारी दिनुपर्‍यो ?

पहिलो कार्यकालमा नसकेको भन्‍ने होइन । दीर्घकालीन सोचका साथ भरतपुरको विकास र समृद्धिका लागि हामीले जग तयार गर्‍याैँ । अब यसलाई पूर्णता दिनका लागि अब एक कार्यकाल चाहियो । जसले बच्चा जन्माउँछ, बच्चाको माया आमालाई जति त हुँदैन नि ! जति पनि अन्तर्राष्ट्रियस्तरका, राष्ट्रिय गौरवका आयोजना अगाडि बढेका छन्, जस्तो: नारायणी तटबन्धनको ५ अर्बको आयोजना छ । त्यसलाई सुरुवात हामीले गर्‍याैँ । अब सम्पन्‍न गर्नु छ ।

नारायणी तटबन्ध भरतपुरबासीको व्यग्र प्रतीक्षाको विषय थियो । बर्सेनि बाढीका कारण धनजनको क्षति हुने गर्थ्याे । यसको दीर्घकालीन समाधानका लागि आयोजना अगाडि बढेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्नु छ । ठूला सडक र पूर्वाधार बनेका छन् । ६ र ४ लेनका सडक बन्दै छन् । महानगरीय चक्रपथ योजना छ । यी सबै योजना पूरा गर्नु छ । नारायणी नदीलाई 'सी बिच' मोडलको रीपमा विकास गर्नु छ ।

महानगरको आफ्नै प्रशासकीय भवन भर्खर शिलान्यास गरेका छौँ । महानगरपालिकाले अघि सारेका थुप्रै नीतिगत काम अधुरा छन् । अधुरा रहेका काम सम्पन्‍न गर्ने दायित्व छ । भरतपुरको भविष्य र जनताको अपेक्षालाई हेरेर पनि अब एक पटक कार्यकाल भयो भने यी सबै काम गर्न सक्थेँ । भरतपुरलाई हेर्न र गर्व गर्न लायक बनाउने भनेर उम्मेदवारी दिए । मलाई व्यक्तिगत रूपमा रहर त थिएन तर समग्र आवश्यकतालाई बुझेर प्रमुखका लागि दोस्रो पटक पनि उम्मेदवारी दिएकी छु ।

प्रचण्डकी छोरी भएकैले तपाईंले धेरै अवसर पाएको भन्‍ने गर्छन् नि !

प्रचण्डकी छोरी भएर मैले केही अवसर पाएको छैन । मैले दुःख मात्र गरेकी छु । व्यक्तिगत इच्छा, चाहना छाडेकी छु । हिजो पनि १० कक्षा पढ्दापढ्दै कापी-किताब फालेर मुलुक परिवर्तनका लागि संघर्षमा होमिएकी हुँ । त्यसबेलादेखि आजसम्म लगभग २७ वर्ष भयो, म निरन्तर जनताको सेवामा छु । जनयुद्धमा बाँचेर आएकी छु, मर्न पनि सकिन्थ्यो । 

पार्टीको जिम्मेवारी लिएर कहिले रोल्पा त कहिले भारत पुगेँ । यहाँ प्रमुखमा लड्नुअघि काठमाडौंमा पार्टीको सेक्रेटरी थिएँ । अहिले चितवनमा पार्टीको इन्चार्जका रूपमा छु । प्रमुखका रूपमा एकचोटि परीक्षण पनि भएँ । जनताका पक्षमा कति काम गर्न सकेँ, छर्लङ्ग देखिएको छ । जनताका हरेक सवाल शिर ठाडो बनाएर जबाफ दिन सक्छु । यसमा मलाई गर्व छ । प्रचण्डकी छोरी भएर राष्ट्रका लागि देन मात्र गरेकी छु । आफ्नो लाभका लागि गरेको छैन । 

गठबन्धनकै दलमध्येको कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्‍नाथ पौडेलले प्रमुखमा स्वतन्त्र उमेदवारी दिनुभएको छ । यसले गठबन्धनलाई कति प्रभाव पार्ला ?

खासै प्रभाव पार्ला जस्ताे मलाई लागेको छैन किनकि गठबन्धनका दलको साझा उमेदवारका रूपमा प्रमुखको आधिकारिक उम्मेदवार म नै हो । कांग्रेसका केन्द्रीय नेता, प्रधानमन्त्री एवं सभापतिदेखि लिएर शीर्षस्त सबै नेताले उहाँ (पौडेल)लाई फिर्ताका लागि आग्रह गर्नुभयो । पार्टीले गरेको आग्रहलाई पनि जगन्‍नाथजीले स्वीकार गर्नुभएन । उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । देशभर अन्यत्र पनि स्वतन्त्र उम्मेदवारी दिँदाखेरि कस्तो भयो भनेर इतिहासले पनि पुष्टि गर्छ ।

स्वतन्त्र उम्मेदवारी दिएर पार्टीको सर्लक्कै मत जान्छ भन्ने लागेको छैन । दोस्रो कुरा, यो गठबन्धन कुनै दलविशेष होइन । राष्ट्रको भविष्यलाई हेरेर, आवश्यकतालाई बुझेर, संविधान र उपलब्धिका पक्षधर मिलेर गठबन्धन बनेको छ । जनयुद्धपछि विस्तृत शान्ति सम्झौता र २०६२/०६३ को जनआन्दोलनदेखि आएका हामी सहयात्री पार्टीबीच गठबन्धन भएको छ ।

तत्कालीन अवस्थामा राज्य पक्षबाट प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो ।  हामी यहाँसम्म आएका छौँ । संविधान जारी गर्‍यौँ । यी सबै परिवर्तनका हिमायती हामी हौँ । परिवर्तनको विरोधी राप्रपालाई बोकेर एमाले हिँडिरहेको छ ।

गणतन्त्र, संघीयता र परिवर्तनका विरोधी अर्काे खेमामा छन् । हामी अग्रगामी पक्षधर यता छौँ । जगन्‍नाथजीले यी सबै विषयवस्तु, देशको आवश्यकतालाई बुझ्न सक्नुभएन कि जस्तो लाग्छ । 

यो दूरगामी महत्त्वलाई बुझेर ५ दलीय गठबन्धनको साझा दृष्टिकोणसहित देश अघि बढेको छ । उहाँले बुझ्न सक्नुभएन कि भन्‍ने ठान्छु । उहाँलाई पार्टी (कांग्रेस)ले कारबाही गरिसकेको पनि छ । उहाँ कांग्रेसको आधिकारिक उम्मेदवार होइन । स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । स्वतन्त्र हुँदै गर्दा त्यति धेरै असर गर्छ जस्ताे लागेको छैन । 

गठबन्धन दलविरुद्ध एमाले र राप्रपाबीच पनि तालमेल भएको छ । तपाईंलाई भारी पर्ला नि ?

एमाले र राप्रपा तालमेल प्राकृतिक छैन । अप्राकृतिक खालको छ । एउटा बाम पार्टी र गैरबाम पार्टी, त्यो पनि गणतन्त्र र परिवर्तनविरोधी ।

धर्मनिरपेक्षताको विरोधी र हिन्दु राष्ट्रवादी शक्तिसँग एमालेले तालमेल गरेको छ । सम्मानित संसद् २/२ चोटी विघटन गर्ने र संसद्को गला रेट्ने काम तत्कालीन प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । हामीले प्राप्त गरेका उपलब्धि खोस्‍ने काम केपी ओलीबाट भयो । एकलौटी र निरकुंश ढंगबाट उहाँ अघि बढ्नुभयो । 

देशलाई स्थायित्व दिन भनेर बनाइएको पार्टी उहाँले छिनभरमै टुक्राटुक्रा पार्नुभयो । नेकपाको दुई तिहाइको सरकार, ठूलो पार्टी क्षतविक्षत भयो । तत्कालीन एमाले पनि विभाजन भएर त्यहाँ भएका शीर्षस्थ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरू एमालेमा रहन सक्ने अवस्था भएन । एउटा व्यक्तिको गलत कार्यशैलीले गर्दा दुई तिहाइको सरकार गुम्यो, प्रदेश सरकार गुमे । अझै पनि यस्तो अप्राकृतिक गठजोड गरेर उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ । 

उहाँ परिवर्तनको पक्षधर हुनुभएन । हामीले बाम लोकतान्त्रिक गठबन्धन भनेका छौँ । २०७४ सालमा भएको चुनावमा भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो । अहिले त झन् हामी ५ वटा पार्टी छौँ । बलियो छौँ । पटकपटकको प्रतिगमनबाट विजय भएर हामी यहाँसम्म आएका छौँ । अब जनताको अभिमतबाट पनि त्यो प्रवृत्तिलाई परास्त गर्नुपर्ने टड्कारो आवश्यकता भएको छ । हामीलाई हार्न छुट छैन र हामी हार्दैनौँ ।

सडक मात्र कालोपत्रे गरेर विकास भएको भन्‍न नमिल्ने कुरा आएका छन् नि !

भरतपुर महानगरमा सडक कालोपत्रे मात्र भयो र ? ५ वर्षमा भरतपुर महानगरको बजेट कति र हाम्रो सक्रिय पहलमा संघीय र प्रदेश सरकारबाट कति आयो भन्ने कुरा हामीले घोषणापत्रमा स्पष्ट रूपमा उल्लेख गर्दै छौँ । थुप्रै आयोजना अघि बढेका छन् । सडकमा उल्लेखनीय प्रगति छ । ५ वर्षमा ६२२ किलोमिटर सडक पिच भएको छ ।

चौकीडाँडादेखि गोलाघाटसम्म खानेपानीको सुनिश्चितता भएको छ । झण्डै पौने ४ अर्बका खानेपानी आयोजना अगाडि बढाएका छौँ । शारदानगर खानेपानी आयोजना मात्र ५१ करोडको छ । दिव्यनगर खानेपानी आयोजना २१ करोडको छ । जखडीमाई खानेपानी आयोजना ३७ करोडको छ । यो ५ वर्षमा हामीले ७ हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढाएका छौँ । 

विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर बढाएका छौँ । नगरस्तरीय पार्क बनाएका छौँ । पर्यटन क्षेत्रमा पनि महानगर, संघ र प्रदेशले विभिन्‍न स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेका छन् । दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिएका छौँ । आजसम्म कुनै सरकारले यस्तो गरेको छैन । हामीले सुरुवात गर्‍यौँ । विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी दिने र उद्यमशील बनाउने भनेर कृषिमा व्याज अनुदानका कार्यक्रम अघि बढाएका छौँ ।

भरतपुर दिगो विकासको लक्ष्यसहित अगाडि बढेको छ । महानगरलाई प्रविधिमैत्री बनाएका छौँ । यी सबै योजनालाई हेर्दा सडक मात्र होइन, सबै क्षेत्रमा ‘स्मार्ट सिटी’को परिकल्पनाअनुसार अघि बढेका छौँ । भरतपुरलाई उज्यालो शहरका रूपमा विकास गर्न झण्डै ८० किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान भइरहेका छन् ।