ठूला दलबाटै आचारसंहिता उल्लङ्घनः मतदाता प्रभावित पार्न राहत वितरण

ठूला दलबाटै आचारसंहिता उल्लङ्घनः मतदाता प्रभावित पार्न राहत वितरण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७९

यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापक रूपमा आचारसंहिता उल्लंघन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको निर्वाचनबारे संचारकर्मीसँगको अन्तर्क्रियामा यस्तो बताइएको हो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई प्रभावित पार्ने गरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको बताउँदै केही दलले आचारसंहिताविपरीत काम गर्न खोजिएकाले यस्ता कार्यक्रमलाई रोक लगाएको जानकारी दिइन् ।

उनले भनिन्, 'जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिई भक्तपुरका सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्ने गरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा हामी तत्कालै पुगेर रोक्यौँ । यहीबीचमा अनुमति लिन आएका करिब २० वटा कार्यक्रमलाई समेत निर्वाचनमा प्रभावित पर्ने देखेर रोक लगाएका छौँ । सम्मान र पुरस्कार वितरण जस्ता कार्यक्रमलाई पनि रोक लगाएर चुनावपछि गर्न भनेका छौँ । निर्वाचन आचारसंहिताविपरीत दलका गतिविधिसमेतलाई रोक लगाउँदै आएका छौँ ।'

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लंघन भइरहेको जानकारी दिँदै १९ वटा ठाउँबाट आचारसंहिता उल्लंघन गरी राखिएको दलहरूको प्रचार सामग्री हटाएको बताए । जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिले भक्तपुरमा निर्वाचन आचारसंहिताविपरीतका काम भइरहेको जनाउँदै मतदातालाई विभिन्न प्रलोभनमा पारी सामान बाँड्न सुरु गरेको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक श्रेष्ठले भने, 'पार्टीका झन्डा, चुनाव चिह्न, फ्लेक्सलगायतका प्रचार सामग्री १८-१९ ठाउँका हामीले हटाएका छौँ, कतिपय ठाउँमा त्यस्ता चुनाव चिह्न राखेका दलका स्थानीय नेता, कार्यकर्तासँग त कतिपय ठाउँमा जिल्ला तहका नेतासँग कुरा गरेर हटाएका छौँ । यस्ता सामग्री राखेर आचारसंहिता उल्लंघन गर्नेमा चुनावमा रहेको मुख्य ६ दलकै रहेका छन् ।'


प्रचार सामग्री हटाउन ठूला दलहरूले नै अटेर गर्ने गरेको उनको भनाइ छ । गाडीमा पार्टीको झन्डा र चुनाव चिह्न, ब्यानर राखेर जाने गरेको भन्दै उनले पार्टी आफैँले आचारसंहिताको पालना गर्दै आफैँले अनुगमन गर्नुपर्नेमा आफैँले उल्लंघन गर्ने गरेको उनको गुनासो छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले विगतका निर्वाचनभन्दा कर्मचारी आधा कम तर काम धेरै हुँदा कार्यसम्पादनमा चाप परेको बताए । कर्मचारीले खानाको भरमा बिहान ७ बजेदेखि राति ७ बजेसम्म काम गर्नुपरेको उल्लेख गर्दै उनले त्यही कर्मचारीले फेरि अनुगमन पनि जान सक्ने अवस्था अहिले न्यून भएको बताए ।

उनले भने, 'हामी यहीँ बाटो ओहोरदोहोर गर्दा पनि अनुगमन गरिरहेकै हुन्छौँ, आचारसंहिता रोक्न सक्दो प्रयास गरेका छौँ । दलहरूले नै बनाएको आचारसंहिता पालना दलहरूले गर्नुपर्ने हो । राजनीतिक दल, पत्रकार, सचेत नागरिकले आचारसंहिता उल्लंघन भएको पाइए जानकारी गराउनुहोस्, हामी तत्काल रोक्छौँ, आवश्यक परे कारबाही गर्छौ ।'

यद्यपि, काठमाडौंको तुलनामा भक्तपुरमा आचारसंहिता उल्लंघन ज्यादै न्यून रहेको दाबी गर्दै उनले त्यसलाई पनि रोक्न सक्दो प्रयास गरिरहेको जानकारी दिए । उनले मत गणना स्थलमा सीसी क्यामरा जडान भइरहेको जानकारी दिँदै मतदानका दिनमा मतदाता परिचयपत्र नभए नागरिकता, सवारी अनुमतिपत्र, लालपुर्जालगायतका पहिचान खुल्ने कागजले पनि मतदान गर्न पाइने बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले संचार माध्यम र संचारकर्मीले मान्नुपर्ने निर्वाचन आचारसंहितारबारेमा जिल्लाका क्रियाशील पत्रकारलाई जानकारी दिएका थिए ।