पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित

पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २०, २०७९

गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले  एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा सत प्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ । 

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा हरायो । 

प्रतियोगितामा आर्मीले लगातार तेस्रो जित निकाल्दा गल्कोटको लगातार तेस्रो हार हो । आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो ।  सत प्रतिशत नतिजा निकालेको आर्मीले ९ अंक बनाएको छ ।

यता, गल्कोट पहिलो खेलमा पुलिससँग सोझो सेटमा र दोस्रो खेलमा एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा हेल्प नेपाल, नेपाल पुलिस, एपीएफ र गण्डकीले समान ३ अंक जोडेका छन् । गल्कोट र ढोरपाटन स्पोर्ट्स क्लब अंकविहीन छन् ।