जगन्नाथलाई गलाउन देउवा भरतपुरमा

जगन्नाथलाई गलाउन देउवा भरतपुरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् ।

पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहेका छन् । उनले पौडेलसँग छलफलसमेत गरेका कांग्रेसका एक नेताले जानकारी दिए । पौडेल भने निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताए । 

तर, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक वा नकारात्मक भएका भन्ने जानकारी नभएको बताए । 
‘सभापतिज्यूले भेट्ने भन्ने कुराचाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन र भेटमा निष्क्रिय हुन उहाँ (जगन्नाथ पौडेल) सकारात्मक हुनुभयो कि भएन भन्ने जानकारी छैन’, उनले भने । 

पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस भएनन् । 

यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।
पौडेल १६ वैशाखमै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा छन् । 

कांग्रेसबाट उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।