सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्: 'राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो'

सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्: 'राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७९

काठमाडौं महानगरपालिकाको उपप्रमुखकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपप्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो । 

काठमाडौं महानगर पालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर ४ वर्ष काम गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्ष जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

१६ वैशाखमा परेको उजुरीमा सुनितामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजाय गराई उनले प्राप्त गरेको रकम तथा जरिमानासमेत असुल उपर गराउन माग गरिएको छ । 

काठमाडौं महानगरपालिका जस्तो सार्वजनिक निकायमा कुनै पनि सल्लाहकार नियुक्ति हुन सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर तह उत्तीर्ण गरी विशेष अनुभव भएको व्यक्ति हुनुपर्ने उजुरीकर्ताको दाबी छ । तर, समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेकी सुनिताले विज्ञको रूपमा नियुक्ति पाएको आरोप उजुरीकर्ताको छ । 

काठमाडौं महानगर पालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेकी सुनिताले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनी आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि शहरी विकास परियोजाको सल्लाहकारमा नियुक्ति लिएको उजुरीकर्ताले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।

त्यसबापत उनले मासिक ८० हजार रुपैयाँ तलबभत्ता प्राप्त गर्ने गरेको समेत आरोप लगाइएको छ । त्यसरी शैक्षिक योग्यता ढाँटेर कानुनले तोकेभन्दा बढी तलब भत्ता लिएर भ्रष्टाचार गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गरिएको हो । उजुरी परेको विषयमा सुनिताले भने राजनीतिक प्रतिशोध साँध्न यस्तो आरोप लगाइएको बताएकी छन् । 

आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै छैटाैँ तहको कर्मचारी भएर सेवा, सुविधा लिएको सुनिताको भनाइ छ । ‘राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै खालका आक्षेपहरू लाग्ने गरेको छ । यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो', सुनिताले भनिन् । 

आफूले लगभग ४ वर्ष सहायक विज्ञको रूपमा काम गरेको उनको भनाइ छ । तलब भत्ता ८० हजार नभई ४५ हजार रुपैयाँको हाराहारी लिएको बताइन् । ‘तलब मासिक ८० हजार लिएको थियो भनिएको छ । छैटाैँ तहको कर्मचारीले लिने सेवा, सुविधा मैले लिएकी थिएँ । मेरो त्यही ४० देखि ४५ हजारसम्म थियो', सुनिताले भनिन् ।  

नगरसभाबाट भएको निर्णयअनुसार नै आफू सहायक विज्ञको रूपमा काम गरेको भन्दै उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले तपाईंको विज्ञता हामीलाई चाहियो भनेपछि मैले काम गरेकी हुँ ।’

उजुरी परेको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आफ्नो जानकारीमा नआएको बताए । ‘उजुरी परेको बारे धेरै पत्रकार साथीहरूले फोन गर्नुभएको छ । तर, मेरो जानकारीमा छैन', भण्डारीले भने ।