कीर्तिमानतिर माओवादी विभाजन: नेकपा विभाजनको मुखमा, कुशल नेतृत्व दिन विप्लव अक्षम !

लोकसंवाद टिप्पणी

कीर्तिमानतिर माओवादी विभाजन: नेकपा विभाजनको मुखमा, कुशल नेतृत्व दिन विप्लव अक्षम !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७९

स्थानीय निकायको निर्वाचनमा सहभागी हुने वा बहिस्कार गर्ने भन्ने विवाद उत्कर्षमा पुगेपछि नेत्रविक्रम चन्द विल्पव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पुनः विभाजनको संघारमा पुगेको छ ।

विप्लव नेकपाको असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गर्दै पार्टी विभाजनको तयारी थालेको हो । केही दिनअघि विप्लवले विज्ञप्ति निकालेर सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई निलम्बन गरेपछि विप्लव नेकपा विभाजनको नजिक पुगेको अड्कल बाजी गरिएको थियो । 

निलम्बनमा परेका सचिवालय सदस्य बास्तोला र वली पक्षले चितवनमा भेलाको आयोजना गरेको हो । गत महिना बसेको सो पार्टीको केन्द्रीय कमिटीको बैठकमा महासचिव विप्लव अल्पमतमा परेका थिए । सो बैठकमा उनले स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने दस्तावेज पेश गरेका थिए ।

तर उनको दस्तावेजलाई बहुमतले अस्वीकृत गरेको थियो । यद्यपि बहुमतको निर्णय उल्लंघन गर्दै विप्लव समूहले देशका विभिन्न स्थानीय तहमा उम्मेदवार उठाउनुका साथै एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्ने भन्दै एमसीसी पक्षधर काँग्रेस र एमालेका उम्मेदवारसँग तालमेल गरेपछि स्थानीय चुनावमा सहभागी नहुन भन्दै सचिवालय सदस्य बास्तोलाले विज्ञप्ति जारी गरेपछि विप्लवले दुई जनालाई कारबाही गरेका थिए । 

बुधबारदेखि तीन दिनसम्म चल्ने भेलाले विप्लव नेतृत्वको नेकपाबाट अलग हुने निर्णय गर्नसक्ने बताइएको छ । भेलामा सहभागी हुन देशभरबाट सो पार्टीका अगुवा नेता कार्यकर्ता चितवन पुगेका छन् । तत्कालीन ब्यूरो, विशेष कमिटी सदस्य, जिल्ला सचिव र केही अगुवा कार्यकर्ता भेलामा सहभागी हुनेछन् ।

भेलाले महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा पार्टी निर्णयविरुद्ध गएकाले कारबाही गरेर पार्टी पुनर्गठन गर्ने तयारी गरेको स्रोत बताउँछ । पार्टीका केन्द्रीय सदस्यहरु उदय चलाउने, गुणराज लोहनी, पूर्णबहादुर सिंह, लालबहादुर बिसी, शरद रसाइली, सावित्रा दुरा, कृष्ण वाग्लेसहितका केन्द्रीय सदस्यहरु वली–बास्तोला समूहमा लागेका छन् भने धेरैजसो जिल्ला सचिवहरु समेत यो समूहमा रहेको बताइन्छ । 

नेकपाका महासचिव विप्लवले पार्टी विभाजित गरेको केही समयमा एउटा पुस्तक लेखेका थिए, ‘महा पतन’ यो प्रचण्ड–बाबुरामको आत्मसमर्पणवादी नीतिविरुद्ध थियो । तर अहिले विप्लव स्वयंम आफैले महा पतनको यात्रामा लागेको आरोप लाग्न थालेको छ ।

विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठन समेत विभाजित भएका छन् । किसान, मजदूर, शिक्षक संगठनका अध्यक्षदेखि अधिकांश पदाधिकारीहरु बास्तोला र वलीको साथमा छन् भने विद्यार्थीका बहुसंख्यक पदाधिकारी, पत्रकार संगठनका केही पदाधिकारी, प्रवास संगठनका पदाधिकारीले विज्ञप्ति जारी गरेर कारबाही फिर्ता लिन विप्लवलाई आग्रह गरेका थिए । पार्टी विभाजनका लागि महासचिव विप्लवले नै भूमिका खेलेको उनीहरुको आरोप लगाएका  छन् । 

कीर्तिमानी विभाजनतिर

पछिल्लो १० वर्षमा सबैभन्दा बढी विभाजित भएर माओवादीले नयाँ कीर्तिमान कायम गर्न लागेको छ । २०६९ साउनमा राष्ट्रिय भेला गरेर तत्कालीन एकीकृत नेकपा माओवादीबाट विभाजन भएर मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी बनेको थियो । वैद्य नेतृत्वको माओवादीबाट २०७१ मा विप्लव नेतृत्वमा पार्टी विभाजित भयो । २०७३ सालमा वैद्यसँग रहेका रामबहादुर थापा बादल समूहले सो पार्टी विभाजित गरी फेरि एनेकपा माओवादीसँग एकता गरेर नेकपा माओवादी केन्द्र बन्यो । यो बिचमा विप्लव र वैद्य नेतृत्वमा रहेका समूहबाट साना साना टुक्राहरु निरन्तर चोइटिने प्रक्रिया जारी नै छ । 

अर्कोतिर प्रचण्ड नेतृत्वको माओवादी पनि पटकपटक एकता र विभाजनबाट गुज्रिएको छ । २०७२ सालमा संविधान जारी भएसँगै डा.बाबुराम भट्टराई अलग भए र नयाँ शक्ति पार्टी बनाए । त्यसपछि २०७४ सालमा एमालेसँगको चुनावी तालमेलसँगै पार्टी एकताको दिशामा अघि बढेपछि गोपाल किराँती र विश्वभक्त दुलालका अलग समूह विभाजित भए ।

२०७५ मा प्रचण्डले एमालेसँग एकता गरे । यो एकता पनि लामो समय टिक्न सकेन । गत वर्ष २०७७ साल फागुन २३ मा सर्वोच्चले फैसला गर्दै एमाले र माओवादीको एकता भंग भएको निर्णय सुनायो । त्यसलगत्तै रामबहादुर थापा बादलले तत्कालीन एमालेमा केपी ओलीलाई साथ दिए । अझै पनि माओवादी आन्दोलनको विरासत बोकेका धेरै नेता कार्यकर्ताहरु विभाजित हुने र माओवादीबाट अलग हुने क्रमले तीव्रता पाइरहेको छ ।

सिधा रुपमा भन्ने हो भने माओवादी र यसका विभिन्न घटकहरूमा आकर्षण भन्दा विकर्षण बढिरहेको छ र माओवादी आन्दोलनमा लागेकाहरु तितरबितर हुने क्रम चलि नै रहेको छ । पछिल्लो १० वर्षमा मात्रै माओवादीबाट झण्डै दर्जन पटक टुटफुट विभाजन भइसकेको छ । जसले गर्दा माओवादी आन्दोलनमा लागेकाहरूले निराशा बाहेक केही प्राप्त गरी रहेका  छन् । 

एकीकृत क्रान्तिको नारा लिएर ओली पथमा विप्लव

नेकपाका महासचिव विप्लवले पार्टी विभाजित गरेको केही समयमा एउटा पुस्तक लेखेका थिए, ‘महा पतन’ यो प्रचण्ड–बाबुरामको आत्मसमर्पणवादी नीतिविरुद्ध थियो । तर अहिले विप्लव स्वयंम आफैले महा पतनको यात्रामा लागेको आरोप लाग्न थालेको छ ।

एकीकृत क्रान्तिको नारा दिएर काठमाडौँमा टावरहरू पड्काउन थालेका विप्लव तीन वर्षमै गलेर लत्रिन पुगेका छन् । तत्कालीन केपी ओली सरकारसँग गत वर्ष ३ बुँदे सहमति गरेर खुला राजनीतिमा फर्किएका उनले केपी ओलीसँगै चुनावी सहकार्य समेत गरेका छन् ।

कतिपय स्थानीय तहमा एमाले र विप्लवको पार्टीले संयुक्त उम्मेदवार उठाएर तालमेल गरेका छन् । यसलाई राजनीतिक विश्लेषकहरुले एकीकृत क्रान्तिको ओली पथमा विलयका रुपमा समेत टिप्पणी गर्न थालेका छन् । प्रचण्ड र मोहन वैद्यबाट क्रान्ति सम्भव नभएको भन्दै जंगल पसेका विप्लव अन्ततः ३ वर्ष पनि पार्टीलाई कुशल नेतृत्व दिएर एकढिक्का बनाउन असक्षम देखिएका छन् । यसबाट उनको क्रान्ति केबल गफ मात्रै थियो भन्ने पुष्टि गर्दै गएका  छन् ।