अर्काको अस्तित्व स्वीकार गर्न बेखुस कांग्रेस: गठबन्धन निर्माणमा चुकेका नेताहरु चुनावी सभाकाे शरणमा !

लोकसंवाद टिप्पणी

अर्काको अस्तित्व स्वीकार गर्न बेखुस कांग्रेस: गठबन्धन निर्माणमा चुकेका नेताहरु चुनावी सभाकाे शरणमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा गरेको स्वेच्छाचारी निर्णय,  दुई पटक प्रतिनिधिसभा विघटन, पार्टीभित्र र सहयात्री दलका नेताहरुमाथि निरन्तर दुर्वचनले गरेको प्रहारका कारण बनेको अहिलेको सत्ता गठबन्धन निर्वाचनमा भने सर्व सहमतिमा गठबन्धन गरेर चुनावी मोर्चामा उत्रिन सकेनन् ।

आफ्नो पकड क्षेत्रमा अर्को दलको अस्तित्व स्वीकार नगर्ने र गठबन्धनलाई राष्ट्रिय आवश्यकताका रुपमा भन्दा पनि गठबन्धनका कारण आफू जित्ने अवस्था बनेका कारण हरेकले आफूलाई केन्द्रमा राखेर निर्णय गर्दा गठबन्धनका दलहरु चुनावी मोर्चामा भने निकै कम स्थानमा मात्रै गठबन्धन गर्न सफल भएका छन् ।

अन्य स्थानमा भने गठबन्धनमा रहेका दलहरुबीच एक अर्कासँग मित्रवत प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दिएर अघि बढेका छन् । गठबन्धन र आफ्नै उम्मेदवार विरुद्ध सबैभन्दा बढी नेपाली कांग्रेसमा र छिटफुट रुपमा अन्य दलमा पनि बागी उम्मेदवार खडा गरेर गठबन्धनलाई चुनौती दिने काम भयो । 

त्यसबाहेक यसपटकको स्थानीय तह निर्वाचनमा केही साना दल र स्वतन्त्र उम्मेदवारले समेत कडा चुनौती दिने देखेपछि गठबन्धनका नेताहरु फेरि हुल बाँधेर चुनावी सभामा  निस्केका छन् । 

विराटनगरमै सकस

उम्मेदवारी दर्तासम्म आइपुग्दा स्थानीय तहमा अन्य दलका उम्मेदवारलाई स्वीकार नै नगर्ने र बागी उम्मेदवारी दिनेमा कांग्रेस अगाडि देखियो । उसले गठबन्धनमा रहेका अन्य दलको अस्तित्व समेत स्वीकार नगरी आफूलाई ठूलो दल भएकाले सबै स्थानमा नेपाली कांग्रेसलाई सघाउनु पर्छ भन्ने सोचसहित गठबन्धनमा उल्झन निरन्तर खडा गर्‍यो ।

यसरी चुनावमा गठबन्धन गर्नु हुँदैन भन्नेमा सबैभन्दा अगाडि कांग्रेस नेताहरु शेखर कोइराला र गगन थापा सार्वजनिक रुपमा नै देखा परे । तर विराटनगरको मेयर शेखर निकट नागेश कोइरालाले पाएपछि भने उनी नागेशलाई जिताउन कै लागि भए पनि गठबन्धनको आवश्यकता परेकाे छ । 

बिराटनगरको गठबन्धनपछि गठबन्धनले बिहीबार चितवनमा चुनावी सभा गर्दैछ । सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

 सुरुमा कांग्रेसले आफूले एक्लै जित्ने भन्दै अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेपछि रुष्ट बनेका जसपा र माओवादी केन्द्रका नेताहरुले मनोनयन दर्ता गरेका थिए । तर पछि कांग्रेसले मेयर र जसपाले उपमेयर पाउने गरी गठबन्धनका दलहरु बीचमा सहमति भयो ।

गठबन्धन गर्दा पनि माओवादी, एकीकृत समाजवादीको मत नआउँदा नागेशले जित्ने सम्भावना कम भएको देखेपछि शेखर गठबन्धन फकाउने रणनीतिमा लागेका छन् । आफ्ना लागि प्रतिष्ठाको लडाई बनेपछि शेखर जसरी पनि नागेशलाई जिताउन लागेका हुन् । त्यसका लागि असन्तुष्ट दलहरुलाई मिलाउनुपर्ने दायित्व अहिले उनको काँधमा आएको छ । गठबन्धन एकजुट नहुँदा नागेशले हार्नसक्ने आकलन गरेपछि अब शेखर पनि गठबन्धनका नेताहरुसँग भेटेर सघाउन आग्रह गर्ने अवस्थामा पुगेका छन् । 

सबै नेता एक ठाउँ भएर मागे भोट

विभिन्न स्वार्थ समूहमा विभाजित भएका कांग्रेस नेताहरु बुधबार विराटनगरमा एउटै मञ्चमा उभिएर नागेशलाई भोट मागे । टिकट वितरणमै कांग्रेसमा कलह देखिएपछि शेखरले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका थिए । सो कलह अन्त्य भएको सन्देश दिन बुधबार कांग्रेसका शीर्ष नेताहरु र मेयरका आकांक्षी एउटै मञ्चमा उभिए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालासँगै मेयरका आकांक्षीहरुले पनि पार्टीका उम्मेदवार नागेश कोइरालालाई भोट मागे । 

विराटनगरको मेयरका लागि केन्द्रीय सदस्यहरु अमृत अर्याल र डिला संग्रौला, निवर्तमान मेयर भीम पराजुली दाबेदार थिए । तर शेखर पक्षीय नागेशले टिकट पाए । त्यसपछि अन्य आकांक्षीहरु नागेशको घरदैलो कार्यक्रममा पनि सहभागी भएका थिएनन् । 

सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा विराटनगरको उपमेयरको उम्मेदवार जसपाका अमरेन्द्र यादव छन् । कांग्रेसको कार्यक्रममा यादवसमेत मञ्चमा थिए । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु भने सहभागी भएनन् । सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई इमान्दारितापूर्वक गठबन्धनमा मत खसाएर इमान्दारिता प्रदर्शन गर्न आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘कांग्रेस पार्टीले कसैलाई पनि धोका दिँदैन, आफू धोका खाएर पनि दिँदैन । गठबन्धनमा कुनै किसिमको शंका उपशंका गर्न हुँदैन ।’

देउवाभन्दा अघि बढेका रामचन्द्र पौडेलले पनि गठबन्धनको वकालत गर्दै रुख र छाता दुईवटै शीतलताको प्रतीक भएकाले दुवैले मानिसलाई सितलता र सुरक्षा दिने बताए । गठबन्धनको विपक्षमा देखिदै आएका डा. शेखर कोइरालाले लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्ने अवस्थामा  पुगेका  थिए । 

विराटनगरबाट चितवन

विराटनगरको गठबन्धनपछि गठबन्धनले बिहीबार चितवनमा चुनावी सभा गर्दैछ । सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

चुनावी गठबन्धनमा रहेका दलहरुले सबै प्रदेशमा आवश्यकताअनुसार सभाको आयोजना गरेका छन् । गठबन्धन निर्माणमा चुकेका दलहरु अब जसरी भए पनि एकताबद्ध देखाएर चुनाव जित्ने योजनाअनुसार मत माग्न थालेका छन् । अब गठबन्धनको योजना अनुसार अघि बढ्छ या बढ्दैन भन्ने जानकारी पाउन भने ३० वैशाखमा हुने निर्वाचनको परिणाम कुर्नुपर्नेछ ।