सरकारले ९ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन

सरकारले ९ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख २०, २०७९

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ९ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो ९ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५ दशमलब ०३ प्रतिशतले बढी हो ।

यस वर्ष सरकारको चालू खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलब ६८ प्रतिशतले बढी हो ।  

पछिल्लो ९ महिनामा सरकारको पुँजीगत खर्च १ खर्ब ३ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १ दशमलब ९४ प्रतिशतले कम हो । 

बितेका ९ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ । 

सरकारले चालू आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले चालू आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन ।