'समस्यासँग भागेर समाधान हुन्छ र अध्यक्षज्यू ?''

'समस्यासँग भागेर समाधान हुन्छ र अध्यक्षज्यू ?''

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २०, २०७९

खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० जना खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छाडेका छन् ।

अब्दुल्लाहले आफूलाई कुनै जानकारी नगराई प्रशिक्षण छाडेको बताइरहँदा खेलाडीले भने प्रशिक्षकको व्यवहारबाट आजित भई होटल छाड्नुपरेको स्पष्टीकरण दिएका छन् ।

खेलाडी र प्रशिक्षक दुवैले एकअर्कालाई आरोप लगाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्रसमेत बुझाएका छन् ।

यसैबीच खेलकुद अझ फुटबलमा लागेकाले टेबल वार्ता हुनुपर्ने र सानो विषयलाई ठूलो नबनाउन आग्रह गर्दै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङसहित उपाध्यक्ष वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दाबा लामाले विवाद समाधान गर्न कार्यसमिति बैठक बोलाउन आग्रह गरेका छन् । 

खेलाडीले समस्या समाधान गर्न एन्फालाई आग्रह गरेका छन् । तर, एन्फा नेतृत्व त्यसका लागि सकारात्मक नभएको देखिन्छ ।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले मंगलबार बिहान सामाजिक संजालमा पोस्ट गर्दै अध्यक्षलाई समस्यासँग भागेर समाधान नहुने भन्दै समस्या समाधान गर्न आग्रह गरेका छन् ।

'समस्यासँग भागेर समाधान हुन्छ र अध्यक्षज्यू ?', आगामी ६ असारमा अध्यक्षका लागि निर्वाचन लड्ने तयारी गरेका पंकजले लेखेका छन् ।

यस्तै, उनले संस्थागत निर्णय गर्न ढिला भएको समेत बताएका छन् । 'चाँडै बैठक बोलाउनुहोस्, संस्थागत निर्णय गरौँ । ढिलो भइसक्यो', उनले भनेका छन् । 

यसअघि १४ वैशाखमा असन्तुष्ट खेलाडीहरूले होटल छाडेका थिए । यही विवाद समाधान गर्न खेलाडीले हिजो (मंगलबार) खेलकुदमन्त्रीलाई भेटेका थिए ।